२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सबै पालिकामा कोरोना विपद् कोष

हरि गौतम

रुकुम पश्चिम — कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका ६ वटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगर तथा तीन गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् ।

सबै पालिकामा कोरोना विपद् कोष

गाउँपालिकाहरूमा त्रिवेणीले १ करोड २० लाख, बाँफीकोटले ३५ लाख र सानीभेरीले १५ लाख बजेट कोषमा राखेका छन् । यसैगरी नगरपालिकाहरू चौरजहारीले २० लाख, आठबीसकोटले १० लाख र मुसीकोटले ७ लाखको कोष स्थापना गरेका छन् । पालिकाको आग्रहमा विभिन्न व्यक्ति, व्यवसायी तथा सरोकारवालाले पनि कोषमा रकम जम्मा गर्न थालेका छन् ।


त्रिवेणीका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले विपद् व्यवस्थापन कोषको रकममध्ये १ करोड कोरोना रोकथाम, उपचार तथा राहतमा खर्च गरिने बताए । २० लाख रुपैयाँ अन्य विपद्मा खर्च गर्ने कार्यपालिकाको निर्णय छ ।


मुसीकोटको कोषमा नगरपालिकाका कर्मचारीले एक दिनको तलब जम्मा गरेका छन् । कर्मचारीका तर्फबाट १ लाख ६ हजार ६ सय ५५ रुपैयाँ जम्मा भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । आवश्यक परे अरू बजेट पनि व्यवस्था गरिने उनको भनाइ छ । ‘यो सुरुवाती चरण हो, अन्य ठाउँबाट पनि सहयोग आउने अपेक्षा गरिएको छ,’ खड्काले भने, ‘कार्यविधिमा नै प्रस्ट रूपमा चालू बजेटबाट खर्च गर्नू भनेकाले पनि समस्या नहोला ।’


बजेट विनियोजनका क्रममा विपद्का लागि भनेर छुट्ट्याइएको रकम यसअघि नै सकिएको आठबीसकोट नगरले १० लाख जुटाएको छ । थप बजेट प्रदेश र संघीय सरकारबाट आउने आशा गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘आज दिनभर (सोमबार) थप एक लाख जम्मा हुने सम्भावना छ,’ उनले भने, ‘अबको केही दिन माथिल्ला सरकारको विपद् बजेट पनि आउने आशा गरिएको छ ।’


सानीभेरीको कोषमा पनि गाउँपालिकाका कर्मचारीले एक दिनको तलब जम्मा गर्दै छन् । चौरजहारीले प्रदेश र संघीय सरकारबाट आउने विपद्बापतको बजेट पनि नगरपालिकाकै कोषमा जम्मा गरिने जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?