कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना भित्रिने भन्दै चामल ढुवानी रोक्न माग

‘बरु भोक सहन सकिएला, महामारी सकिन्न’
छपाल लामा

हुम्ला — जहाजमार्फत खाद्यान्न ढुवानी गर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालयको पहलमा बुधबारदेखि जिल्लामा खाद्यान्न ढुवानी थालिएको थियो । स्थानीयले तत्काल बजारमा खाद्यान्न अभाव नरहेको भन्दै ढुवानी रोक्न माग गरेका हुन् ।

कोरोना भित्रिने भन्दै चामल ढुवानी रोक्न माग

‘सम्भावित संक्रमणको जोखिमबाट जोगाउन देशभर लकडाउन गरिएको छ,’ सिमकोटका रविकुमार बस्नेतले भने, ‘तर खाद्यान्न ढुवानीको नाममा निर्बाध जहाज चल्दा हुम्लामा कोरोना संक्रमणको जोखिम बढ्यो ।’


स्थानीय प्रशासनले सदरमुकाममा हिँडडुल गर्न कडाइ गरेको छ । पालिकाहरूले जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेका छन् । चामल ढुवानीको नाममा कोरोना संक्रमणको जोखिम निम्त्याइएको मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले बताए । ‘बरु केही दिन भोक सहन सकिएला,’ उनले भने, ‘कोरोना संक्रमण भित्रिए महामारीबाट बच्न सकिँदैन ।’


जिल्ला प्रशासनका अनुसार सिमकोटस्थित खाद्य संस्थानको गोदाममा ३ हजार २ सय क्विन्टल चामल मौज्दात छ । सर्केगाड डिपोमा २ सय १० र श्रीनगरमा ३ सय २० क्विन्टल चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । बुधबार चार उडानबाट ५६ क्विन्टल चामल सिमकोट पुर्‍याइएको थियो ।


खाद्य समस्या देखाएर जहाज अवतरण गराउँदा जिल्लाबासी त्रस्त बन्न थालेको स्थानीय अगुवा ग्याल्जन लामाले बताए । बाली भित्र्याउने समय भएकाले दुई महिनासम्म खाद्यान्न अभाव नहुने उनको दाबी छ । ‘अहिलेको संकटपूर्ण अवस्थामा चामल नै खानुपर्छ भन्ने छैन,’ उनले भने, ‘कम्तीमा दुई महिना फापर, गहुँ, चिनो र कोदो खाएर पनि बाँच्न सकिन्छ ।’


जिल्लावासीमा भोकभन्दा पनि रोगले मरिन्छ कि भन्ने त्रास बढेको स्थानीय युवक प्रताप लामाले बताए । ‘भाइरस जहाज वा चामलका बोराबाट जिल्लामा नभित्रिएला भन्न सकिन्न,’ उनले भने, ‘भोकको सामना हामी आफैं गर्न सकौंला तर रोगको सामना गर्न सकिन्न ।’ उनी नेतृत्वको युवा समूहले खाद्यान्न ढुवानीको विरोध गर्दै शनिबार प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।


प्रजिअ भट्टराईले तत्कालका लागि समस्या नभएको बताइन् । ‘लकडाउनको अवधि थपिए खाद्यान्न अभाव हुने भएपछि चामल ढुवानी थालिएको हो,’ उनले भनिन्, ‘कोरोना संक्रमणको जोखिम रोक्न जिल्लाभरि उच्च सतर्कता अपनाइएको छ ।’

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले भने बजारमा चामल सकिँदै गएको बताए । ‘अन्न उत्पादनको समय भएकाले गाउँमा खासै समस्या नहोला तर सदरमुकाममा मौज्दात खाद्यान्न पर्याप्त छैन,’ उनले भने, ‘लकडाउनको अवधि थपिए सिमकोटमा चामल नपुग्ने स्थिति छ ।’

प्रकाशित : चैत्र २३, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?