१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दमाहा बजाएर कोरोनाविरुद्ध अभियान

भारतबाट लुकीछिपी गाउँ पस्ने क्रम नरोकिएपछि पलाता गाउँपालिकाले घाटपारि चौरपुलमा फलामे बार लगाएको छ
तुलाराम पाण्डे

कालीकोट — लकडाउन कार्यान्वयन गर्न रास्कोट नगरपालिकाले प्रत्येक दिन दुईपटक दमाहा बजाएर स्थानीयलाई घरभित्रै बस्न सूचना गर्न थालेको छ। नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेको छ भने गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालित छन्।

दमाहा बजाएर कोरोनाविरुद्ध अभियान

नगरका सबै वडामा दमाहा बजाएर घरभित्र बस्न गरिएको आग्रह प्रभावकारी बनेको नगरप्रमुख काशीचन्द्र बरालले बताए। उनले रास्कोट छिर्ने सान्नीगाड, तितेछहरा, मुम्रा, फुगाड, चुत्तीकोटसहित ९ नाकामा रास्कोट श्रम रोजगार बैंकका सदस्य खटाएर आवातजावतमा रोक लगाएको जनाए।

भारतबाट लुकीछिपी गाउँ पस्ने क्रम नरोकिएपछि पलाता गाउँपालिकाले घाटपारि चौरपुलमा फलामे बार लगाएको छ। एक साताअघि भारतबाट आएका १२ जनालाई चौर क्वारेन्टाइनमा राखिए पनि भागेपछि आवागमन रोकिएको हो।


यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आपतकालीन कोषका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको बताए। हाल तिलागुफामा २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।


जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार दहीखोला हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरी ४ हजार ९ सय ९१ जना कालीकोट आएका छन्। जिल्ला अस्पतालमा ४, नरहरिनाथको कुमागाउँमा ५, रास्कोटमा ४ र ओदामा २ गरी १५ वटा आइसोलेसन बेड निर्माण गरिएको समितिले जनाएको छ।


७५ वटा स्थानमा ६ सय ९१ वटा क्वारेन्टाइन निर्माण गरिएको प्रजिअ पौडेलले बताए। उनका अनुसार सोमबारसम्म १ सय ७६ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। जसमध्ये १ सय ४७ जना डिस्चार्ज भइसकेका छन् भने २९ जना अझै क्वारेन्टाइनमा छन्।


सोमबार स्वास्थ्य सेवा कार्यालयले कतारबाट आएका ३, दुबई र कैलालीबाट आएका १/१ गरी ५ जनाको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाएको छ। सान्नी त्रिवेणका ४ र शुभकालिकाका १ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो।


लकडाउन उल्लंघनको आरोप


कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको उपस्थितिमा सबै स्थानीय तहले कोरानाविरुद्ध कार्यान्वयन गरिएका कामबारे छलफल गरेका छन्। जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेस नेता दमनबहादुर शाहीले जनप्रतिनिधिबाटै लकडाउनको उल्लंघन भएको आरोप लगाए।


नेकपा सचिव नगिन्द्र शाहीले राहत वितरणमा अनियमितता हुन थालेको बताए। भारतलगायत देशबाट आउनेबाट कोरोनाको जोखिम भएको भन्दै सरोकारवालाले कर्णाली आउनेलाई सुर्खेतमै कडाइ गर्नुपर्ने सुझाव दिए।


जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा चैत्र १० गतेबाट दहीखोलामा स्थापना गरिएको हेल्थ डेस्क पालिकास्तरमा सञ्चालन गर्ने र कर्णाली प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ। जिल्लाभर निर्माण भएका क्वारेन्टाइन स्तरीय नभएकाले गुणस्तर सुधार गर्ने र लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए।

प्रकाशित : चैत्र २५, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?