१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोनाविरुद्ध सहयोग जुट्दै 

भीमबहादुर सिंह

जाजरकोट — कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग जुटिरहेको छ । दाताहरूले विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहमार्फत सहयोग गर्दै आएका छन् ।

पूर्वसांसद राजीवविक्रम शाहले जिल्लाका स्वास्थ्य संस्थालाई ३५ वटा सर्जिकल बेड उपलब्ध गराएका छन् । उनले १० लाख व्यक्तिगत खर्चमा सातवटा पालिकालाई ५/५ वटाका दरले बेड उपलब्ध गराएका हुन् । स्वास्थ्य संस्थामा आइसोलेसन बेड अभाव भएको सुनेपछि सहयोग गरेको शाहले बताए ।

निर्माण व्यवसायी रत्नबहादुर खड्काले स्वास्थ्यकर्मीका लागि एक सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छन् । नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका खड्काले मंगलबार स्वास्थ्य सेवा कार्यालयलाई ३५ सेट, तीन नगरपालिकालाई १०/१० सेट, ४ गाउँपालिकालाई ५/५ सेट, जिल्ला विपद् व्यवस्थापन समितिलाई १० सेट र अन्य निकायलाई ५ सेट पीपीई हस्तान्तरण गरेका हुन् । ‘बिरामीको उपचारमा नियमित संलग्न हुने स्वास्थ्यकर्मी नै असुरक्षित भए कसले उपचार गरिदिने ? त्यही भएर सहयोग गरेको हुँ,’ उनले भने ।

वनमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पीपीई, थर्मल गनलगायत सामग्री आइपुगेका छन् । स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पीपीई १ सय ४० सेट, थर्मल गन १० थान, मास्क १ हजार ७ सय, बेड १२ थान, गज सय थान, गाउन १० थान, ग्लोब्स ४ सय ५० थानलगायत सामग्री ल्याइएका हुन् । ती सामग्री प्रमुख जिल्ला अधिकारी जनकराज पन्तमार्फत स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएका छन् ।

त्यसैगरी पाँचतारा युवा संरक्षण मञ्च र पहाडी क्षेत्र विकास अभियानले पालिकाहरूलाई आवश्यक सामग्री सहयोग गरेका छन् । जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले भेरी नगरपालिका–३ का अति विपन्न ८३ घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले व्यक्तिगत लगानीमा चामल, दाल, तेल र नुन उपलब्ध गराएका हुन् ।

शिवालय गाउँपालिकाले १५० परिवारलाई खाद्यान्न वितरण गरेको छ । छेडागाड नगरपालिकाले संक्रमण रोकथामका लागि ३५ लाखको कोष स्थापना गरेको छ । उक्त रकम सचेतनामूलक कार्यक्रम, औषधि तथा स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, बिरामीको उपचारमा खर्च गरिने प्रमुख लालबहादुर महताराले बताए ।

त्यस्तै नलगाड नगरपालिकाले २१ लाखको कोष स्थापना गरेको छ । नलगाडले कोरोनाविरुद्धको अभियानमा रातदिन खटिने स्वास्थ्यकर्मीलाई लकडाउन अवधिभर तलबको ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?