लकडाउनले तरकारी बारीमै 

हरि गौतम

(रुकुम पश्चिम) — सानीभेरी गाउँपालिका–९, हासिबाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ । उनी गत ११ गतेदेखि घरभन्दा टाढा जान पाएकी छैनिन् । लकडाउनअघि उनी घरदेखि झण्डै १४ किलोमिटर टाढाको जिल्ला सदरमुकाम खलंगामा तरकारी बेच्न आउँथिन् ।

लकडाउनले तरकारी बारीमै 

कोरोना भाइरस (कोभिड–१९) फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि उनको तरकारी बारीमै छ । एक सातायता उनले न तरकारी टिप्‍न पाएकी छिन्, न टिपेको बेच्‍न नै । ओलीमात्र होइन, हासिबाङसहित मुसिकोट नगरपालिका–३, १२, १३ र १४ नम्बर वडाका किसानको दैनिकी पनि फेरिएको छ । तरकारी बिक्री गरेर दैनिकी चलाउने कृषक परिवार लकडाउनका कारण समस्यामा परेका छन् । अधिकांशको तरकारी बारीमै थन्किएको छ ।


बारीको तरकारी क्रमश: खानका लागि अयोग्य बन्दै गएकको ओलीको गुनासो छ । ‘गाउँमा तरकारी बिक्री हुँदैन, बजारका तरकारी पसल सबै बन्द छन्,’ उनले भनिन्, ‘तयार भइसकेको तरकारी टिप्‍न नपाउँदा बारीमै बिग्रिरहेको छ ।’


हासिबाङसहित मुसीकोटका चार वडाका अधिकांश किसानको आम्दानीको स्रोत नै ताजा तरकारी हो । अहिले किसानको बारीमा काउली, बन्दा, केराउ, मुला, टमाटर, लसुन, प्याज, रायोलगायत ताजा तरकारी छ । मुसीकोट नगरपालिका–३, का भीमबहादुर खड्काका अनुसार अधिकांश किसानले ११ गतेको लागि भनेर १० गते नै तरकारी टिपेर राखेका थिए । ‘टिपेको मात्रै होइन, टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘लकडाउन लम्बिएपछि थप समस्या भयो ।’


जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार सदरमुकाम खलंगा नै हो । खलंगाबजार पूर्ण लकडाउनमा छ । अत्यावश्यकीय पसल खुल्ने भनिए पनि अधिकांश तरकारी पसल बन्द छन् । लकडाउनले सबैतिर समस्या भएको मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले बताए । ‘लकडाउनको अवधिमा भाइरसबाट बच्नु सबैका लागि महत्वपूर्ण छ,’उनले भने, ‘संक्रमणको जोखिम कम भएपछि फेरि दैनिकी सहज हुने आशा छ ।’


लकडाउनका कारण समस्या व्यहोरिरहेका परिवारका लागि राहतको व्यवस्थाबारे छलफल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १९, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?