२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विपन्नको चिन्ता- रोगले भन्दा भोकले मर्ने भइयो

दैनिक ज्याला मजदुरी गर्नेको लगत संकलन गर्दै पालिका, शारदा नगरपालिकाद्वारा खाद्यान्न वितरण
विप्लव मर्हजन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका—५ का विपन्न दलित माघे बादीको दैनिक जीविकोपार्जनको सहारा भनेको मजदुरी हो । खेतीपाती गर्ने जग्गा नभएपछि मजदुरी गरेर नै उनले पाँच जनाको परिवार जेनतेन पाल्दै आएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण मजदुरी गर्न नपाएपछि उनलाई परिवार पाल्न समस्या भएको छ । 

विपन्नको चिन्ता- रोगले भन्दा भोकले मर्ने भइयो

स्थानीय चिने बादीको समस्या पनि फरक छैन । दैनिक मजदुरीको कमाइले गुजारा चलाउँदै आएका उनलाई बिहान बेलुका के खाने भन्ने चिन्ता बढेको छ । दुई/चार दिनलाई साचेको खाद्यसामग्री सकिएपछि उनी खोले खाएर पेट भर्दै आएका छन् ।


यी दुई मात्र नभई जिल्लाभरिका अतिविपन्न वर्गमा पर्ने दलितहरु लकडाउनको मारमा परेका छन् । लकडाउनको अवधि बढ्दै गएकाले उनीहरुलाई दुई छाक जोहो गर्न कठिनाइ हुन थालेको छ । स्थानीय तहले मजदुरी गरी जीविकोपार्जन गर्दै आएका विपन्नलाई खाद्यान्न उपलब्ध गराउने भनेपनि लगत संकलनमा ढिलाइ हुँदा उनीहरु समस्यामा पर्न थालेका हुन् ।


‘कोरोना रोगले सबै मर्छन् भन्थे । यहाँ त खाना खान नपाएर भोकले मरिएला जस्तो हुन थालिसक्यो,’स्थानीय बिसे बादीले भने,‘हेरौं कतिदिन खोले खाएर बाँच्न सकिन्छ ।’ बजारमा रासनको भाउ चुलिँदै गएकाले साचेर राखेको पैसाले पनि नपुग्ने अवस्था आएको उनले दु:खेसो पोखे ।


शारदा नगरपालिकाले मजदुरी गरिखाने विपन्नको लगत संकलन गरिसकेको र बिहीबार वडा नं. ४ बाट प्रतिव्यक्ति दुई हजार बराबरका खाद्यसामग्री वितरण गर्न थालिएको जनाएको छ । नगर प्रमुख सुरेश अधिकारीले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका कोहीलाई पनि भोकै नराख्ने र धमाधम खाद्यान्न उपलब्ध गराउने बताए ।


बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनले लगत संकलनमा भएको ढिलाइले विपन्नलाई समयमै खाद्यान्न उपलब्ध गराउन नसकिएको बताए । उनले प्रतिघर परिवारको संख्या हेरेर दुईदेखि चार हजार रकम बराबरको खाद्यसामग्री उपलब्ध गराउने जानकारी गराए ।


कालीमाटी गाउँपालिकालेलगत संकलन गर्दै आए पनि वास्तविक विपन्न छुट्याउन कठिनाइ भएकाले खाद्यसामग्री समयमै उपलब्ध गराउन नसकिएको अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार गाउँपालिकाको सात वडामा अध्यक्ष मार्फत लगत संकलन गर्न लगाउँदा मजदुरी गरी खाने विपन्नको संख्या हजारभन्दा कम नआउने देखिएको छ । यसले गर्दा वास्तविक विपन्न तथा दैनिक मजदुरी गरिखाने को हो भन्ने छुट्याउन कठिनाइ भएको छ ।


छत्रेश्वरी गाउँपालिकाले दैनिक मजदुरी गरी खाद्यसामग्री किनेर खानेको लगत संकलन गरिसकेको र केही दिनमै खाद्यसामग्री उपलब्ध गराउने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । ‘पालिकाभित्रका कसैले खाली पेट बस्नुपर्ने छैन,’ उनले भने । जिल्लाका अन्य स्थानीय तहले पनि लगत संकलन गरिरहेको जनाएका छन् । उनीहरुले छिटै विपन्न मजदुरलाई खाद्यसामग्री उपलब्ध गराउने जनाएका छन् ।


शारदा नगरपालिकाका ७८ जनालाई खाद्यान्न वितरण


शारदा नगरपालिकाले वडा नं ४ साहुटोलाका मजदुरी गरी जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत वितरण सुरु गरेको छ । वडा नं ४ साहुटोलामा १८ र वडा नं. २ खलंगाका ६० गरी बिहीबार मात्र ७८ विपन्न मजदुरलाई राहत वितरण गरेको हो ।

नगरपालिकाले प्रतिघर दुई हजार रुपैयाँका दरले २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, दुई किलो नुन र साबुन उपलब्ध गराएको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनले शुक्रबार वडा नं. १ का एक सय तीन विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने जानकारी गराए ।

उनले नगरपालिकाभित्र झन्डै पाँच सय विपन्न परिवार रहेको जानकारी गराए । ‘सरकारले लकडाउन बढाएमा त्यही अनुसार विपन्न परिवारलाई थप खाद्यान्न सहयोग गरिने छ,’ उनले भने ।

प्रकाशित : चैत्र २०, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?