भारतबाट आएका ६ जना क्वारेन्टाइनमा
जुम्ला — भारतबाट आएका ६ जनालाई पातारासी गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले उनीहरुलाई कर्णाली इन्स्टिच्युटले तयार गरेको क्वारेन्टाइनमा राखिएको हो ।
रोजगारको सिलसिलामा भारतमा गएकाहरु गाउँ फर्कन थालेपछि पातारासी गाउंपालिकाले उर्थ चौतारामा हेल्थ डेक्सको स्थापना गरी गाउँपालिका प्रवेश गर्ने सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै आउन दिइएको अध्यक्ष लक्षिमन बोहोराले बताए ।
‘एक साता अघि भारतबाट आएकाहरुलाई घरमै सुरक्षित बस्न आग्रह गरेका छौ,’ उनले भने, ‘लकडाउनको बेला भारतबाट आएका ६ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौ । ’ पालिकाभित्र छिर्ने सबैको रेकर्ड राख्ने व्ज्यवस्था समेत उर्थु चौताराको हेल्थ डेक्समा गरिएको छ ।
त्यस्तै बुधबारमात्रै जुम्लाको सिमाना नाग्मबाट ३ सय ४० जना जिल्ला भित्रिएका छन् । नाग्म हेल्थ डेक्समा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी नन्दराज उपाध्यायका अनुसार ६ जना चिनियाँहरुले पनि आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।