३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बादी बस्तीको चिन्ता : ‘रोगले भन्दा भोकले मर्ने भयौं’

कलेन्द्र सेजुवाल

झुप्राखोला, सुर्खेत — ‘लकडाउन’को दसौं दिन बस्तीमा नयाँ मान्छे देखेपछि क्षणभरमै स्थानीय बासिन्दाको हुल जम्मा भयो । तीमध्येकी ३८ वर्षीया पार्वती बादीले भनिन्, ‘रासन (खाद्यान्न) दिने मान्छे आए भनेको त पत्रकार पो हुनुहुँदो रहेछ ।’

बादी बस्तीको चिन्ता : ‘रोगले भन्दा भोकले मर्ने भयौं’

समुदायका अगुवा भीमबहादुर बादी भने पार्वतीजस्तो निराश भएनन्, बरु खुसी देखिए । उनलाई आज (शुक्रबार) बिहान मात्र मनमा लागेको थियो रे, अरू कोही नआए पनि पत्रकार त आउनुपर्ने । ‘भोकभोकै मर्न लागियो, अब यो कुरा कसलाई कसरी भन्नु ?,’ उनले भने, ‘यस्तो बेला पनि के–कस्तो छ भनेर सोध्न नआउने सरकार हामीलाई कहिले काम लाग्छ ?’

वीरेन्द्रनगरदेखि करिब १० किलोमिटर पूर्वको झुप्राखोलामा अवस्थित बादी बस्ती ‘लकडाउन’ले नराम्ररी थला परेको छ । खोलाको गिट्टी–बालुवा बेचेर जीविकोपार्जन गर्ने उनीहरूसँग न खाद्यान्न छ न त किन्नलाई पैसा । ‘सबैतिर कोरोनाको चिन्ता छ, हामी भने रोगले भन्दा भोकले मर्ने भयौं भन्ने चिन्तामा छौं,’ पार्वतीले भनिन्, ‘काम नभएर घरमै बस्दा झन् भोक लाग्दो रहेछ, अब त एक गेडो चामल छैन ।’

वीरेन्द्रनगर नगरपालिका–११ मा अवस्थित झुप्राखोलामा ८७ घरमा ३ सय ७४ व्यक्ति छन् । खोलाको गिट्टी, बालुवा संकलन गरेर बेच्नु उनीहरूको दिनचर्या हो । एक दिनको कमाइले सामान्यतया तीन–चार दिनलाई खान पुग्छ । ‘लकडाउन’ १० औं दिनमा चलिरहँदा बचत रहेको सबै रकम सकिएको भीमबहादुरले बताए । ‘हाम्रो पासमा बढीमा चार–हजार रुपैयाँसम्म बचत हुने गर्छ,’ उनले भने, ‘लकाडउन हुँदा कोहीसँग त एक सय रुपैयाँ पनि थिएन, कसरी पेट भरिरहेका छौं भनेर आफैंलाई अचम्म लाग्ने गर्छ ।’

बस्तीमा खाद्यान्नलगायत अन्य सामान बेच्ने दुईवटा पसल रहे पनि बन्दप्रायः छन् । फाट्टफुट्ट खुलिहाले पनि उधारो सामान दिँदैनन् । दुई दिनअघि धौधौ गरेर पसल खोल्न लगाएको र १४ सय पर्ने चामलको बोरालाई १९ सयमा किनेको मैसरा बादीले बताइन् । ‘पहिले त सामान उधारोमा लिन्थ्यौं, गिट्टी–बालुवा बेचेपछि पैसा तिर्थ्यौं,’ उनले भनिन्, ‘अहिले उधारो दिनुपर्छ भनेर हो कि पसलै बन्द गरेर हिँडिहाल्छन् ।’

उजाड खोलामा भोक मार्ने अरू उपाय पनि छैन । केही स्थानीय बासिन्दाले कल्याण र भेरी पुलको जंगलमा गएर खोले र सिस्नो टिपेर खान थालेका छन् । पहिले रहरले खाने खोले र सिस्नोको साग अहिले करले खान थालिएको पार्वती बताउँछिन् । ‘खोलामा त जता हेर्दा पनि बालुवाबाहेक केही देखिन्न,’ उनले भनिन्, ‘तैपनि बाहिरबाट सिस्नो र खोले टिपेर ल्याउने गरेका छौं ।’ चामल सकिएपछि छरछिमेकमा ऐंचोपैंचो गरेर काम चलाउने गरिएको उनले बताइन् । कतिपय परिवार त एकछाके भइसकेका उनको भनाइ छ ।

लकडाउन भए पनि सरकारका मान्छे र अन्य सहयोगी दाता एकपटक सोध्नसम्म नआउँदा झुप्राखोलामा बस्ने मजदुरको मन नराम्ररी कुँडिएको छ । सुर्खेत उपत्यका र अन्य सहरी क्षेत्रका मजदुरलाई राहत बाँडेर सामाजिक सञ्जालमा फोटो हाल्ने लहर चलेको देख्दा झन् पीडा हुने गरेको भीमबहादुरले बताए । ‘१५ मिनेटको दुरीमा घरदैलोको सरकार नगरपालिका छ, प्रदेश सरकार पनि यहीँ छ,’ उनले भने, ‘यी सरकारले त देखेनन्, अरू सहयोगी मनहरूको ध्यान पनि पुगेन ।’ बुधबार आफैं वीरेन्द्रनगर गएर वडा सचिवलाई बस्तीको तथ्यांक दिए पनि राहत कहिले पाइने हो भन्ने थाहा नभएको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाले पाँच दिनअघि ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई राहत दिने निर्णय गरेको छ । प्रत्येक वडालाई ५ लाखका दरले बजेट दिइएको छ । नगर उपप्रमुख मोहनमाया ढकालका अनुसार हालसम्म १, २, ५, ८ र १२ नम्बर वडाले राहत वितरण सुरु गरिसकेका छन् । खाद्यान्नको अति जोखिममा रहेको झुप्राखोलामा भने शुक्रबारसम्म नगरपालिकाको राहत पुगेको छैन । उपप्रमुख ढकालले वडा नं. ११ ले भर्खरै तथ्यांक संकलन गरिभ्याएको र सम्भवतः शनिबार राहत वितरण गरिने बताइन् । उनका अनुसार चार जनासम्मको परिवारलाई १५ केजी चामल, एक केजी दाल, एक पोका तेल र एक पोका नुन तथा चार जनाभन्दा माथिको परिवारलाई ३० केजी चामल, दुई केजी दाल, एक पोका तेल र एक पोका नुन दिने निर्णय भएको छ ।


सचेतना शून्य

रत्न राजमार्गको आडैमा रहेको यो बस्तीमा अहिलेसम्म कोराना भाइरस रोग (कोभिड–१९) को जोखिम र सावधानीबारे सचेतना पुगेको छैन । बस्तीमा औषधी र मास्क पनि नपुगेको भीमबहादुरले बताए ।

‘हुन त अहिलेसम्म बस्तीमा कोही नयाँ मान्छे आएको छैन, तैपनि यो रोग कस्तो हो, कसरी बच्ने भन्ने हामीलाई जानकारी दिनुपर्ने नि,’ उनले भने, ‘सरकारको नजरमा हामी त यो देशका नागरिकै होइनौं कि जस्तो लाग्न थाल्यो ।’

प्रकाशित : चैत्र २१, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?