जिप्रका सुर्खेतबाट ३ थुनुवा फरार

प्रदेश प्रहरीले छानबिन गर्दै
कलेन्द्र सेजुवाल

सुर्खेत — जिल्ला प्रहरी कार्यालयको हिरासतबाट बुधबार राति ३ जना थुनुवा भागेका छन् । लागुऔषध कारोबारमा पक्राउ परेका उनीहरु राति करिब १ बजे झ्यालको पल्ला निकालेर भागेका हुन् ।

जिप्रका सुर्खेतबाट ३ थुनुवा फरार

भाग्नेमा वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी (थारु) र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कसेरा रहेको प्रहरीले जनाएको छ । चौधरी र रेग्मीलाई प्रहरीले आइतबार ब्राउनसुगरसहित पक्राउ गरेको थियो । कसेरा पनि फागुन २६ गते ब्राउनसुगरसहित पक्राउ परेका थिए ।


प्रहरीले थुनुवा भागेको बिहान ७ बजेमात्र थाहा पाएको बताएको छ । यसबारे बुझ्न खोज्दा जिल्ला प्रहरी प्रमुख एसएसपी दिल्लीराज पन्तसँग सम्पर्क हुन सकेन ।


कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी मसउद आलम खाँले कार्यालयबाट एक समिति गठन गरी घटनाको छानबिन गरिने बताए । ‘प्रहरी कार्यालयबाट थुनुवा भाग्नु निकै ठूलो कमजोरी हो, यसमा कसको कमजोरी रहेछ भन्नेबारे छानबिनबाट थाहा हुन्छ,’ उनले भने, ‘छानबिन समितिले दिएको रिपोर्टको आधारमा सम्बन्धित अधिकारीमाथि आवश्यक कारबाही हुन्छ ।’ भागेका थुनुवालाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी खटिसकेको समेत उनले बताए ।

प्रकाशित : चैत्र २०, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?