१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्वारेन्टाइनमा १९ थरी सामान, १४ बुँदे आचारसंहिता [तस्बिरहरु]

कलेन्द्र सेजुवाल

सुर्खेत — एकजना व्यक्तिलाई दैनिक जीवनमा बिहानदेखि साँझसम्म के–के चिज चाहिन्छ ? नेपाली सेनाले वीरेन्द्रनगरस्थित खुलामञ्चमा बनाएको क्वारेन्टाइनमा ती सबै उपलब्ध छन् । बिहान उठ्ने बित्तिकै आवश्यक पर्ने टुथ ब्रसदेखि साँझ सुत्दा लगाइने झुल र मस्क्युटो क्वायल, पानी पिउनलाई तामाको लोहोटादेखि बस्नलाई प्लास्टिकको कुर्सी । चाइनिज टेन्टभित्र यीसहित १९ थरी सामान राखिएका छन् ।

क्वारेन्टाइनमा १९ थरी सामान, १४ बुँदे आचारसंहिता [तस्बिरहरु]

यो सब देखेपछि कर्णाली प्रदेश सरकारकी प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले नेपाली सेनाका उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणालाई हौस्याउँदै भनिन्, ‘क्वारेन्टाइन त बसौं–बसौं बनाउनु भएछ, हामी पनि यहीँ आएर बस्नुपर्छ कि क्या हो ?’

पृतनापति राणाले लकडाउनको अवस्थामा पनि आधारभूत आवश्यकता पूरा हुने गरी क्वारेन्टाइन तयार पारिएको बताए । उनका अनुसार सोमबारदेखि दैनिक ४ सय जना सैनिकले दिनरात लगाएर क्वारेन्टाइन तयार पारेका हुन् । लकडाउन भएपछि सुर्खेतमा पहिलो व्यवस्थित क्वारेन्टाइन बनेको उनले बताए । प्रदेश सरकारले सेनालाई ४ सय बेडको क्वारेन्टाइन बनाउन जिम्मा दिएको थियो । शनिबार साँझसम्म १ सय २५ बेडमा मान्छेहरु बसिसकेका छन् । बाँकी बेडमा आधारभूत सामान जोहो गर्ने काम भइरहेको छ ।

सेनाले बनाएको क्वारेन्टाइनमा एउटा टेन्टभित्र एकजनामात्र बस्नेछन् । बच्चासहितका आमाको लागि टेन्टभित्र दुईवटा बेड व्यवस्था गरिएको छ । प्रत्येक टेन्टको बाहिर हात धुनलाई साबुन र पानी राखिएको छ । भित्र रहेका सामानको सूची यस्तो छ– खाट, ब्ल्याङ्केट, बेड कभर, झुल, डस्टबिन, साबुन, साबुन केस, मिनिरल वाटर, गिलास, टुथपेस्ट, टुथ ब्रस, रुमाल, बाल्टिन, .जग, तामाको भाँडा, मस्क्युटो क्वायल, ट्वाइलेट पेपर, चप्पल र प्लास्टिकको कुर्सी ।

क्वारेन्टाइन निर्माणमा खटेका पृतनाका कर्नेल झुलेन्द्रविक्रम बस्नेतका अनुसार प्रत्येक १५ टेन्टको लागि पश्चिमपट्टि शौचालय र स्नानघरको व्यवस्था गरिएको छ । त्यहाँ चौबीसै घन्टा पानीको व्यवस्था हुनुका साथै आवश्यक सबै सामग्री राखिएका छन् । ‘यो त कुनै स्तरीय होटलको भन्दा कम्ति राम्रो छैन,’अनुगमनमा पुगेकी मन्त्री केसीले भनिन्, ‘यो संरचना त खुलामञ्चमा भोलिका दिनमा पनि स्थायी रुपमा प्रयोग गर्न सकिन्छ ।’

क्वारेन्टाइनमा बस्नेहरुको लागि होटलमा तयार पारिएको खाना प्याकिङ गरी वितरण गरिनेछ । ‘खाना संकलन केन्द्र’मा पालैपालो खाना लगेर खानुपर्ने छ । टेन्टमा बस्नेको नाम, उमेर, ठेगाना र सम्पर्क नम्बर राखिएको छ ।

क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । क्वारेन्टाइन वरिपरि १० वटा सुरक्षा पोष्ट राखिएका छन् । क्वारेन्टाइन भित्र कुनै शान्तिमा खलल पुर्‍याउने घटना भए त्यसको समाधानको जिम्मा नेपाल प्रहरीले लिने कर्नेल बस्नेतले बताए ।

क्वारेन्टाइनमा बस्नेहरुको लागि १४ बुँदे आचारसंहिता पनि बनाइएको छ । सबैले सम्मानजनक र नम्र व्यवहार गर्नुपर्ने, नशालु र मादक पदार्थ सेवन गर्न नहुने, कुनै पनि बाह्य व्यक्ति पेरिमिटरभित्र आएमा सचेत गराउने, सभ्य र शोभनीय पोसाकमात्र लगाउनुपर्ने, अशिष्ट र असभ्य व्यवहार गर्न नहुनेजस्ता कुरा लेखिएको आचारसंहिता बोर्ड टाँसिएको छ । यसबारे सबैलाई एक–एक गरी सम्झाइने पनि कर्नेल बस्नेतले बताए । क्वारेन्टाइनमा अग्लो पिलरमा दुईवटा माइक राखिएका छन् । मनोरन्जनको लागि बिहानी भजनदेखि गीत संगीत बजाइने छन् । कोरोना सम्बन्धी सचेतामूलक जानकारी, रेडियोको समाचार र भित्र बस्ने व्यक्तिहरुलाई आवश्यक सूचना प्रदान गर्न माइक प्रयोग गरिने उनले बताए । उनका अनुसार क्वारेन्टाइनमा नेपाली सेना र प्रदेश सरकारका ५ जनाको संयुक्त मेडिकल टिम क्वारेन्टाइन क्याम्पमा रहनेछ । यी बाहेक अन्यलाई प्रवेश निशेध गरिने सेनाको भनाइ छ ।

सेनाले ३ वटा खण्डमा क्वारेन्टाइन निर्माण गरेको छ । खण्ड ‘क’ र खण्ड ‘ख’मा १सय ५ को दरले २ सय १० तथा खण्ड ‘ग’मा १ सय ९० टेन्ट रहेका छन् । शनिबारसम्म खण्ड ‘क’का सबै र खण्ड ‘ख’का ३० गरी १ सय ३५ टेन्ट बस्नको लागि तयारी भएको कर्नेल बस्नेतले बताए । उनका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा रहेका १ सय २५ जनालाई क्वारेन्टाइनमा सारिसकिएको छ । बाँकी टेन्टमा पनि खाट र सामान राख्न बाँकी रहेको उनले बताए ।

क्वारेन्टाइनमा बस्न पुगेका व्यक्तिहरु पनि त्यहाँको बन्दोबस्ती देख्दादंग परे । ‘सुत्न–बस्न राम्रो रहेछ, अब त मज्जासँग बस्ने भइयो, बरु वाइफाइ छ कि छैन कुन्नी ?’ लेकबेसी–९, सुर्खेतका २० वर्षीय सन्तोष इलानले आफ्नो टेन्टभित्र पस्दै भने, ‘हिजो अस्ति त निकै दु:ख पाइयो ।’

भुनभुनाउँदै क्वारेन्टाइनमा पसेकी सुर्खेत, छिन्चुकी बिर्मा राई पनि टेन्टभित्र पसेपछि सेलाइन् । ‘बाहिरबाट हेर्दा त रिस उठ्यो, भित्र राम्रो रैछ,’उनले भनिन्, ‘मलाई कोरोना–सोरोना त छैन, तैपनि सरकारले यति राम्रो ठाउँमा बसालेपछि किन घर जानु ?’

प्रकाशित : चैत्र १५, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?