३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मेसिनले चाप धानेन, स्वाब काठमाडौं पठाइयो

'भोलि बिरामीको चाप धेरै भयो भने समयमै स्वाब परीक्षणमा बाधा हुन सक्छ।’
कलेन्द्र सेजुवाल

सुर्खेत — संघीय सरकारले पठाएको कोभिड-१९ को स्वाब परीक्षण गर्ने आरटी-पीसीआर (रियल टाइम-पोलिमरेज चेन रियाक्सन) मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको छ। मंगलबारमात्र १५ वटा स्वाबको नमुना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रयोगशाला व्यवस्थापनका लागि खटिएका फोकल पर्सन ओम आचार्यका अनुसार सुर्खेतमा रहेको मेसिनले एक दिनमा करिब १२ वटा स्वाबको परीक्षण गर्न सक्छ। पछिल्लो समय स्वाब संकलन त्योभन्दा दोब्बर मात्रामा भइरहेको छ।


‘हामी त चौबीसै घन्टा खटिएका छौं तर मेसिनले साथ दिइरहेको छैन,’ उनले भने, ‘एक त मेसिनको क्षमता कम, अर्कोतिर ‘रेस्ट’ दिइरहनुपर्ने रहेछ, यसले गर्दा सोचेअनुसार परिमाणमा परीक्षण गर्न सकिएको छैन।’ एक दिन १५ वटाको परीक्षण गर्दा रिपोर्टमै समस्या आएपछि संख्या घटाइएको उनले बताए।


आचार्यका अनुसार काठमाडौंमा रहेको मेसिनले एक पटकमा ९६ वटा नमुना ‘प्रोसेस’ गर्न सक्छ भने यहाँको मेसिनले एक पटकमा एउटा मात्र गर्न सक्छ। संकलन भएका स्वाबको नजिता छिटो आओस् भनेर मंगलबार बिहानै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको उनले जानकारी दिए। केन्द्रीय प्रयोगशालाको निर्देशनअनुसार नमुना काठमाडौं पठाउन थालिएको उनको भनाइ छ।


सुर्खेतमा बिहीबारदेखि पीसीआर परीक्षण सुरु गरिएको हो। मंगलबारसम्म प्रगोगशालामा ६० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा ‘नेगेटिभ’ आएको आचार्यले बताए। उनका अनुसार अहिले सुर्खेत बाहेकका जिल्लाको पनि नमुना संकलन गर्ने कार्यलाई तीव्र पारिएको छ। काठमाडौं पठाइएका १५ वटा नमुना दैलेख र कालीकोटका रहेको उनले बताए।


सुर्खेतस्थित प्रयोगशालामा काठमाडौंबाट आएका माइक्रोबायोलोजिस्ट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १० जनाको ल्याब प्राविधिक टोलीले परीक्षणको काम गरिरहेको छ। तीमध्ये ६ जना ल्याब केन्द्रमा रहन्छन् भने भने चार जना नमुना संकलनमा खटिने गरेका छन्। प्राविधिकका अनुसार संकलित स्वाब ढिलोमा ७२ घन्टाभित्र परीक्षणको लागि सिस्टममा राखिसक्नुपर्छ।


‘भोलि बिरामीको चाप धेरै भयो भने समयमै स्वाब परीक्षणमा बाधा हुन सक्छ,’ फोकल पर्सन आचार्यले भने, ‘यही मेसिन रहेको अवस्थामा नमुना संकलन गरेर काठमाडौं पठाउनुको विकल्प रहँदैन।’ संकलित स्वाब बिहान ५ देखि राति १० बजेसम्म परीक्षण हुने गरेको उनले बताए।

प्रकाशित : चैत्र २५, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?