१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्वाब संकलन गर्न सास्ती/लक्षण नदेखिएको भन्दै बिना परीक्षण फर्काइदै

सुर्खेत — रुकुम पश्चिमका चार क्वारेन्टाइनमा ३९ जनालाई राखिएको छ । उनीहरुको नमुना संकलनमा समस्या भएपछि २ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ । दक्ष स्वास्थ्यकर्मी र उपकरण नहुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन हुन नसकेको हो ।

स्वाब संकलन गर्न सास्ती/लक्षण नदेखिएको भन्दै बिना परीक्षण फर्काइदै

जिल्लाका क्वारेन्टाइनमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), किट, अत्यावश्यक औषधी र पर्याप्त उपकरण अभावमा बिरामीको नमुना संकलनमा समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ ।


स्थानीय तहले भने स्वास्थ्य अवस्था सामान्य रहेकाले नमुना संकलन नगरिएको दाबी गरिरहेका छन् । ‘देश बाहिरबाट आएकाले क्वारेन्टाइनमा बसालिएको हो,’ चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले भने, ‘उनीहरुमा कुनै लक्षण नै नदेखिएपछि स्वाब परीक्षण भएन ।’


उनका अनुसार शीतल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १३ जनालाई राखिएको छ । सुरुमा १९ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १४ दिन कटाएर ६ जना घर फर्किसकेको उनले जनाए । तर, उनीहरुको स्वाब परीक्षण भएन ।


मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा ७ जना छन् । त्यसमध्ये २ जनाको मात्रै नमुना परीक्षण गरिएको जिल्ला अस्पताल प्रमुख डा.महेश चौलागाईंले बताए । लक्षण नदेखिएपछि बाहिरबाट फर्किएका अन्यको स्वाब परीक्षण नगरिएको उनको भनाइ छ । उनका अनुसार दुवैजनाको स्वाब लिनका लागि सुर्खेतबाट टोली आएको थियो । नमुना संकलन गरिएकामध्ये एक जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ भने अर्का बिरामीको रिपोर्ट आउन बाँकी छ ।


त्रिवेणी गाउँपालिकाको क्वारेन्टाइनमा १९ जनालाई राखिए पनि दक्ष स्वास्थ्यकर्मी र उपकरण नहुँदा कसैको नमुना संकलन गरिएको छैन । जिल्लामा भारत र अन्य मुलुकबाट ५ सय ४३ जना भित्रिएका छन् । त्यसमध्ये ५ सय १५ भारतबाट र २८ जना अन्य मुलुकबाट भित्रिएको जिल्ला प्रशासनले जनाएको छ ।


प्लास्टिकको पीपीईको भर


पीपीई नहुँदा दैलेखका स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गरिरहेका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा २ सय ५० जनालाई राखिएको छ । तर, पीपीई नहुँदा क्वारेन्टाइनमा बसेकाको जाँच प्रभावकारी बन्न सकेको छैन ।


पीपीई नहुँदा जाँचमा समस्या भएको जिल्ला अस्पताल प्रमुख डा. निरन्जन पन्तले बताए । ‘स्वाब परीक्षण गर्न सुर्खेतका प्राविधिक गुहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अधिकांश स्वास्थ्यकर्मी सामान्य बिरामीको नजिक जान डराउन थालेका छन् ।’ दुई सातामा जिल्लामा १ हजार २ सय २० जना भारत तथा अन्य मुलुकबाट भित्रिएका छन् । बाहिरबाट स्थानीयबासी भित्रिने क्रम जारी रहे पनि उपकरण अभावमा चेकजाँचमा समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ । चीनबाट आएका सामग्री पुरै सेट नआउँदा प्रयोगविहीन बनेका छन् ।


आठबीस नगरपालिकाका स्वास्थ्यकर्मीले स्थानीयस्तरमै सुरक्षा सामग्री निर्माण गरी प्रयोग गरिरहेका छन् । नगरपालिकामा लकडाउनको अवधिमा भारतबाट ३ सय जना भित्रिएका थिए । क्वारेन्टाइनमा चेकजाँच गर्न जाँदा प्लाष्टिकको पीपीई लगाउनुपर्ने बाध्यता भएको आठबीस स्वास्थ्यचौकीकी अनमी रनीदेवी शाहीले बताइन् ।


‘स्वास्थ्यकर्मीका लागि सेनिटाइजर, पञ्जा र मास्कसमेत पर्याप्त छैनन्,’ उनले भनिन्, ‘आवश्यक उपकरण नहुँदा बिरामीको नमुना संकलनमा पनि समस्या छ ।’


जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकामा १ सय ५९, दुल्लुमा २ सय २०, चामुन्डाविन्द्रासैनी नगरपालिकामा ५५ जना भारत र अन्य मुलुकबाट भित्रिएका छन् । गुराँसमा २७, डुगेश्वरमा ४७, भगवतीमाईमा ८४, नौमूलेमा ७०, भैरबीमा ६८, महाबुमा २९ र ठाटीकाँध गाउँपालिका १ सय ५७ जना भित्रिएको कार्यालयको तथ्यांक छ ।


प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जिल्लाभरि २ सय २८ बेडको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेसन निर्माण गरिएको बताए । ‘स्थानीय तहको पूर्वतयारी नहुँदा बाहिरबाट फर्किएकाहरु क्वारेन्टाइनमा बस्न मानेका छैनन्,’ उनले भने, ‘बाहिरबाट आएकाहरु खुलेआम गाउँ पस्दा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।’


गाउँगाउँमा स्वास्थ्यकर्मी


वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा बिहीबारदेखि कोरोना भाइरस संक्रमणका लागि ‘थ्रोट स्वाब’ परीक्षण सुरु भएको छ । यसका लागि प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालयलगायतका स्वास्थ्यकर्मीको टोलीले नमुना संकलन गरिरहेको छ ।


बुधबार ‘पीसीआर’ मेसिनको जडान सकिएपछि परीक्षण सुरु गरिएको स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता जोशीले बताइन् । उनका अनुसार नमुना संकलनका लागि जनशक्ति खटाइसकिएको छ । केन्द्र सरकारले पठाएको पीसीआर मेसिनले दैनिक १५ जनासम्मको स्वाब परीक्षण गर्न सक्ने उनले बताइन् ।


कर्णालीका विकट गाउँमा पुगेर स्वाब संकलन गर्न प्रदेश अस्पतालमा खटिएको जनशक्तिले नभ्याउने देखिन्छ । जनशक्तिको अभावका कारण प्रयोगशालाको काम प्रभावित हुन नदिन स्थानीय तहसँग सहकार्य गरी सम्भावित संक्रमितको तथ्यांक राख्न थालिएको निर्देशनालयले जनाएको छ ।


कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गर्न ५ जना स्वास्थ्यकर्मीको टोली खटाइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘हामीसँग अहिले भएको मेसिनको क्षमता पनि कमै छ,’ उनले भने, ‘तत्कालका लागि यही जनशक्तिले काम गर्न सक्छ, प्रयोगशाला थप भएमा तीनदिने सूचना निकाली आवश्यक स्वास्थ्यकर्मी भर्ना गरिनेछ ।’ उनले गाउँगाउँमा भएका सम्भावित व्यक्तिलाई खोजेर ल्याउने जनशक्ति सरकारसँग रहेको दाबी गरे ।


स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरी सम्भावित संक्रमित व्यक्तिको स्वाब संकलन गर्ने प्रदेश सरकारको तयारी छ । प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीलाई केन्द्रीय प्रयोगशाला, काठमाडौंबाट खटाइएका क्लिनिकल माईक्रोबायोलोजिष्ट डा. रामकृष्ण श्रेष्ठले तालिम दिइरहेका छन् । बुधबारसम्म कर्णालीबाट ३१ जनाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । परीक्षण गरिएकामध्ये २८ जनाको रिपार्ट ‘नेगेटिभ’ देखिएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी छ ।


कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै जिल्लामा अत्यावश्यक स्वास्थ्य सामग्री पुर्‍याइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश अस्पतालमा सबैभन्दा बढी सामग्री पठाइएको हो । सरकारले हुम्ला, मुगु र डोल्पामा हेलिकप्टरबाट सामग्री पठाएको थियो । सबै अस्पतालमा सर्जिकल मास्क, पीपीई, लुज ग्लोब्स्, नाइन्टी मास्क, पारा सिटामोल, गाउन, ब्रोसर, सेनिटाइजर, क्यानुला, क्लोरोक्वीन औषधिलगायत सामग्री पठाइएको मन्त्री रावलले बताए ।


जुम्लामा पीसीआर माग


भाइरस परीक्षण गर्ने मेसिन ‘पीसीआर’ आए जुम्लामै कोरोनाको परीक्षण गर्न सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । जुम्लास्थित शिक्षण अस्पतालमा ‘विएसएल–२’ ल्याब यसअघि नै स्थापना भएकाले कोरोना भाइरस परीक्षणमा समस्या नहुने प्रतिष्ठानले जनाएको छ ।


परीक्षणका लागि सरकारसँग मेसिन माग गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । ‘मेसिन जुम्ला पुगेको केही घण्टाभित्रै परीक्षण सुरु हुन्छ,’ उनले भने, हामीसँग ल्याबमा काम गर्ने अनुभवी चिकित्सक र स्वास्थ्यकर्मी तयार छन् ।’ स्वाब संकलनमा पनि समस्या नभएकाले जुम्लामै कोरोना भाइरसको परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।


चिकित्सकका अनुसार नाक र मुखबाट बिरामीको स्वाब संकलन गरिन्छ । स्वाब राख्नको लागि भीटीएम किट आवश्यक हुन्छ । डा. रावलले भने ल्याबमा काम गर्ने टेक्निसियनले पनि सजिलै स्वाब संकलन गर्न सक्ने बताए । जुम्लामा संकलन गरेर सुर्खेत पठाउन कम्तीमा १४ घण्टा लाग्ने भएकाले समस्या भएको उनको भनाइ छ । जुम्लाका सबै स्थानीय तहका स्वास्थ्यचौकीमा अझै पनि स्वाब संकलन गर्ने किट पुगेका छैनन् । लकडाउनको अवस्थामा एक/दुई जनाको स्वाव संकलन गर्न गाउँ जान पनि सम्भव नभएको चिकित्सकको भनाइ छ ।


हरि गौतम (रुकुम पश्चिम), ज्योति कटुवाल (दैलेख), चाँदनी कठायत (वीरेन्द्रनगर) र एलपी देवकोटा (जुम्ला)

प्रकाशित : चैत्र २०, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?