१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुसीकोट दरबार हेर्न घुइँचो

रुकुम पश्‍चिम — मुसीकोट नगरपालिका–४ मा रहेको मुसीकोट दरबार हेर्न पछिल्लो समय स्थानीयको भीड लाग्न थालेको छ । आगन्तुक बढेपछि मुसीकोट दरबार संरक्षण केन्द्रले दरबार अवलोकनका लागि टिकट काट्नुपर्ने व्यवस्था गरेको छ ।

मुसीकोट दरबार हेर्न घुइँचो

मुसीकोटडाँडा र त्यसभित्र निर्माण गरिएका संरचना अवलोकन गर्ने हरेक व्यक्तिले २५ रुपैयाँ तिर्नुपर्छ । प्रतिव्यक्ति २० रुपैयाँबाट थालिएको टिकटदर अहिले बढाइएको हो । मुसीकोट दरबार क्षेत्रमा हेर्नलायक केही संरचना बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । ‘मुसीको अर्धकदको प्रतिमा, बँदेल गुफा, मन्दिर, सरस्वतीको पूर्णकदको प्रतिमा, मन्दिर दरबार क्षेत्रका हेर्नलायक संरचना हुन्,’ उनले भने, ‘दरबार क्षेत्रबाट जिल्लाका विभिन्न ठाउँको अवलोकन पनि गर्न सकिन्छ ।’


बाइसे/चौबीसे राज्य सञ्चालनको क्रममा मुसीकोटमा दरबार थियो । अरु ठाउँभन्दा अग्लो र आकर्षक रहेकाले राजाले डाँडामा दरबार बनाएको किम्वदन्ती छ । दरबार क्षेत्रलाई पछि मुसीकोटडाँडा नामाकरण गरिएको थियो । राजाकी मुसी नाम गरेकी नोकर्नीले पत्ता लगाएकाले दरबार र डाँडाको नाम मुसीकोट राखिएको इतिहास छ ।


२०७४ भदौ २० देखि मुसीकोटडाँडा हेर्न चाहनेका लागि टिकटको व्यवस्था गरिएको हो । दरबार क्षेत्रको विकासका लागि मुसीकोट दरबार संरक्षण केन्द्र गठन गरिएको स्थानीय तिलक मल्लले बताए । केन्द्रका अनुसार डाँडामा थप पूर्वाधार विकास गर्न शुल्क लिन थालिएको हो । चालु आर्थिक वर्षमा एक लाख ४३ हजार रुपैयाँ संकलन भएको केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी साउन महिनामा ३८ हजार संकलन भएको थियो ।


सुरुमा नेपाली सेनाले मुसीकोट दरबार संरक्षणका लागि विभिन्न संरचना निर्माण गरेको थियो । साविक जिल्ला विकास समिति र जिल्ला वन कार्यालयले पनि केही संरचना निर्माण गरेका छन् । मुसीकोट नगरपालिकाले दुई वर्षयता दरबार क्षेत्रको संरक्षणका लागि बजेट व्यवस्थापन गरिरहेको छ । चालु आर्थिक वर्षमा डाँडासम्म पुग्ने व्यवस्थित सिँढी बनाउन कर्णाली प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले प्रदेश सरकारको बजेटबाट राप्ती लोकमार्ग हुँदै मुसीकोट दरबार पुग्ने बाटोलाई व्यवस्थित गराउन थालिएको बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेकाले मुसीकोट दरबार क्षेत्र थप व्यवस्थित गरिरहेका छौं,’ उनले भने, ‘प्रवेश शुल्क र राजस्व बढिरहेकाले पूर्वाधार विकासमा सहयोग पुगिरहेको छ ।’

प्रकाशित : चैत्र १०, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?