कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘आपत्‌‍का बेला सरकारले गाउँको याद गर्नुपर्छ’

स्थानीय भन्छन्– सडक खन्‍न बढी चासो दिने जनप्रतिनिधिमा संक्रमण रोक्‍ने योजना खोइ ?
काशीराम डाँगी

रोल्पा — ‘लकडाउन’को अवधि पुनः थपिएपछि रोल्पाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिने उपायबारे जनचेतना अभिवृद्धि गराउन थालेका छन् । केही स्थानमा जनप्रतिनिधि आफैं पनि खटिएर सरसफाइ र संत्रलमणबाट बच्ने उपायबारे स्थानीयलाई जानकारी गराइरहेका छन् । 

‘आपत्‌‍का बेला सरकारले गाउँको याद गर्नुपर्छ’

केही स्थानीय तहले क्वारेन्टाइन बनाउन र बाहिरबाट आएकालाई अलग्गै राख्ने व्यवस्था गर्न थालेका छन् । रोल्पाका १० वटै स्थानीय तहले कार्यपालिका बैठक बसालेर संक्रमण रोक्न आर्थिक कोष स्थापना गर्ने निर्णय गरेका छन् ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगर तीन दिनभित्र ६ वटै वडामा पुगेर स्थानीयको अवस्थाबारे जानकारी लिएको सुनाए । ‘गाउँमै बास बसेर जनतालाई सचेत गराउने काममा लागेको छु,’ गाउँपालिकाको अति दुर्गम मानिएको वडा– ३ र ४ मा पुगेका उनले भने, ‘स्वास्थ्यकर्मी, प्रहरी र कर्मचारीस“गको समन्वयमा जनतासँग भेटभाट गर्दै कोरोना भाइरसविरुद्ध सचेतना जगाउँदै आएको छु ।’

गाउँमा हालसालै विदेशबाट आएकाको खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र अन्यलाई सतर्क बनाउन जनप्रतिनिधिहरू खटिएका छन् । उनी भन्छन्, ‘गाउँमा नयाँ आएकालाई होम क्वारेन्टाइनमा बसाल्न जेलमै कोच्न खोजेजस्तो ठानिँदो रहेछ । तैपनि सचेतना बढाउन छोडेका छैनौं ।’ भारतबाट आएका ६ जनालाई घरमै क्वारेन्टाइनमा बस्न लगाइएको छ । उनका अनुसार प्यूठान र बागलुङ हुँदै गाउँ भित्रिनेबारे जाँचबुझमा कडाइ गरिएको छ । लकडाउन गरिए पनि मानिसहरु हिँडेरै भए पनि गाउँ आउन छाडेका छैनन् ।

पश्चिमी रोल्पाको त्रिवेणी गाउ“पालिकामा ‘आफ्नो गाउँको सुरक्षा आफैं गरौं’ भन्ने अभियान थालिएको छ । गाउँ कार्यपालिकाको बैठक बसेर कोरोनाविरुद्ध जनप्रतिनिधिका साथै आमा समूह, महिला समूह, वन समूह लगायतलाई परिचालन गर्ने निर्णय गरिएको छ । गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली भन्छन्, ‘कोरोनाविरुद्ध चेतना बढाउन माइकिङ गर्नुका साथै मुख्य नाकामा नियमित जाँच गर्नुका साथै स्वास्थ्य चौकी, विद्यालय र क्याम्पस भवनमा क्वारेन्टाइन बनाउने अभियानलाई तीव्रता दिइएको छ ।’ त्रिवेणीमा भारत र विदेशबाट ९० जना घर फर्किएका छन् ।

गाउँमा संक्रमण रोक्न एक गाउँले अर्को गाउँको रेखदेख गर्ने समेत जनप्रतिनिधिले उर्दी जारी गरेका छन् । खाद्यान्नलगायत अतिआवश्यक सामान किन्न बिहान ५ देखि ८ बजेसम्म मात्रै पसल खोल्न दिइने निर्णय भएको छ । कोरोना संक्रमण रोक्न गाउँपालिकाले १५ लाखको कोष स्थापना गरेको अध्यक्ष वलीले बताए ।

रुन्टीगढी गाउँपालिकाले सहिद मार्ग हुँदै रोल्पा भित्रिनेको स्वास्थ्य अवस्था नेपालमा संक्रमण देखिएदेखि नै जाँच गर्दै आएको थियो । होलेरी हुँदै गाउँपालिका र अन्य क्षेत्रमा पुग्ने मानिसहरुको दैनिक स्वास्थ्य अवस्था जाँच गरिएको छ । अध्यक्ष बालाराम बुढामगर भन्छन्, ‘उनीहरूको अवस्था जाँच्दै सरसफाइबारे जानकारी गराएका छौं । लकडाउनपछि दाङ हुँदै पैदल भित्रिने मानिसहरुको संख्यामा कमी भएको छैन ।’ कोरोना विरुद्धको अभियानका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । होलेरीमा अस्पताल सञ्चालनको अन्तिम तयारी भइरहेको छ भने सोही अस्पतालमै क्वारेन्टाइन पनि बनाइएको छ । गाउँपालिकाको मसिना र दहवन क्षेत्रमा ज्वरोका बिरामी फेला पारिएकाले उनीहरूलाई अस्पतालमा पुर्याउने पहल भएको सुब्बा दीपेन्द्रकुमार डाँगीले बताए । गाउँपालिकाको पहलमा यसअघि नै होलेरीमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

रोल्पा नगरपालिकाले लिवाङमा पनि हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिरहेको छ । नगरको पहलमा रोल्पा अस्पतालमा चिकित्सकसहित स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत उपलब्ध गराइएको छ । नगरप्रमुख पूर्ण केसीले नवआगन्तुकलाई अनिवार्य क्वारेन्टाइनमा बसाल्ने निर्णय भएको बताए । नगरमा राजधानीका इँटा उद्योग, भारत र खाडी मुलुकबाट मानिसहरु घर फर्किएका छन् । चैत १ पछि राजधानी, दाङ, भारत र अन्य मुलुकबाट घर फर्किएकाहरुको तथ्यांक राखिएको छ । यो संख्या हालसम्म ८९ पुगेको उनले बताए । नगरकै खर्चमा वडा नं ६ को जिबाङ र दारबोटमा क्वारेन्टाइन तयार पारिएको छ ।

गंगादेव गाउँपालिकामा पनि कोरोना विरुद्धको अभियानलाई तीव्र पारिएको छ । विभिन्न स्थानमा क्वारेन्टाइन निर्माण गर्नेदेखि जनचेतना वृद्धि गर्न जनप्रतिनिधि खटिएका छन् । वडाध्यक्ष र सदस्यलाई माइकिङ गर्न, औषधि वितरण गर्न र नाकाहरूमा जाँच गराउन प्रहरी र स्वास्थ्यकर्मीसँगै खटाइएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीले बताए । यसअघि नै भारतको सिम्लाबाट आएका एक सय १५ जनालाई १४ दिन घरमै क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मानिसहरू अझै पनि हिँडेर आइरहेकाले ४० जनाका लागि क्वारेन्टाइन बनाउने तयारी भएको छ ।

माडी गाउँपालिकामा क्वारेन्टाइन बनाउन, मानिसहरूलाई घरमै बस्न प्रेरित गर्न र विपन्नलाई आर्थिक सहायता दिने निर्णय गरिएको छ । अध्यक्ष नन्दबहादुर पुनले कोरोनाविरुद्ध माइकिङ गर्दै होम क्वारेन्टाइन बस्न सहयोग गरिएको बताए । उनले भारत, कतार र कोरिया लगायतका मुलुकबाट आएकालाई घरमै क्वारेन्टाइनमा बसालिएको छ । राजधानीका इँटा उद्योगबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बसाल्ने निर्णय गरिएको ५ नम्बर वडा भावाङका अध्यक्ष भरतबहादुर बुढाले बताए । रोजगारीका लागि काभ्रेस्थित इँटा उद्योगमा पुगेका करिब डेढ सयलाई बसबाट गाउँ फर्काउन पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।

थबाङ र परिवर्तन गाउँपालिकामा पनि कोरोनाविरुद्ध जनचेतना विस्तार गर्न स्थानीय तह लागेका छन् । दुवै तहका जनप्रतिनिधि सक्रियपूर्वक खटिएका छन् । परिवर्तनका अध्यक्ष निमकान्त डाँगीले भारतबाट २४ जना घर फर्किएको र उनीहरुलाई घरैमा बस्न भनिएको बताए । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को खाँचो भएको र त्यसबारे माथिल्लो तहमा माग गरिएको उनको भनाइ छ ।

थबाङमा पनि कोरोनाविरुद्ध जनप्रतिनिधि र कर्मचारीको संयुक्त पहलमा गतिविधि सञ्चालन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीमगर सुरुदेखि नै जनचेतना फैलाउने अभियानमा जुटेका छन् । जनप्रतिनिधि र कर्मचारीको तलब र पारिश्रमिक मिलाएर सहयोग र उपचार कोष स्थापना गरिएको छ । अपुग भएमा विपद् व्यवस्थापन कोषको रकम प्रयोग गर्न सकिने उनले बताए । नेपालमा पनि कोरोना संक्रमित भेटिएपछि विदेशबाट थबाङमा अहिलेसम्म १५ जना घर फर्किएका छन् भने ६ जनाका लागि क्वारेन्टाइन तयार पारिएको छ ।

लुंग्रीमा भने तयारी कम देखिएको छ । लकडाउन गरिएकाले क्वारेन्टाइनका लागि आवश्यक सामान खरिद गर्न नसकिएकाले अन्योलमा रहनुपरेको अध्यक्ष दुर्गाबहादुर खड्काले बताए । त्यहाँ भारतबाट ४९, कतारबाट ४ जना र दुबईबाट फर्किएका एक जना गरी ५४ जनालाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । गाउँपालिकाको पहलमा २५ वटा क्वारेन्टाइन बनाउने योजना रहेको अध्यक्ष खड्काले बताए । स्थानीयले भने गाउँपालिकाले कोरोनाविरुद्धको गतिविधिमा निकै सुस्त काम गरेको गुनासो गरेका छन् ।

सदरमुकाम लिबाङसहित पूर्वीरोल्पाकै प्रवेशद्वार सुनिलस्मृति गाउँपालिकाको खुंग्री र सुलिचौरमा चेक पोस्ट राखिएको छ । गाउँपालिकामा भारतबाट आएकाहरू ठूलो संख्यामा रहेका छन् । यहाँबाट दक्षिण भारतको केरलादेखि महाराष्ट्र, दिल्ली, चण्डीगढ, हिमाञ्चल लगायतका स्थानमा बर्सेनि हजारौं मानिस कामको खोजीमा पुग्ने गर्छन् । उक्त गाउँपालिकाको वडा नं १ घोडागाउँमा भारतको केरलामा काम गर्न पुगेका सयौं मानिस घर फर्किएका छन् । भारतको केरला कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यहाँ केही भारतीयको मृत्युसमेत भइसकेको छ । गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगरले राजधानीबाट औषधि र अन्य सामान खरिद गरिएको बताए ।

पालिका प्रमुखहरूः नन्दबहादुर पुन, वीरबहादुर घर्तीमगर, आशबहादुर पुन, वीरबहादुर खत्री

गाउँ फर्किएकाबारे सरकारले चासो राख्‍नुपर्छ’

कोरोनाविरुद्धको गतिविधि सञ्चालन भइरहे पनि ठोस कार्यक्रम कसरी सञ्चालन गर्ने बारेमा जनप्रतिनिधि अन्योलमा छन् । सुनछहरीका अध्यक्ष आशबहादुर पुनले प्रदेश र संघले कस्तो खालको गतिविधि सञ्चालन गर्ने भन्नेबारेमा कुनै ठोस योजना नदिएकोमा गुनासो गरे । ‘निश्चित मोडालिटी दिन सकेको भए एकातिर हामीलाई काम गर्न सजिलो हुन्थ्यो भने अर्कातिर सबै तहमा एकरुपता हुन्थ्यो,’ उनले भने, ‘हाम्रा सांसद र मन्त्रीले गाइडलाइनसम्म दिन सकेको भए सहज हुन्थ्यो ।’

गंगादेवका अध्यक्ष बीरबहादुर खत्रीले पनि सांसद र सरकारले यसबेला गाउँको अवस्थाबारे चिन्तित हुनुपर्ने अवस्था रहेको सुझाए । उनका अनुसार स्वास्थ्यकर्मीलाई सुरक्षित पार्न नसके गाउँमा काम हुन सक्दैन । त्यसका लागि चाहिने सामानसमेत सरकारले पठाइदिएको छैन ।

त्रिवेणीका अध्यक्ष शान्तकुमार वलीले पनि ग्रामीण भेगमा आइपरेका समस्या र चुनौतीबारे प्रदेश, संघका प्रतिनिधि र पार्टीका नेतालाई जानकारी गराएको बताए । ‘सबैलाई गाउँ फर्क भनेर सूचना जारी गर्ने सरकारले उनीहरुको अवस्थाबारे चासो राख्नुपर्छ । सम्भावित संक्रमितलाई घर–घर जाऊ भनेर मात्रै पुग्दैन,’ उनको गुनासो छ ।

लुंग्रीका अध्यक्ष दुर्गाबहादुर खड्काले पनि आवश्यक सामान खरिद गर्न नसकिएको बताए । त्यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको उनको भनाइ छ । परिवर्तनका अध्यक्ष निमकान्त डाँगी र माडीका अध्यक्ष नन्दबहादुर पुनको गुनासो पनि उस्तै छ । उनीहरु भन्छन्, ‘यहाँबाट छानिएर सत्तामा पुगेका नेता र सरकारले यस्तो आपत्का बेला गाउ“को याद गर्नुपर्छ । सरकार भएको अनुभूति गराउन हामीलाई चुनौती छ ।’

स्थानीय सरकारप्रति गुनासो

जथाभाबी सडक बनाउन र आफ्ना लागि सुविधा लिन ढिला नगर्ने जनप्रतिनिधिले महामारी बनेको कोरोनाविरुद्ध काम गर्न गरेको ढिलाइ र हेलचेक्रयाइँ गरेको भन्दै स्थानीयले दुःख व्यक्त गरे । लिवाङका एक स्थानीयले भने, ‘हाम्रा जनप्रतिनिधिमा संक्रमण रोक्ने योजना खोइ ?’

अधिकारकर्मी एवं सामाजिक अध्येता खेम बुढामगर भन्छन्, ‘जनताले दुःख पाएका बेला स्थानीय सरकारले मद्दत गर्नुपर्छ । तर, यस्तोमा हेलचेक्रयाइँ देखिएको छ ।’ उनका अनुसार कोरोना भाइरसका डरले घर फिर्ता भएकाहरुलाई क्वारेन्टाइनमा राख्न र बिरामीलाई उपचारमा सहयोग गर्न कन्जुस्याइँ गर्नु अपराध हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कोरोनाविरुद्धको गतिविधिमा जनप्रतिनिधि परिचालित भएकोमा खुसी हुनुपर्ने अवस्था देखिएको बताए । उनका अनुसार सबै तहलाई दैनिक अवस्थाबारे जानकारी गराउन सूचित गरिएको छ । कोरोनाविरुद्ध गतिविधि सञ्चालन गर्न र समीक्षा गर्दै नयाँ योजना निर्माण गर्न दैनिकजसो सुरक्षा समितिको बैठक बस्दै आएको उनले बताए । सम्भावित संक्रमण रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ भने नेपाली सेनालाई सतर्क रहन निर्देशन दिइसकिएको छ । बजारलगायत गाउँसम्मै लकडाउनको पालना गराउन प्रहरी परिचालित छ ।

रोल्पामा बाहिरबाट आएकाको अन्तिम तथ्यांक अझै प्राप्त हुन सकेको छैन । प्रहरीले दुई साताको अवधिमा करिब १० हजार मानिस घर फर्किएको अनुमान गरेको छ ।

प्रकाशित : चैत्र १९, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?