१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतबाट आएका ३९ जनालाई मंगलसेन क्‍वारेन्टाइनमा राखिने

मेनुका ढुंगाना

अछाम — सीमा नाकामा अलपत्र परेपछि प्रदेश र केन्द्र सरकारको समन्वयमा गृह जिल्ला पठाइएका ३९ जना यात्रुलाई मंगलसेनमा क्वारेन्टाइनमा राखिने भएको छ । 

भारतबाट आएका ३९ जनालाई मंगलसेन क्‍वारेन्टाइनमा राखिने

साविकको कृषि विकास कार्यालयको भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । लकडाउनपछिको समयमा भारतबाट अछाम आउनेहरुलाई मंगलसेनमा नै राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।


‘सम्बन्धित स्थानीय तहको जिम्मा लगाउँदा मान्छेहरु बीच बाटोबाटै हराउने सम्भावना भएकाले मंगलसेनमा नै राख्ने व्यवस्था गर्दैछौं,’ उनले भने, ‘धेरैपछिको समयमा गाउँमा जाने भएकाले भेटभाट गर्ने, चहलपहल गर्ने सम्भावना धेरै हुन्छ ।’


क्वारेन्टाइनको समन्वय मंगलसेन नगरपालिकाले गरेको छ । बुधबार अछाम आएका ३९ जनालाई क्वारेन्टाइनमा राख्न नेपाली सेनाको सहयोगमा व्यवस्थापन भइरहेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले बताए । क्वारेन्टाइनमा बस्नेहरुका लागि खानालगायतको व्यवस्था भइसकेको बोहराले बताए ।


चैत ५ गतेदेखि १० गतेसम्म दिउँसको समयमा मात्रै चौखुट्टे, बेलखेत र साँफेबगर एयरपोर्टबाट आएका ३ हजार ८ सय ९१ मध्ये ४२ जनालाई ज्वरो देखिएको स्वास्थ्य प्रमुख झनक ढुंगानाले बताए । उनीहरुमध्ये धेरैजनासँग सम्पर्क नम्बर नभएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन कठीन भएको उनले बताए ।


‘भारतबाट आएका अधिकांशसँग फोन नम्बर नभएकाले समस्या भएको छ । ज्वरो देखिएका यात्रुहरु ठेगाना सबै राखेर सम्बन्धित तहका स्वास्थ्य संयोजकलाई जानकारी गराएका छौं,’ उनले भने, ‘जनचेतनाका क्रियाकलाप अगाडि बढाउन स्थानीय तहलाई आग्रह गरेका छौं ।’


धेरैजसो यात्रु रातिको समयमा सार्वजनिक यातायात, रिजर्भ, निजी सवारीसाधन प्रयोग गरेर आएकाले सबैको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नसकेको उनले बताए । उनका अनुसार कोरोना भाइसरको त्रास फैलिएपछिको समयमा भारतबाट मात्रै १५ हजारभन्दा बढी यात्रु भित्रिएका छन् ।


जिल्ला अस्पताल मंगलसैनमा तयार पारिउका आइसोलेशन वेड ः तस्बिर मेनुका ढुंगाना कान्तिपुर


प्रकाशित : चैत्र १२, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?