३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एउटै पालिकाका ३० सहित ८१ क्‍वारेन्टाइनमा

तुलाराम पाण्डे

(कालीकोट) — मजदुरी गरेर भारतबाट फर्किएका नरहरिनाथ गाउँपालिकाका कोटवाडा, कुमालगाउँ, रुप्सा माल्कोट र लालुगाउँका ३० सहित जिल्लाभर ८१ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । गाउँमा कोरोनाको संक्रमण नफैलियोस् भनेर नरहरिनाथ गाउँपालिकाले निर्माण गरेको ५ विद्यालयका क्‍वारेन्टाइनमा ३० जना राखिएको हो । 

एउटै पालिकाका ३० सहित ८१ क्‍वारेन्टाइनमा

गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाका अनुसार यहाँको नन्दादेवी मावि कोटवाडामा १३, रमा मावि कुमालगाउँमा ८, जनता मावि रुप्सामा ५, शान्ति मावि माल्कोटमा ४ मजदुरलाई क्‍वारेन्टाइनमा राखिएको छ । त्यस्तै, जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतकाअनुसार तिलागुफा नगरपालिकामा २ महिलासहित १५, पलाता गाउँपालिकामा १२, सान्नी त्रिवेणी गाउँपालिकामा १०, शुभकालिका र महाबै गाउँपालिकामा ६/६ र रास्कोट नगरपालिकामा २ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म ५४ पुरुष र १ महिला गरी ५५ जना क्‍वारेन्टाइनबाट घर फर्काइएका छन् । उनीहरुलाई कुनै ज्वरो तथा रुघाखोकी नदेखिएकोले घर फर्काइएको हो ।

कालीकोटका स्थानीय तहले विभिन्‍न ७५ ठाउँलाई क्‍वारेन्टाइन स्थलको रुपमा छनोट गरेर जिल्लाभर ६ सय ५९ वटा बेड निर्माण गरिएको जनाएका छन् । जिल्लाको मान्म, रास्कोट, नरहरिनाथ र महाबैको ओदा गरी १५ वटा आइसोलेसन वार्ड पनि बनाइएको छ ।


विपन्न परिवारलाई खाद्यान्न सहयोग

सरकारले घोषणा गरेको लक डाउनले मजदुरी गर्न नपाएर खाद्य संकटको सामना गरिरहेका विपन्न परिवारलाई स्थानीय तहले खाद्यान्न सहयोग गर्न थालेका छन् । यहाँको सान्नीत्रिवेणी गाउँपालिकाले वडा नं १ पर्ने लुसा सेरिज्यूलाका २५ घरधुरीका दलित तथा विपन्न परिवारलाई बिहीबार प्रतिपरिवार ३० किलो चामल, ५ किलो दाल, १ पाकेट तेल, चिनी वितरण गरेको छ । वडाध्यक्ष भरत विश्वकर्माले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्ने विपन्न परिवारको छनोट गरेर खाद्यान्न सहयोग गरिएको सुनाए ।


त्यस्तै, शुभकालिका गाउँपालिकाको वडा नं ५ का विपन्न परिवारलाई पनि वडा पालिकाले खाद्यान्न सहयोग गरेको छ । वडाका एकल महिला, विपन्न र अशक्त परिवार छनोट गरेर खाद्यान्न वितरण गरिएको वडाध्यष केशनबहादुर शाहीले बताए ।


यहाँको पचालझरना र पलाता गाउँपालिकाले कोरोनाविरुद्ध स्वास्थ्यकर्मी र स्वयम्‌सेवक विशेष पोसाकसहित गाउँगाउँमा पठाएको छ । पलाता गाउँपालिकाले कोरानाविरुद्ध आपत्‌कालीन अवस्थासँग जुध्न ६० लाख र रास्कोट नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको जनाएका छन् ।


५ पालिकालाई गैर सरकारी संस्थाको सहयोग

कोराना विरुद्ध लड्न स्थानीय तहका स्वास्थ्य शाखाले पाउने गरी सेभ द चिल्डेनले ५ वटा पालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । रास्कोट, नरहरिनाथ, खाडाचक्र, तिलागुफा र शुभकालिका गाउँपालिकाले पाउने गरी गमबुट, सर्जिकल मास्क, ग्लोभ्स, साबुन, बफिन क्याप, सफा गर्ने भाडा, डिस्पोजिबल ब्याग, हेल्ड स्यानीटाइजर, बाल्टिन, पन्जा, सर्जिकल पन्जालगायत १४ प्रकारका सामान दिएको सेभ द चिल्डेनका बाल संरक्षण संयोजक बाले विश्वकर्माले बताए । उनकाअनुसार केही थप पीपीई सेटलगायतका सामान खरिद प्रक्रियामा छन् ।

त्यस्तै, प्लान इन्टरनेशनले पनि यहाका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकामा क्‍वारेन्टाइन बनाउन ब्लान्केट, तन्ना, म्याटेस्लगायतका सामान सहयोग गरेको जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?