१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउन प्रभाव : मजदुरलाई गुजाराको समस्या

भीमबहादुर सिंह

(जाजरकोट) — भेरी नगरपालिका–३, स्यालाका लालवीर विकको जीविकोपार्जनको मुख्य आधार नै ज्याला–मजदुरी हो । उनका छिमेकी हरिबहादुर नेपाली पनि मजदुरी गरेरै गुजारा चलाउँछन् । 

लकडाउन प्रभाव : मजदुरलाई गुजाराको समस्या

तर, दुवैजनाले एक सातायता मजदुरी गर्न पाएका छैनन् । काम नगर्दा कमाइ शून्य भएपछि उनीहरु मात्र होइन, सबै मजदुरको घरमा चुल्हो बल्न समस्या भएको छ । दैनिक एक हजार रुपैयाँ जति कमाएर पाँच जनाको परिवार पाल्दै आएका लालवीर काठको काम गर्ने दक्ष मिस्त्री मानिन्छन् । ‘काम गर्न नपाए कसरी परिवारको पेट पाल्ने ?,’ उनले भने, ‘घरमा खाद्यान्न स्टक छैन, पसलमा उधारो पनि मिल्दैन ।’ चामल, तरकारी, तेल, दाल र मासु किन्ने रकम नहुँदा चैतेदसैं समेत खल्लो भएको उनले सुनाए ।


हरिबहादुरले काम गर्न नपाउँदा ऋण लिएर खाद्यान्नको व्यवस्था गर्नुपरेको दु:खेसो पोखे । ‘हुनेखानेका घरमा चैतेदसैंको रमाइलो होला,’ उनले भने, ‘हाम्रो घरमा चुलो बल्न धौधौ भइसक्यो ।’ एक सातासम्म लकडाउन हुँदा सबैभन्दा बढी मजदुर परिवार समस्यामा परेको उनको गुनासो छ ।

उनले लकडाउन सुरु भएयता घरमा तरकारी नपाकेको सुनाए । ‘सुख्खा दाल र भात खाएर चैतेदसैं मनाइयो,’ उनले भने, ‘मजदुरी गर्न पाएको भए आजको दिन त मासु पाक्थ्यो होला ।’ सदरमुकाम खलंगामा दैनिक मजदुरी गरेर गुजारा चलाउनेलाई कतैबाट पनि राहतको व्यवस्था नभएको उनी बताउँछन् । उनका अनुसार सदरमुकाम खलंगा आसपास मात्रै गिट्टी कुट्ने, काठको काम गर्ने, सामान ओसारपसार गर्ने, भौतिक संरचना निर्माण गर्नेलगायत काममा करिब तीन सय बढी मजदुर सक्रिय छन् ।


जाजरकोटमा करिब ६ हजार परिवार मजदुरीमा निर्भर रहेको सरकारी तथ्यांक छ । जिल्लामा ज्याला–मजदुरी गरेर पेट पाल्नेको संख्या झण्डै २५ हजार रहेको निर्माण व्यवसायी संघका अध्यक्ष कृष्णविक्रम शाहले दाबी गरे । जग्गाजमिन र घरबारविहीनलाई मजदुरी गरेर गुजारा चलाउनुको विकल्प नभएको उनी बताउँछन् ।


संक्रमण रोक्न स्थानीय सरकारको सक्रियता

कोरोनाको संक्रमण फैलिन नदिन स्थानीय तहले विभिन्न प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिरहेका छन् । पालिकाहरुले कोरोना संक्रमण रोक्न हेल्थ डेस्क स्थापना, सचेतना कार्यक्रम, क्वारेन्टाइन निर्माण, प्रतिकार कार्यदल परिचालन, विपद् कोष स्थापनालगायत काम गरिरहेका हुन् ।


जुनीचाँदे गाउँपालिकाले भारत र खाडी मुलुकबाट आएका २७ जनालाई क्वारेन्टाइनमा राखेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए । ‘सबै घरधुरीमा नि:शुल्क साबुन वितरण गरेका छौं,’ उनले भने, ‘स्थानीयको स्वास्थ्य जाँच र सचेतनाका लागि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।’


भेरी नगरपालिकाले ५६ वटा टोलस्तरीय प्रतिकार कार्यदल गठन गरी परिचालन गरेको छ । कार्यदलले प्रत्येक दिन गाउँ–टोलमा स्वदेश तथा विदेशबाट आएकालाई निगरानी गर्ने, होम क्वारेन्टाइनमा बस्न लगाउने र तथ्यांक संकलन गरी नगरपालिकालाई बुझाउने जिम्मेवारी पाएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनका अनुसार कोरोना संक्रमण रोक्न तीन सय २७ जना युवालाई गाउँमा परिचालन गरिएको छ ।


बारेकोट गाउँपालिकाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रणका लागि २० लाख रुपैयाँको विपद् कोष स्थापना गरेको छ । कोषमा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायतको तीनदेखि सात दिनको तलबसमेत जम्मा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार स्थानीय सामग्री प्रयोग गरी स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निर्माण गरी वितरण गरिएको छ । १० स्वास्थ्यचौकी र दुई हेल्थ डेस्कमा ४५ स्वास्थ्यकर्मीलाई सचेतना र उपचारमा खटाइएको छ ।


जिल्लाभरि भारतलगायत अन्य देशबाट आएका दुई सय पाँच जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार भारतबाट आएका एक सय ८९ र अन्य मुलुकबाट आएका १४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । भेरीमा ८२, नलगाडमा ११, छेडागाडमा १८, कुशेमा ६, बारेकोटमा सात, जुनीचाँदेमा ३७ र शिवालयमा १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जुनीचाँदेमा २७ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : चैत्र १९, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?