३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चौरजहारीमा कोरोना अस्थायी अस्पताल

हरि गौतम

रुकुम पश्चिम — कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको उपचारका लागि चौरजहारीमा अस्थायी अस्पताल निर्माण गरिएको छ । चौरजहारी अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी चौरजहारी नगरपालिका–२, स्थित शीतल माध्यमिक विद्यालयमा अस्थायी अस्पताल बनाइएको हो । 

चौरजहारीमा कोरोना अस्थायी अस्पताल

विद्यालयमा एकपटकमा २० जनाको उपचार गर्ने गरी आइसोलेसन बेड बनाइएको छ । चौरजहारी अस्पतालले पनि छुट्टै चार बेडको आइसोलेसन वार्ड तयार गरेको छ । अस्पताललाई कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पूरा भएको बताए । ‘अरू विरामीलाई असर नपरोस् भनेर छुट्टै आइसोलेसन वार्ड तयार गरेका छौं,’ उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि भइरहेको छ ।’ आइसोलेसनमा चिकित्सकसहित चारवटा टोली परिचालन गर्ने अस्पतालको तयारी छ ।

आइसोलेसनका लागि आवश्यक अरू उपकरण जुटाइएको छ भने अक्सिजनका लागि ३ मेसिन आउँदै छन् । शीतल माविको अर्को भवनमा चौरजहारी नगरपालिकाले २० बेडको क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा १४ जना बसिरहेका छन् । सुरुमा १९ जनालाई राखिएकोमा १४ दिन पुगेपछि केहीलाई घर पठाइएको छ । तर, क्वारेन्टाइनमा बसेका कसैको पनि पनि स्वाब परीक्षण गरिएको छैन ।



चौरजहारी अस्पतालमा दुई विशेषज्ञसहित ६ चिकित्सक र ९८ स्वास्थ्यकर्मी छन् ।आइसोलेसनका लागि प्रदेश सरकारसँग थप चिकित्सक माग गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार दुई चिकित्सक प्रदेश सरकारले पठाउने तयारी गरेको छ । जिल्ला अस्पतालमा पनि पाँच शय्याको आइसोलेसन तयार गरिएको छ ।

जिल्लाभरि ४० जना क्वारेन्टाइनमा छन् । त्रिवेणी गाउँपालिकाको क्वारेन्टाइनमा १९ र मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा ७ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?