२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जनप्रतिनिधि पनि क्‍वारेन्टाइनमा

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाका एक जनप्रतिनिधिलाई क्वारेन्टाइनमा राखिएको छ । गाउँ कार्यपालिका सदस्य खड्क नेपालीसहित १० जनालाई त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको हो ।

जनप्रतिनिधि पनि क्‍वारेन्टाइनमा

कामको सिलसिलामा गोरखा गएका उनीसहित ८ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए । उनका अनुसार एकजना यसअघि नै क्वारेन्टाइनमा थिए । ‘गोरखाबाट हिँडेदेखि नै उहाँहरु गाउापालिकाको सम्पर्कमा हुनुहुन्थ्यो,’ उनले भने, ‘सबैलाई घर जान नदिएर सडकबाट सोझै क्वारेन्टाइनमा राखिएको हो ।’

गाउँपालिकाका अनुसार हिमालय माविमा पनि ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै ७ नम्बर वडाको साधारण मावि क्वारेन्टाइनमा ९ जना छन् । क्वारेन्टाइनमा रहेका २७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत रावलले बताए ।


जिल्लाभरि ४९ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चौरजहारी नगरपालिकाको क्वारेन्टाइनमा १३, मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा ७ र आठबीसकोट नगरपालिकाको क्वारेन्टाइनमा २ जनालाई राखिएको हो ।

२ परीक्षण रिर्पोट ‘नेगेटिभ’

कोरोना भाइरसको संक्रमण भएको आशंकामा स्वाब परीक्षण गरिएका २ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ व्यक्तिको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो ।

दुवैको रिपोर्ट नेगेटिभ आएपछि जिल्लाभरिका क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य सामान्य रहेको पाइएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा.महेश चौलगाईले बताए । १४ दिनसम्म क्वारेन्टाइनमा बसेका ७ जनालाई घर पठाइएको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र २१, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?