१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कर्णालीमा कोरोना प्रतिरोध तयारी : जुम्लाको स्थिति मजबुत

कलेन्द्र सेजुवाल

सुर्खेत — केही वर्ष अघिसम्म जुम्लामा नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले समय बदलिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामको लागि आकस्मिक अवस्थाको तयारी गरिरहँदा सबैभन्दा मजबुत अवस्था जुम्लामा देखिएको छ ।

कर्णालीमा कोरोना प्रतिरोध तयारी : जुम्लाको स्थिति मजबुत

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर आइसोलेसन, आईसीयू र भेन्टिलेटर बेडको संख्या ३ सय ६३ रहेको छ । तीमध्ये १ सय ३५ बेड जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा ८९ बेड रहेका छन् । मन्त्रालयका अनुसार हालको अवस्थामा प्रदेशभरि आईसीयू संख्या १७ वटा रहेको छ । तीमध्ये १० वटा जुम्लामा, ५ वटा सुर्खेतमा र २ वटा दैलेखमा छन् । ७ वटा भेन्टिलेटरमध्ये ५ जुम्लामा र २ सुर्खेतमा छन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोरोना संक्रमणलाई मध्यनजर गर्दै १ सय २० आइसोलेसन र १०-१० वटा आईसीयू तथा भेन्टिलेटर थप्ने तयारी भइरहेको बताए । ‘यसको लागि हामीले प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेट माग गरिरहेका छौं,’ उनले भने, ‘प्रतिष्ठानलाई कोरोना उपचारको लागि कर्णालीकै केन्द्र बनाउने हाम्रो योजना छ ।’

प्रतिष्ठानमा जनशक्ति पनि पर्याप्त छ । रजिष्ट्रार काफ्लेका अनुसार ३२ जना विशेषज्ञसहित ५५ चिकित्सक कार्यरत रहेका छन् । ६ जना चिकित्सकलाई सुर्खेत, दैलेख, रुकुमपश्चिम, हुम्ला र कालीकोटमा काजमा पठाइएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार १ करोड बजेटसहित आइसोलेसन अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेपछि प्रतिष्ठानको योजनामा थप बल पुगेको छ । सरकारको तर्फबाट प्रतिष्ठानलाई आइसोलेसन अस्पताल बनाउने योजनाको संयोजक तोकिएका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी आइसोलेसन, आईसीयू र भेन्टिलेटर हालको भन्दा दोब्बर पार्ने गरी योजना बनाइएको बताउँछन् । ‘प्रविधि र जनशक्तिको हिसाबले प्रतिष्ठान नेपालकै राम्रो अस्पतालमा स्थापित भइसकेको छ,’ उनले भने, ‘कोरोनाको संक्रमणको बेला यसले हामीलाई थप भरोसा दिएको छ ।’ कर्णालीमा कोरोनाको संक्रमण भित्रिहालेको अवस्थामा साविक कर्णालीको लागि जुम्लास्थित प्रतिष्ठान र तल्लो बेल्टको लागि सुर्खेतस्थित प्रदेश अस्पताललाई उपचार केन्द्र बनाइने उनले बताए ।

संक्रमण भएको मुलुकबाट ८ हजार ६५० आए, ३०० मात्रै क्वारेन्टाइनमा

कर्णालीमा प्रदेशभर २ हजार ५ सय २८ बेडको क्वारेन्टाइन निर्माण भएको छ । स्थानीय तहमा २ हजार २८ र जिल्ला तथा प्रदेशमा ५ सय बेडको क्वारेन्टाइन निर्माण भएको हो । संक्रमित मुलुकबाट आएका मान्छेहरु भने क्वारेन्टाइनमा नभई घरमै बसिरहेका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मुलुकबाट आएका नागरिकको संख्या ८ हजार ६ सय ५० रहेको छ । यीमध्ये करिब ३ सयजना मात्र क्वारेन्टाइमा बसिरहेका सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘अहिले पनि मान्छेलाई क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ,’ उनले भने, ‘यो संख्या बढ्न सक्छ ।’

हालसम्म संकलित तथ्यांकअनुसार विदेशबाट आउने सबैभन्दा बढी संख्या जुम्लामा छन् । त्यहाँ ५ हजार ८० व्यक्ति विदेशबाट आएका छन् । हुम्ला, डोल्पा, कालीकोट र मुगुमा विदेशबाट आएका व्यक्तिको संख्या प्राप्त भएको छैन । यो तथ्यांक स्थानीय तहमार्फत संकलन गरिएको मन्त्री रावलले बताए ।

क्वारेन्टाइन पर्याप्त बने पनि आइसोलेसन बेड, आईसीयू र भेन्टिेलटरको भने अभाव रहेको छ । हालसम्म संघ, प्रदेश र स्थानीय मातहतका स्वास्थ्य संस्थामा ३ सय ३९ आइसोलेसन बेड तयार भएका छन् । प्रदेश सरकारले सुर्खेतको कर्णाली प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रूपमा विकास गर्ने भएकोले यो संख्या बढ्ने मन्त्री रावलको भनाइ छ । आइसोलेसनसहित अन्य सेवा सुविधा थप्नको लागि प्रदेश अस्पताल र प्रतिष्ठानलाई एक–एक करोड तथा चौरजहारी अस्पतालाई ५० लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ

कर्णालीमा कोरोना परीक्षणको लागि ल्याब नहुँदा समस्या भइरहेको छ । स्वाबको नमुना संकलन गरेर काठमाडौं पठाउनु पर्ने बाध्यता छ । रिपोर्ट आउन करिब ३–४ दिन लाग्ने गर्छ । मन्त्री रावलका अनुसार हालसम्म १७ जनाको नमुना पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

जुम्लास्थित प्रतिष्ठानको अस्पतालमा २ जना बिरामीलाई राखिए पनि स्वाब परीक्षणको लागि पठाउन नसकिएको रजिष्ट्रार काफ्लेले बताए । ‘चिन्ह–लक्षण मिल्ने भएरै आइसोलेसनमा राखिएको हो, तर स्वाबको नमुना परीक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘जहाज र गाडी चल्दैनन्, कसरी पठाउनु ?’ चार दिनअघि भर्ना गरिएका उनीहरूको अवस्थामा केही सुधार भइरहेको उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?