२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कतार एयरमा आएका युवा ‘सेल्फ क्‍वारेन्टाइन’मा

विप्लव महर्जन

(सल्यान) — कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित युवती चढेको कतार एयरको जहाजमा आएका एक व्यक्ति घरमै क्‍वारेन्टाइनमा बसेका छन् । दार्मा गाउँपालिका–१, गोडबाङका २५ वर्षीय युवक चैत ४ गते दोहाबाट काठमाडौं उत्रेका थिए ।

६५२ नम्बरको उडानमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा संक्रमण भेटिएपछि ती युवा छुट्टै घरमा बसिरहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार ती युवा काठमाडौंबाट गाउँकै छिमेकीसँग बस चढेर जिल्ला पुगेका थिए । ‘उनी चढेको बस नम्बर भने पत्ता लगाउन सकिएको छैन,’ प्रहरी निरक्षक ओलीले भने, ‘अहिलेसम्म ती व्यक्तिमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।’


ती व्यक्ति स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा परिवारसँग अलग्गै घरमा रहेका छन् । दार्माकोटका स्वास्थ्यकर्मी आकाश चन्दले क्‍वारेन्टाइन कक्षमा राखिएका ती युवालाई हालसम्म कुनै लक्षण नदेखिएको बताए । उनीसँगै बसमा आएका अर्का युवालाई पनि निगरानीमा राखिएको उनको भनाइ छ । ‘यी दुई व्यक्ति कहाँ, कोसँग सम्पर्कमा पुगे भन्नेबारे पनि हामीले बुझिरहेका छौं,’ उनले भने, ‘आवश्यक पर्‍यो भने नमुना परीक्षणको लागि पठाउनेबारे पनि सोचिरहेका छौं ।’


चैत ४ गते काठमाडौं उत्रिए पनि ती युवा सोमबारमात्र काठमाडौंबाट रुकुमको झुलनेटा–नुवाकोट हुँदै राति १० बजे घर पुगेका दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । ‘कहिँकतै चेकजाँच नगराई यात्रुबाहक गाडीमा घर पुगेको थाहा पाएपछि हामीले स्वास्थ्यकर्मीको टोली खटाएर उनको अवस्था बुझ्न लगाएका थियौं,’ उनले भने, ‘उनलाई आफन्त र साथीभाइसँग भेटघाट गर्न र छिमेकीलाई घरबाहिर निस्कन रोक लगाएका छौं ।’


वैदेशिक रोजगारीको लागि खाडी मुलुक र भारतमा गएकाहरुको कारण गाउँमा जोखिम भने रहेको उनले बताए । ती युवाका बुवाले घरमा छोरासँग निकै सावधानी अपनाइरहेको बताए । गाउँपालिका र स्वास्थ्यकर्मीसँग पनि नियमित परामर्शमा रहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?