२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कर्णालीको क्वारेन्टाइन : एउटै बेडमा दुईजना, मास्कको सट्टा गलबन्दी

कलेन्द्र सेजुवाल

सुर्खेत — जुम्ला, हिमा गाउँपालिका–१ का भैरव रोकायाको दैनिकी चार दिनदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित होटल अशोकाको एउटा कोठामा बितिरहेको छ । होटलको ‘भीआइपी’ कोठामा उनीसहित चारजना बस्छन् । कोठाको बाहिर (वेटिङ कक्षमा) दुईजना र भित्र दुईजना । दुईजना सुत्ने बेड भने एउटा मात्रै छ ।

कर्णालीको क्वारेन्टाइन : एउटै बेडमा दुईजना, मास्कको सट्टा गलबन्दी

‘बेड ठूलो छ, त्यसैले खासै समस्या छैन,’ रोकायाले भने, ‘बरु यहाँबाट घर जान दिएको भए खुशी हुने थियौं, बेकारमा फँसियो ।’

कर्णाली प्रदेश सरकारले एक हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गरे पनि समयमै निर्माण हुन नसक्दा भारतबाट आएका भैरवजस्ता व्यक्तिलाई होटलमा राखिएको छ । २८ कोठा भएको होटल अशोकामा ७८ जना बसिरहेका छन् । वीरेन्द्रनगरकै जन माध्यमिक विद्यालयमा २४ र अन्तरनिर्भर समाजको होस्टेलमा थप २४ जना बसिरहेका छन् ।

खानाको व्यवस्था राम्रो भए पनि स्वास्थ्य परीक्षण, सामाजिक दूरी कायम गर्नेलगायतमा सजगता अपनाइएको छैन । उनीहरूलाई मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको हो ।

शनिबार होटल अशोकामा पुग्दा दुईजना महिला स्वास्थ्यकर्मी क्वारेन्टाइमा बसेका व्यक्तिको ज्वरो नाप्दै थिए । एक जनामा तीन दिनदेखि १०० डिग्रीको आसपास ज्वरो देखिएको स्वास्थ्यकर्मीले बताइन् । ‘हामीले समयमै सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं, आइसोलेसनमा राख्नुपर्ने हो, खै किन राखिएको छैन,’ उनले भनिन्, ‘अरु व्यक्तिमा खासै समस्या छैन ।’

होटल सञ्चालक चिन्तामणि शर्माले क्वारेन्टाइनमा भएको हेलचेक्राइको थप बेलिबिस्तार लगाए । उनका अनुसार अहिलेसम्म स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू होटलभित्र बसोबासको अवस्था कस्तो छ भनेर हेर्न गेटबाट भित्र छिरेका छैनन् । मास्क र पन्जासमेत आफूले ल्याएर दिएको उनले बताए । ‘क्वारेन्टाइनमा बसेका मान्छेलाई परामर्श गर्ने र सचेत बनाउने त टाढाको कुरा, उनीहरूको नजिक जानसमेत डराउँछन्,’ उनले भने, ‘कोठाभित्र कसरी बसिरहेका छन्, स्वास्थ्यबारे कत्तिको सावधानी छ भन्नेबारे कसैको वास्ता छैन ।’ स्वास्थ्यकर्मीले गेटबाहिर बसेर ज्वरो नाप्ने र सुरक्षाकर्मीले टाढाबाट पहरा दिनेबाहेक अरु काम नगरेका उनले बताए । स्यानिटाइजर राख्न, होटलमा स्प्रे गर्न सुझाव दिँदा पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

गेटमा ज्वरो नाप्ने काम भइरहेको बेला जिल्ला जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्ले स्वास्थ्य सामग्री बाँड्न आइपुगे । ज्वरो नाप्न लाइनमा लागेका व्यक्तिहरू भने गलबन्दीले मुख छोपिरहेका थिए । होटल सञ्चालक शर्माले तीमध्येका एकजना लंक रावतलाई आफूसँग भएको मास्क दिए । त्यसपछि उनको प्रतिक्रिया थियो, ‘मास्कभन्दा त यही (गलबन्दी देखाउँदै) ठिक छ, तर घाममा बस्ने व्यवस्था भइदिएको भए राम्रो हुने थियो ।’

नियमित मासु–भात

स्वास्थ्यमा लापरबाही भए पनि होटलमा खानाको प्रबन्ध भने राम्रो छ । बिहान ८ बजे चिया–बिस्कुट, १२ बजे भात–मासु, दिउँसो ५ बजे चिया–बिस्कुट र राति खाना दिने गरिएको भैरवले सुनाए । ‘खाना त मिठो–मसिनो पाएकै छौं,’ उनले भने, ‘तैपनि कति दिनसम्म थुनिएर बस्नु पर्ने हो थाहा छैन ।’

होटल सञ्चालक शर्माले नियमित कर्मचारीहरू बिदामा गएकाले बाहिरबाट मान्छे ल्याएर खाना पकाउने गरेको बताए । चामल स्टक रहेको भए पनि तरकारी र तेल दोब्बर मूल्य तिरेर खरिद गर्नुपरेको उनको भनाइ छ । ‘रातारात होटल खोल्न लगाएर भित्र हुल्ने काम भयो, अहिले हैरानी भएको छ,’ उनले भने, ‘आज–भोलि सार्ने भन्दै चार दिन बितिसक्यो, अझै कति दिनसम्म बसाल्नु पर्ने हो थाहा छैन ।’

क्वारेन्टाइन निर्माणमा ढिलाइ

प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा वीरेन्द्रनगरस्थित खुलामञ्चमा ४ सय बेडको क्वारेन्टाइन बनाइसकेको छ । तर बत्ती, पानी, शौचालयजस्ता आधारभूत संरचना निर्माणमा ढिलाइ हुँदा सार्न नसकिएको कर्णाली सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । संभवतः आज (शनिबार) होटलसहित विभिन्न ठाउँमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा सारिने उनको भनाइ छ ।

प्रकाशित : चैत्र १५, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?