३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘किरिया कर्म’मा गएकासहित ६७ जना क्‍वारेन्टाइनमा

तुलाराम पाण्डे

(कालीकोट) — आफन्तको ‘किरिया कर्म’मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र पलातामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

‘किरिया कर्म’मा गएकासहित ६७ जना क्‍वारेन्टाइनमा

खाडाचक्र–३, ताडीबाट सान्नीत्रिवेणी–३, कयारीकी काशीकला देवकोटाको पुण्यतिथिमा सहभागी १६ जनालाई क्वारेन्टाइनमा राखिएको हो वडाध्यक्ष महावीर पाण्डेले बताए । उनीहरुलाई खाडाचक्र–३, ताडी बसपार्क नजिकैको एभरेष्ट कर्णाली होटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।


आफूहरुमा कुनै स्वास्थ्य समस्या नभए पनि सरकारले घर बस्न नदिएको पीडितको गुनासो छ । ‘आफन्तको किरियाकर्ममा जाँदासमेत क्वारेन्टाइनमा राखियो,’ क्वारेन्टाइनमा बसेकी अम्मा पाण्डेले भनिन्, ‘सरकारले बेकारमा दुःख दियो ।’


कालीकोटमा आइतवारसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । सबै पालिकाबाट २५ जनालाई डिस्चार्ज गरिएको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला अस्पतालमा ४, प्राथमिक उपचार केन्द्र कुमालगाउँमा ५, स्युनामा ४ र ओदा फाउन्डेसनमा १ गरी १४ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ । क्वारेन्टाइनका लागि ७१ स्थानमा ६ सय १९ बेड निर्माण गरिएको कार्यालयले जनाएको छ ।


जिल्लाका सबै पालिकाले पायक पर्ने स्थानमा क्वारेन्टाइन निर्माण गरेका छन् । तर, अधिकांश क्वारेन्टाइनमा न्यूनतम मापदण्ड नै नभएको स्थानीयको गुनासो छ । .‘धेरै क्वारेन्टाइनमा पानी, बत्ती र पर्याप्त लुगा नै छैनन्,’ नागरिक अगुवा कालीबहादुर मल्लले भने ।


कालीकोट र दैलेखको सिमानाको दहीखोलामा सञ्चालित हेल्थ डेस्कमा अहिलेसम्म ३ हजार ८ सय ८६ जनाको ज्वरो परीक्षण गरिएको कार्यालयका सूचना अधिकारी महतले बताए । उनका अनुसार भारतबाहेक अन्य मुलुकबाट ४० जना जिल्लामा भित्रिएको तथ्यांक छ । कालीकोट र जुम्ला सिमानाको नाग्ममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प डेस्क स्थापना गरेको छ ।


कालीकोटका ९ वटै स्थानीय तहले सचेतनाका कार्यक्रमसहित साबुन र मास्क वितरणलाई अभियानको रुपमा सञ्चालन गरेका छन् । भारतबाट फर्किनेको सिजन सुरु भएकाले विशेष सर्तकता अपनाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार अटेरी गर्नेमाथि प्रहरीले बल प्रयोग गरिरहेको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?