जुम्लामा सामूहिक रुपमा स्वाब संकलन

एलपी देवकोटा

जुम्ला — जुम्लामा घुम्ती शिविर गरी स्वाब संकलन गरिएको छ । जिल्लाको चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिकामा चैत ११ गतेयता भारत लगायत तेस्रो मुलुकबाट भित्रिएका ३ सय २४ जनाको कोरोना परीक्षणका लागि सामूहिक रुपमा (स्वाब) संकलन गरिएको हो । संकलन गरिएको स्वाब  काठमाडौं पठाइएको छ ।

जुम्लामा सामूहिक रुपमा स्वाब संकलन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र काठमाडौंबाट आएका चिकित्सकहरुले तीनै ठाउँ पुगी स्वाब संकलन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । 'मंगलबार जुम्ला विमानस्थल, कनकासुन्दरी सिंजा र हिमा गाउँपालिमा घुम्ती शिविर गरेर नमुना संकलन गरिएको हो', उनले भनिन्, 'कोरोना भाइरस संक्रमणको नमुना परीक्षणका लागि सुरुमा २ सय ५३ जनाको स्वाब संकलन गर्ने योजना थियो तर पछि सय जना बढीको संकलन गरी पठाइएका छौं ।'

चन्दननाथ नगरपालिका, तिला तातोपानी, पातारासी र गुठीचौर गाउँपालिकाको गरी जुम्ला विमानस्थलबाट १ सय ५० जना, हिमाबाट १ सय २४ जना तथा कनकासुन्दरीबाट ५० जनाको गरी ३ सय २४ जनाको ‘स्वाब’ संकलन भएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आउनेहरुका कारण कर्णालीमा कोरोना संक्रमणको जोखिम बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । 'सरकारसँग समन्वय गरी जुम्ला भित्रिएका ३ सय २४ जनाकै स्वाब संकलन गर्ने व्यवस्था गरेका हौं,' उनले भने, 'संघीय सरकारको कोरोना संकट व्यवस्थापन अप्रेसनको हेलिकप्टरमा घुम्ती मेडिकल टोलीसँग हामीले सहयोगीको भूमिका खेल्यौं ।'

प्रकाशित : चैत्र २५, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?