२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

छत्रेश्वरी गाउँपालिकाले विपन्न मजदुरलाई खाद्यान्न दिने

विप्लव महर्जन

सल्यान — कोभिड–१९ को जोखिम रोकथामका लागि सरकारले देशव्यापी रुपमा लकडाउन गरेपछि सबभन्दा बढी मारमा परेका विपन्न मजदुरलाई छत्रेश्वरी गाउँपालिकाले खाद्यान्न सहयोग गर्ने भएको छ । राहत कार्यक्रम अन्तर्गत कोही मजदुर भोकै बस्न नपरोस् भन्दै गाउँपालिकाले विपन्न मजदुरलाई खाद्यान्न सहयोग गर्ने भएको हो ।  

छत्रेश्वरी गाउँपालिकाले विपन्न मजदुरलाई खाद्यान्न दिने

खाद्यान्न सहयोगका लागि गाउँपालिकाले सम्बन्धित वडा अध्यक्षसँग समन्वय गरेर विपन्न मजदुर परिवारको तथ्यांक संकलन गरिरहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । महामारी र लकडाउनका बेला मजदुरी गर्न नपाउँदा दैनिक काम गरेर गुजारा चलाउने विपन्न श्रमिक भोकै बस्नु पर्ने अवस्था देखिएकाले खाद्यान्न सहयोग कार्यक्रम अगाडि सारेको उनले जानकारी गराए । ‘दैनिक मजदुरी गरेर कमाएको रकमले बिहान बेलुकीको खर्च जुटाउने मजदुर धेरै छन् । उनीहरु मजदुरीबाट बञ्चित भएपनि दुई छाक खानबाट बञ्चित नहुन् भन्ने हामी चाहन्छौ’ उनले भने ‘परिवारको अवस्था हेरेर खाद्यान्न उपलब्ध गराउने छौं ।’

विपन्नको लगत संकलनसँगै खाद्यान्न जुटाईरहेको उनले जानकारी गराए । विपन्न परिवारको जीविकोपार्जनको जिम्मा सरकारले गरेको लकडाउन अवधिभर गाउँपालिकाले लिने उनले बताए । उनले पालिकाभित्रका स्थानीयलाई घरमै बस्न, भिडभाड नगर्न र आफन्त तथा साथीभाईसँग भेटघाट समेत नगर्न आग्रह गरेका छन् ।

सरकारले एक सातालाई देशव्यापी लकडाउन गरेपनि त्यसको अवधि थप गर्ने देखिएकाले उक्त अवधि भित्र सबै विपन्न मजदुरलाई खाद्यान्न उपलब्ध गराइसक्ने उनले दाबी गरे ।

छत्रेस्वरीमा ४ हजार ४ सय ८ घरधुरी रहेका छन् । यहाँको गरिबी दर ३२.९८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : चैत्र १५, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?