१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भारतबाट फर्किएका ५५ जना क्‍वारेन्टाइनमा

तुलाराम पाण्डे

(कालीकोट) — कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न कालीकोटका चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

भारतबाट फर्किएका ५५ जना क्‍वारेन्टाइनमा

कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालीकोट अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ ।


चार दिनअघि कालीकोट र दैलेखको सिमाना दैखोलामा स्वास्थ्य सेवा कार्यालयको अगुवाइ तथा यहाँका नौ वटै स्थानीय तहको सहयोगमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको थियो । त्यसयता भारतबाट मजदुरी गरेर कालीकोट फर्किनेको संख्या दुई सय ३७ जना रहेको कालिकोट प्रहरीका डीएसपी श्यामबाबु ओलियाले बताए । भारतबाट घर फर्किएकाहरु सबैलाई क्वारेन्टाइनमा बस्न सल्लाह दिए पनि नमानिरहेका उनको भनाइ छ ।


उनका अनुसार सामान्य लक्षण देखिएका सबैलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न भनिएको छ । यहाँको सान्नीत्रिवेणी गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाटास्थित विद्याज्योतिमा माविमा, १४ जनालाई डाँडाखेतस्थित कालिका माविमा र ७ जनालाई मुम्रास्थित डाँफे माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए । उनले भारतबाट फर्किएका सबैलाई १४ दिनसम्म परिवारबाट छुट्टै बस्न भनिए पनि अटेर गरेको सुनाए ।


जिल्लाभर ६ सय १९ वटा क्वारेन्टाइन बेड

पलाँता गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकमार्फत भारतबाट फर्किएका सबैलाई घरसम्मै खोजेर क्वारेनटाइनमा ल्याई राख्ने र त्यसका लागि खान, बस्न लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरेको छ । ज्याला, मजदुरीको लागि यहाँका धेरै मानिस भारत जाने गरेका छन् । खीन र भौलागोहका प्राय: सबै घरका पुरुष मौसमी कमाइ गर्न भन्दै सीमापार जाने गर्दछन् ।


उक्त गाउँपालिकाले एक सय ८० बेड क्यारेन्टाइनको लागि तयार पारेको जनाएको छ । कोरोना रोकथामका लागि ६० लाख बजेट खर्च गर्ने निर्णय पनि गरेको छ ।


यसैगरी, खाडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले एक सय, सान्नीत्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा गरी जिल्लाभर ६ सय १९ बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ ।


सरकारले घोषणा गरेको लकडाउनको स्थानीयले पालना गरेको प्रजिअ कृष्णचन्द्र पौडेलले बताए । उनले हालसम्म बजारमा दैनिक उपभोग्यवस्तुको अभाव भइनसकेको दाबीसमेत गरे ।


यहाँका सबै स्थानीय तहले साबुन र मास्कसमेत वितरण गरिरहेका छन् । पलाता गाउँपालिकाले २० हजार थान मास्क ल्याएर वितरण थालेको जनाएको छ । पलाताले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पलाता निर्माण कार्य दलका सदस्यलाई दैनिक भत्ता दिने पनि भनेको छ । यसअघि ‘सुन्दर र समृद्ध कालीकोट अभियान’का अभियन्ता तथा तरुण महामन्त्री भूपेन्द्रजंग शाहीले एक हजार थान मास्क वितरण गरेका थिए । कोरानाको जोखिम बढी हुने स्वास्थ्यकर्मीका लागि मास्क पर्याप्त नभएको गुनासो यद्यपि कायम छ ।

प्रकाशित : चैत्र १४, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?