अलपत्र ३९० जना सल्यान फर्किए

विप्लव महर्जन

सल्यान — लकडाउनका कारण विभिन्न जिल्लामा अलपत्र परेका तीन सय ९० जना सल्यान फर्किएका छन् । मजदुरीका लागि गएकाहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सल्यानको जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर फर्काएको हो । 

लमजुङबाट एक सय ३३, कास्कीबाट एक सय १७, पर्वतबाट ८२, गोर्खाबाट ३० र काठमाडौंबाट २८ जना फर्काइएका हुन् ।


कपुरकोटस्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । ‘हिजोसम्म जिल्ला प्रशासन कार्यालयबाट समन्वय हुँदै आएको थियो । आजदेखि सीधै गृहले समन्वय गरेर पठाउने भएको छ,’ उनले भने ।

जिल्ला फर्किएकाहरूको स्वास्थ्य परीक्षण स्थानीय तहले पनि गरेका छन् । उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइन कक्षमा बस्न भनिएको छ ।


२० शय्याको क्वारेन्टाइन कक्ष निर्माण

शारदा नगरपालिकाले खलंगाको लुहापिङस्थित त्रिज माविमा २० शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।

विदेशबाट आएका नागरिकमा कोभिड–१९ को शंका लागे नगर स्वास्थ्य शाखाको निगरानीमा राख्न क्वारेन्टाइन कक्ष बनाइएको नगर प्रमुख सुरेश अधिकारीले बताए । ‘नगरपालिकाले आफ्नै स्रोतसाधन प्रयोग गरेर क्वारेन्टाइन कक्ष बनाएको हो,’ उनले भने ।


जिल्ला अस्पतालले नजिकै क्वारेन्टाइन कक्ष बनाएको छ । त्यहाँ ठाउँ नपुगे नगरपालिकाले बनाएको क्वारेन्टाइन कक्षमा राखिनेछ । नगर प्रमुख अधिकारीले भारत र तेस्रो मुलुकबाट आएकालाई घरभित्रै बस्न आग्रह गरे ।

प्रकाशित : चैत्र १८, २०७६ १३:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कसलाई बढी जोखिमपूर्ण छ कोरोना भाइरस ?

जोगिने उपाय के–के छन् ?
डा. अर्जुनदेव भट्ट

काठमाडौँ — दोस्रो विश्व युद्धपछिको सबभन्दा ठूलो संकट खप्न बाध्य छ अहिले संसार । त्यसमा नेपाल अछुतो रहने प्रश्नै उठ्दैन । तर, यो महासंकटलाई साहसिलो र चनाखो भएर हामी नेपालीले सामना गर्नुको विकल्प छैन । 

यो विश्वव्यापी संकट कोभिड–१९ (कोरोना भाइरस) ले निम्त्याएको संकट हो । २०१९ डिसेम्बरको अन्ततिर नयाँ वर्षको सुरुसँगै चीनको हुवेई प्रान्तको वुहानमा कोरोना भाइरस रोग देखा पर्‍यो । त्यसबेला यसलाई स्थानीय रोग (एन्डेमिक) कै रूपमा मात्र लिइयो । तर, रोग छिटो फैलिँदैं गयो । जब यसले विश्वका थुप्रै देशमा महामारीको रूप लिँदै गयो तब विश्वस्वास्थ्य संगठनले जनवरी ३० मा कोरोनालाई विश्वव्यापीरूपमा स्वास्थ्य क्षेत्रमा देखा परेको आपतकाल भनी पहिचान गर्‍यो । जनस्वास्थ्यको अन्तर्राष्ट्रिय संकट भनी सम्बोधन गर्दै विश्वलाई सजग गरायो ।

११ मार्च २०२० मा यसलाई विश्वव्यापी महामारीकै रूपमा घोषणा गर्‍यो । र, त्यहीअनुरूप संसारका सबै राष्ट्रलाई सतर्क हुन र विभिन्न सावधानी अपनाउन भन्यो ।

अहिले इटाली र स्पेन यो महामारीबाट बढी प्रभावित छन् । संसारका सबै मुलुकमा फैलिसकेको छ । यसबाट मर्नेहरुको संख्या दिनहुँ बढिरहेको छ । ३५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

कोभिड –१९ किन भयोत्पादक ?
जब कोभिड १९ चीनको स्थानीय रोगबाट विश्वको महामारीको रूपमा परिणत भयो तब यसले प्रस्ट संकेत गर्‍यो कि यो संक्रमण निकै छिटो फैलिने क्षमता राख्छ । खास गरेर सहरको बसाइ जहाँ मान्छेहरू सयौं हैन हजारौं र लाखौं एकै ठाउँमा थुप्रिएर रहेका हुन्छन् त्यो भाइरसका निम्ति छिटो फैलिन सघाउ पुग्ने वातावरण हुन्छ ।

त्यसैले यसको नियन्त्रण निम्ति देशभित्र सबै प्रकारका आवतजावतमा पूरै नियन्त्रण गर्नु अनिवार्य छ । त्योसँग संक्रमित पत्ता लगाउनु अर्को औधी महत्वपूर्ण कार्य हो । जुनसुकै कारणले भए पनि पहिचान हुन नसकेका बिरामी देशभित्र छन् भने तिनीहरूको सक्दो छिटो पहिचान अनिवार्य छ । सम्भाव्य बिरामीको पहिचान देशव्यापीरूपमा नै हुनु पर्छ । दक्षिण, पूर्वी र पश्चिम नाकाहरूबाट नेपाल प्रवेश गरेका लाखौं मानिसहरूमध्ये अदृश्य रूपमा कोभिड–१९ रहेको हुनसक्ने सम्भावना नकार्न सकिन्न । त्यसैले बिरामीको पहिचान तथा खोजी प्रत्येक वडावडामा हुनु पर्छ । अहिले संघका तीनै तहका सरकारहरुलाई यो कार्य द्रूत गतिमा अगाडि बढाएर आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि छ ।

संक्रमितबारे थाहा पाउन सबै नागरिक सचेत हुनुपर्छ । कतै आफैंलाई यो रोग लागेको छ भने पनि क्वारेन्टाइनमा बसेर परिवार, समाज, देश र पूरै विश्वलाई जोगाउन योगदान दिन पछि पर्नु हुँदैन ।

ज्वरो आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण भएकालाई पूर्ण एकान्तबास मिलाउनु र उसले प्रयोग गर्ने कुनै पनि सामान अरूबाट अलगमात्र राख्न सके पनि रोग फैलिनमा धेरै कम सम्भावना हुन्छ । यस्ता शंकास्पदको सहयोगमा खटिएकाहरू पनि सक्दो टाढा रहने र अरू मानिससँग हिलमिल नगर्नु उचित हुन्छ । ज्वरो, खोकी लागेकालाई नजिकको चिकित्सकको सल्लाह बमोजिम जाँच तथा उपचार गरिहाल्नु पर्छ । त्यस्ता शंकास्पद कोही देखापरे देशको कुन प्रदेशको कुन वडाको नजिकको अस्पतालमा देखाउने त्यो सूचना प्रत्येक वडामा उपलब्ध गराउन अत्यावश्यक छ ।
वडाका कर्मचारीहरुले त्यस्ता सम्भाव्य बिरामी कसरी ? कहाँ ? कैले ? कोसँग ? पठाउने वा के गर्ने त्यो सूचना प्राप्त गरेको हुनुपर्छ । यो आफैंमा ज्यादै महत्वपूर्ण कार्य साथै गाह्रो र चुनौती पूर्ण कार्य पनि हो । तर जुन अवस्थामा आज देश आइपुगेको छ त्यो चुनौती पूर्ण छ । जुन चुनौती विश्वलाई नै छ । जतिसुकै विकसित देश किन नहोस् यसबाट सहजै कोही उम्कन सक्ने छैनन् । नेपाल कम विकसित भए पनि अनुशासनमा रहने हो भने हामी यो चुनौतीलाई विकसित मुलुकले जस्तै समाधान गर्न सक्छौँं ।

विदेशबाट आएका कसैले पनि मलाई केही हुन्न वा सरकारी संयन्त्रले मलाई कहाँ पो अनुगमन गर्न सक्छ भनेर सेल्फ क्वारेन्टाइनमा बस्नु साटो आफ्ना परिवार, साथीभाइ वा वरिपरिका मानिसलाई रोग फैलाउनुभन्दा आफैंले पूर्णरुपमा १४ दिन वा त्यसपछि पनि सतर्कता अपनाउनु पर्छ । यसबाट आफू, आफ्नो परिवार, समुदाय र मुलुकलाई नै जोगाउन सकिन्छ ।

कोभिड–१९ हाम्रो निम्ति जनस्वास्थ्य प्रणाली बलियो बनाउने मौका पनि हो । सयौं चिकित्सक तथा परिचारिकाहरु काम नपाएर निरुत्साहित तथा उदास भएर मौकाको इन्तजारमा छन् । अहिले हामीले जनस्वास्थ्य नेटवर्क राम्ररी बसाल्न सके निकट भविष्यमा देखापर्न सक्ने यस्ता महामारीसँग जुध्न धेरै सजिलो हुनेछ ।
१९१८ मा देखा परेको स्पेनिस फ्लुको महामारी, २००२ को सार्स, २००३–२०१० को स्वाइन फ्लु, २०१२ को मर्स र २०१९ देखि फैलिएको कोभिड–१९ (कोंरोना भाइरस) को महामारीले प्रस्ट हुन्छ कि आउँदा वर्षहरुमा पनि हामीले यस्ता महामारीसँग जुध्नुपर्ने छ । त्यसैले कामका लागि लालायित तथा उर्जापूर्ण हाम्रा चिकित्सक र परिचारिकाहरुलाई यस्ता महामारीसँग जुध्न चाहिने छोटो प्रशिक्षण दिएर सधैं तम्तयार अवस्थामा राख्नु पर्छ ।

झट्ट हेर्दा कोभिड–१९ सामान्य रुघाखोकी जस्तै छ । तर किन यो बढी भयोत्पादक छ भने यो एकबाट अर्कोमा द्रुत गतिमा (सामान्य रुघाखोकी भन्दा कम्तिमा ३ गुना बढी) सर्ने हुन्छ । कोभिड–१९ रुघाखोकी नै हो तर यो हामीले सधै व्यहोर्दै र कम वास्ता गर्दै आएको भन्दा ४ देखि ८ गुणा खतरनाक हुन्छ । त्यसैले यो रोग लागिसकेपछि बढी कडारुप लिन्छ र निको हुन पनि लामो समय लाग्छ ।

ज्वरो पनि १०२ डिग्रीभन्दा बढी र साथै सास फेर्न गाह्रो हुन्छ । फोक्सोलाई यसले बढी असर गर्ने भएकाले अक्सिजनको मात्रा शरीरमा अपुग भएर गाह्रो हुन्छ । त्यसैले गर्दा ६० नाघेका व्यक्तिमा यो संक्रमणले झनै कडारुप लिन्छ । किनकि, धेरैजसोमा त्यो उमेरपछि फोक्सोको अवस्था केही हदसम्म कमजोर भइसकेको हुन्छ ।
विभिन्न रोगपीडितले कसरी सतर्क हुने ?
उपलब्ध तथ्यांकहरुले देखाएका छन्— ६० वर्षभन्दा बढी उमेर हुनेहरु कोभिड–१९ को बढी जोखिममा हुन्छन् । कोभिड–१९ बाट वृद्ध उमेरका बिरामीमा मृत्युदर पनि संसारमै बढी देखा परेको छ । त्यसबाहेक मधुमेह (६.३५), फोक्सोका बिरामी (७.३५), मुटु तथा धमनीका रोगी (१०.३५), अर्बुद रोग ग्रस्तहरु (५.६५) माझ मृत्युदर बढी पाइएको छ । कुनै कारणले पनि प्रतिरक्षा प्रणाली कमजोर भएकाहरुमा कोभिड–१९ संक्रमण भएमा बढी जोखिमपूर्ण हुन्छन् ।

त्यस्तै मौसमी रुघाखोकी भएका बिरामी पनि उच्च जोखिममा हुन्छन् । किनकि उनीहरुको प्रतिभरक्षा प्रणाली कमजोर हुन्छ । स्वास्थ्यकर्मीहरु लामो समय सम्पर्कमा रहने भएकाले उच्च जोखिम वर्गमा पर्छन् । तर त्यसो भन्दैमा ६० वर्षभन्दा कम उमेरकाहरुमा यो रोगले खासै नराम्रो असर गर्दैन र मृत्यु हुँदैन भन्ने होइन । उनीहरुले पनि उत्तिकै सतर्कता अपनाउनु पर्छ ।

उदाहरणका लागि चीन र इरानमा १ सय ३ वर्षका एकएक बिरामी कोभिड–१९ संक्रमित भएर अस्पतालमा एक हप्ताभन्दा बढी बसेपछि पूर्ण निको भएर घर फर्केका समाचार पनि बाहिर नआएको होइन ।

रोकथाम कसरी गर्ने ?
१. हातको माध्यमबाट यो सर्न सक्ने हुँदा अभिवादन गर्दा हात नमिलाउने ।

२. साबुनपानीले हात राम्रोसँग धुने तथा सेनिटाइजर प्रयोग गर्ने । काममा अथवा घरमा आएपछि सर्वप्रथम हात धोएर मात्र अरू कार्य गर्ने ।

३. हातले आँखा, नाक र मुख नछुने ।

४. खोक्दा वा हाछ्यूँ गर्दा हत्केलाले मुख नढाक्ने । त्यसको निम्ति रुमाल वा भरसक टिस्यु पेपर प्रयोग गर्ने ।

५. अरूको व्यक्तिगत सामान (कलम, मोवाइल तथा कुनै पनि डिजिटल उपकरण आफूले प्रयोग नगर्ने ।

६. मास्क लगाउने । स्वास्थ्यकर्मीहरूले ‘एन ९५’ मास्क प्रयोग गर्ने । यो मास्कले भित्र छिर्न सक्ने भाइरस भएका थुकका कणहरुलाई ९५ प्रतिशत सम्म रोक्छ । जुनसुकै मास्कको प्रयोग गरे पनि त्यस्कै भरमा आफू पूर्णरूपमा सुरक्षित छु भनेर विश्वास गर्नु हुन्न ।

७. आवातजावत बन्द गर्ने । अति आवश्यक नपरी कतै नजाने । सार्वजनिक यातायात बस, प्लेनको यात्रा सक्दो कम गर्ने । नगई नहुने अवस्थामा मात्र घरबाट बाहिर निस्कने । भीडभाड जुनसुकै रूपको भए पनि नजाने ।

शंकास्पद अवस्था— कुनै बिरामी मानिससँग आफ्नो सम्पर्क भएको शंका लागे आफूले आफैलाई एकान्तबास (क्वारेन्टाइन) मा अलग्गै कोठामा १४ दिनसम्म राख्ने र दिनको २–३ पटक ज्वरो आए, रुघाखोकी (खास गरेर सुख्खा) लागे रोग पहिचान निम्ति उपयुक्त ठाउँमा गएर देखाउने । चिकित्सककहाँ जाने सिलसिलामा मास्क लगाउने । रोग नसार्न अरूबाट एक मिटर परै रहने र सरसफाइमा विशेष ध्यान दिने गर्नु पर्छ ।

लेखक वरिष्ट युरोलोजिस्ट हुन् ।

प्रकाशित : चैत्र १८, २०७६ १३:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×