कोभिड-१९ प्रभाव : संक्रमण भित्रिन नदिन हातेमालो

सरकारी निकाय र नागरिकस्तरबाटै सहरदेखि गाउँसम्म सचेतना अभियान सञ्चालन
कर्णाली प्रदेश ब्युरो

वीरेन्द्रनगर — कोरोना भाइरसको सम्भावित जोखिमलाई लिएर यहाँका प्रदेश र स्थानीय सरकारले उच्च सतर्कता अपनाएका छन् । दुवै तहका सरकारले अभियानमा हातेमालो गर्दै सचेतना र स्वास्थ्य परीक्षण तीव्र बनाएका छन् । संक्रमित देशबाट आउने कर्णालीवासीलाई राख्न क्वारेन्टाइन निर्माण पनि धमाधम भइरहको छ ।

प्रदेश सरकारको निर्देशनमा नेपाली सेनाले वीरेन्द्रनगरको खुलामञ्चमा आइतबारदेखि क्वारेन्टाइन निर्माण सुरु गरेको छ । सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को नयाँ भवनमा ६ सय र खुलामञ्चमा ४ सय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । उत्तरपश्चिम पृतनाका सेनानी झपेन्द्रराज विसीले क्वारेन्टाइन क्षेत्रमा शौचालय र पिउने पानीको पनि व्यवस्था गरिने बताए । सरकारको निर्देशनअनुसार इन्जिनियरसँग सल्लाह गरेर काम भइरहेको उनको भनाइ छ ।


सरकारले शुक्रबार रेडियो नेपाल हातामा ४ सय र एमयूमा ६ सय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । तर, सेनाले रेडियो नेपालमा उपयुक्त नहुने बताएपछि शनिबार बुलबुले उद्यानमा क्वारेन्टाइन बनाउने निस्कर्षमा सरकारी अधिकारी पुगेका थिए । सामाजिक विकासमन्त्री दल रावल र प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले बुलबुलेमा क्वारेन्टाइन बनाउन वीरेन्द्रनगर नगरपालिकासँग अनुमतिसमेत लिई तयारी भएको जानकारी गराएका थिए । तर, सरकारले आइतबार पहिलो चरणमा बुलबुलेको साटो खुलामञ्चमा र एमयूमा क्वारेन्टाइन बनाउने निधो गरेको हो । प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिका संयोजकसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आवश्यक परेको खण्डमा बुलुबुलेमा पनि क्वारेन्टाइन बनाउन सकिने बताए ।

अस्पतालमा क्वारेन्टाइन

सल्यान जिल्ला अस्पतालमा २० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना संक्रमणको शंका लागेका बिरामीको उपचार गर्न क्वारेन्टाइन स्थापना गरिएको हो ।


वार्डमा करिब ६ फिटको दूरीमा शय्या निर्माण गरिएको अस्पताल प्रमुख डा. अर्जुन वुढामगरले बताए । शारदा नगरपालिकाले २ करोड रुपैयाँ लगानीमा नयाँ भवन निर्माण गरेपछि क्वारेन्टाइन वार्ड बनाउन सजिलो भएको उनको भनाइ छ । वार्डका लागि प्रदेश सरकारले आवश्यक सामग्री पठाउँदैछ । ‘संक्रमण भएको लक्षण मिल्ने बिरामीलाई छुट्टै उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘मिल्दोजुल्दो लक्षण देखिएमा क्वारेन्टाइन वार्डमा १४ दिन राखेर उपचार गरिनेछ ।’ क्वारेन्टाइनका लागि दुई स्टाफ नर्स र एक अनमी प्रदेश सरकारले पठाउन लागेकोउनले बताए ।


जिल्ला अस्पतालमा दैनिक एक सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् । वार्ड तयार पारिए पनि व्यक्तिगत सुरक्षा उपकरण नहुँदा समस्या भएको अस्पतालका डा. प्रदीप शर्माले बताए । ‘शंका गरिएका बिरामीको रगतको नमूना टेकु अस्पताल पठाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीसँग उपलब्ध उपकरण जाँचमा प्रयोग भइरहेको छ ।’ कोरोनाको सक्रमणबाट बच्न अस्पतालमा उपचार गर्न आएका बिरामीलाई साबुनपानीले हात धुन लगाउने गरिएकोउनले बताए ।

निःशुल्क मास्क वितरण

रुकुममा कोरोनाको संक्रमणबाट सतर्क रहन स्थानीय युवाले बादी समुदायलाई निःशुल्क मास्क वितरण गरेका छन् । आठबीसकोट नगरपालिका–११ का सुनिलकुमार विक, दिनेश भण्डारी र विशाल थापाले आफैं मास्क उत्पादन गरेर वितरणगरेका हुन् । बजारमा मास्कको अभाव भएकाले १७ बादी परिवारलाई मास्क वितरण गरिएको विकले बताए । उनका अनुसार एक सय वटा मास्क र ३० वटा नुहाउने साबुन बादीबस्तीमा गएर वितरण गरिएको हो । ‘पहिलो चरणमा डेढ सय मास्क उत्पादन गरेका थियौं, थप मास्क उत्पादन गरेर विपन्न समुदायमा वितरण गर्ने योजना छ,’ उनले भने, ‘बजारबाट कपडा किनेर मास्क उत्पादन गरिरहेका छौं ।’ त्यस्तै, सल्यानको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन गरी निःशुल्क वितरण थालेको छ । २० जना महिलालाई सिलाइकटाइ तालिम दिई मास्क उत्पादन गर्न थालिएको हो ।


गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका अनुसार प्रशिक्षार्थी महिलाले दैनिक तीन सय मास्क उत्पादन गरिरहेका छन् । पहिलो चरणमा उत्पादन भएको मास्क गाउँपालिकाका कर्मचारीलाई वितरण गरिएको छ । ‘मास्क उत्पादनलाई तीव्रता दिई सबै नागरिकलाई निःशुल्क वितरण गर्ने योजना छ,’ उनले भने, ‘मास्कले कोरोना भाइरसका किटाणु शरीरमा प्रवेश गर्न रोक्नेछ, धुँवाधुलोबाट समेत बचाउनेछ ।’


समूहमा हिँड्न बन्देज

प्रदेश सरकारले समूह वा भीड बनाएर हिँड्ने वा बस्नेलाई तत्काल पक्राउ गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ । उच्चस्तरीय अनुगमन समितिको बैठकमा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन् । ‘ड्रोन र स्थलगत रुपमा सुरक्षा निकायले अनुगमन गर्नुस्,’ उनले भने, ‘अटेर गर्नेलाई तत्काल पक्राउ गर्नुस् ।’ मन्त्री भण्डारीले बालबालिकालाई पनि घर बाहिर गएर खेल्न र भीडमा जान नदिन अभिभावकलाई आग्रह गरे । प्रदेश सरकारले आइतबारदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चल्न नदिने निर्णय गरिसकेको छ ।

दहीखोलामा हेल्थ डेस्क

कालीकोट र दैलेखको सिमाना दहीखोलामा जिल्ला बाहिरबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क स्थापना हुने भएको छ । कालीकोटको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न देश र जिल्ला बाहिरबाट आउने यात्रुको जाँचका लागि डेस्क स्थापनाको निर्णय गरेको हो ।


जिल्लाका ९ वटै स्थानीय तहबाट मजदुरी गर्न र हिउँदे व्यापार गर्न भारतलगायत देश गएका स्थानीयबासी फर्कने बेला भएकाले कोरोनाको संक्रमणबाट बच्न र बचाउन सबै स्थानीय तहका एक/एक स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी हेल्थ डेस्कमा खटाइनेछ । शंका लागेका व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पतालका प्रमुख डा. विज्ञान प्रजापतिको नेतृत्वमा आरआरटी (र्‍यापिड सेस्पोन्स टीम) गठन गरेको छ ।


बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक गाडी कर्णाली राजमार्गमा सञ्चालन गर्न नदिने, कालोबजारी गर्नेलाई कारबाही गर्ने र चैत २१ गतेसम्म कुनै पनि सार्वजजिक कार्यक्रम नगर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्ममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले आइतबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । रास्कोट नगरपालिकाले सान्नीगाड, पचाल झरनाको भात्तडीमा र तिलागुफाको गाल्जेमा स्वास्थ्य परीक्षण तथा सोधपुछ डेस्क स्थापना गरेको छ ।

कारागारमा कडाइ

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सुर्खेत कारागारमा कैदीबन्दीलाई आफन्तसँग भेट्न रोक लगाइएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार प्रशासनले उच्च सतर्कता अपनाइएको जनाएको छ ।


३५ जनाको क्षमता रहेको कारागारमा अहिले २ सय ६५ कैदीबन्दी बस्दै आएका छन् । सानो ठाउँ भएकाले कैदीबन्दीलाई एकै ठाउँमा राख्नुपरेको प्रमुख जेलर लक्ष्मी खरेलले बताइन् । उनका अनुसार संक्रमणको जोखिम बढेपछि प्रत्येक साता जाँचको व्यवस्था मिलाइएको छ । ‘मास्क र सेनिटाइजरको व्यवस्था पनि गरिएको छ,’ उनले भनिन्, ‘केही समयका लागि आफन्तसँग भेट्न रोक लगाएका छौं ।’ जाजरकोट कारागारमा पनि ६० जना कैदीबन्दी छन् । १५ जनाको क्षमता भएको कारागारमा चार गुणा कैदीबन्दी हुँदा संक्रमण रोक्न चुनौती हुने गरेको जेलर तेजविक्रम शाहले बताए । ‘गत वर्षसम्म भाइरलको त्रास थियो, यो वर्ष कोरोनाको डर छ,’ उनले भने, ‘संक्रमण भित्रन नदिन सबैखाले सतर्कता अपनाएका छौं ।’


दैलेख कारागारमा भने कैदीबन्दीले मास्क उत्पादन गरिरहेका छन् । पहिलो चरणमा उत्पादन गरिएको एक सय थान मास्क जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो । जेलर जीतबहादुर खत्रीले बजारमा अभाव भएपछि कारागारमा मास्क उत्पादनलाई तीव्रता दिएको बताए । संक्रमणको जोखिम बढेपछि कारागारको चौरमा पाँचजना भन्दा बढीलाई सँगै बस्न नदिएको उनको भनाइ छ । उनका अनुसार कारागारमा एक सय ५० कैदीबन्दीले सजाय भुक्तान गरिरहेका छन् ।


जुम्ला ‘लकडाउन’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सोमबारदेखि आइतबारसम्म जुम्लालाई ‘लकडाउन’ गरेको छ । रोजगारी र हिउँदे व्यापारमा भारत गएकाहरू धमाधम घर फर्किन थालेपछि यस्तो निर्णय लिनु परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ‘अत्यावश्यक सामग्री व्यवस्थापन गर्न, क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालन गर्न समिति गठन गरेका छौं,’ उनले भनिन्, ‘जुम्ला विमानस्थल र जिल्ला प्रवेशको नाका नाग्ममा हेल्थ डेस्क स्थापना गरिएको छ ।’ जुम्ला बहुमुखी क्याम्पसलाई क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बनाउने समितिले निर्णय गरेको बञ्जाडेले बताइन् ।


व्यवसाय बन्द

सुर्खेत उद्योग वाणिज्य संघले सोमबारदेखि अनिश्चितकालको लागि अत्यावश्यकबाहेकका व्यापारिक फर्महरू बन्द गर्ने निर्णय गरेको छ । संघको कार्यसमिति र वस्तुगत समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको महासचिव लक्ष्मण कँडेलद्वारा जारी अपिलमा उल्लेख छ ।


खाद्य तथा किराना पसल, मेडिकल, तरकारी पसल, खाजानास्ता पसल र पेट्रोल पम्पलाई भने सावधानीपूर्वक सेवा प्रवाह गर्न आग्रह गरिएको छ । यस्तो विपद्को बेला कुनै पनि वस्तुमा कालोबजारी नगर्न पनि अपिल गरिएको छ ।


-तुलाराम पाण्डे (कालीकोट),ज्योति कटुवाल (सुर्खेत), चाँदनी कठायत (वीरेन्द्रनगर), विप्लव महर्जन (सल्यान), हरि गौतम (रुकुम पश्चिम) र एलपी देवकोटा (जुम्ला) प्रकाशित : चैत्र १०, २०७६ ११:०८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सडक ढाकेर हाट बजार

सुनिता बराल

महोत्तरी — सडक दायाँ–बायाँ छेकेर हाट बजार लगाउँदा महोत्तरीको भंगामा–५ स्थित सीतापुर बजार अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । सीतापुरबाट पूर्व–पश्चिम राजमार्गसँग धनुषा जमुनिवास जोडिने मुख्य सडक र बर्दिवास, औरही, गौशाला लागायतका शाखा सडक छेकेर हरेक सोमबार र शुक्रबार दुई दिन हाट बजार लाग्दै आएको छ । यसले सवारीलाई मात्र नभई पैदल यात्रीलाई अप्ठ्यारो पर्ने गरेको छ ।

बजार लागेका कारण सडक जाम हुँदा सवारी वारपार गराउन एक किलोमिटरमै २ घण्टा लाग्छ । ठूला सवारीले बजार अवधिभर बाटै पाउँदैनन् । ३० वर्षदेखि सडकमै लाग्दै आएको बजार व्यवस्थापनमा चासो नदेखाएको भंगाहा नगरपालिकाले सडकलाई नै बजारको रुपमा ठेक्का लगाएको छ । सय फिट चौडा भएको सडकको छेउछाउमा मात्रै हैन, ठेकेदारसँगको सहमतिमा व्यापारीले सडक बीचमै पसल राख्ने गरेका छन् ।

सडकको बीचमै पाउरोटी र बिस्कुट पसल राखेकी धनुषा बटेश्वरकी कमलीदेवी महतोले आफूलाई ठेकेदारले देखाइदिएको ठाउँमै पसल राखेको बताइन् । २० वर्षदेखि सोही ठाउँमा पसल राखेर व्यापार गर्दै आएको उनले बताइन् । ‘गाडी आएर किच्ला भन्ने डर हुन्छ,’ उनी भन्छिन्, ‘अन्त ठाउँ छैन,ठेकेदारले नै गाडी आएपछि बाटो छोडिदिनुस् भनेर यो ठाउँ दिएका हुन्, पसल उठाउँदै हैरान परिन्छ ।’ धनुषा र महोत्तरीका विभिन्न ठाउँबाट व्यापारीहरू लत्ताकपडा, चप्पल जुत्ता, दाल, चामल, तरकारी लगायतका बिक्री गर्न सीतापुर बजार आउने गर्छन् । तर बजार व्यवस्थापन नहुँदा व्यापारीलाई पनि सास्ती हुने गरेको छ । सडकमा लाग्ने भीडले ग्राहकले पनि चाहेको सामान खरिद गर्न नसक्ने व्यापारी जितेन्द्र साहले बताए । ‘धूलो खाएर रोडमा बस्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘गाडी आयो भने पसल कहाँ लाने भन्ने चिन्ता हुन्छ, ग्राहक कहाँ पुग्छन् कहाँ, खासै व्यापार हुँदैन ।’ साना सवारी भीडभाड छिचोल्दै निस्कन्छन् तर ठूला सवारी आएपछि पसलेले पसल नै पोको पारेर गाडीलाई सडक छोडिदिन पर्छ ।

यस्ता झन्झटले बाहिरबाट आउने धेरै व्यापारी भंगाहा बजार छोडेर अन्यन्त्र जान थालेको स्थानीय रामलाल मण्डलले बताए । ग्राहकलाई समेत सडकमा आउने सवारी र बजारमा हुने भीडभाडमा दुर्घटनामा परिने डर हुने उनको भनाइ छ । सडककै बनाइने खानेकुराले मानव स्वास्थ्यमा पनि हानि गर्ने उनले बताए। बजारबाट निस्कने फोहोरले सो क्षेत्र दुर्गन्धित बन्दै गए पनि सरसफाइमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

भंगाहा नगरपालिकाले वर्षको ३ लाख ३० हजार रुपैयाँमा लगाएको ठेक्काबारे नगरका प्रमुख प्रशासकीय अधिकृतले जानकारी नभएको बताए । डेढ वर्ष पहिले कार्यालयमा हाजिर भएका अधिकृत रामचन्द्र लामगादेले बजार र पोखरी ठेक्काको लागि आफूले वडाहरूलाई पत्र लेखेको तर ठेक्का लागिनसकेको जानकारी दिए ।

जग्गा भाडामा लिएर बजार सार्ने विषयमा अनौपचारिक छलफल भए पनि अहिलेसम्म बजार व्यवस्थापनका लागि काम हुन नसकेको उनले बताए । ‘सडकमा लागिरहेको बजारले सबैलाई सास्ती भएको छ,’ उनले भने, ‘दुर्घटनाको जोखिम पनि हामीले देखिरहेका छौं, तर काम अघि बढ्न सकेको छैन।’

वर्षौंदेखि लाग्दै आएको बजारलाई अन्य ठाउँमा सार्न जग्गाको अभाव रहेको भंगाहा नगरका मेयर सञ्जीव साहले बताए । सडकमा लाग्ने बजार व्यवस्थापन गर्ने सोच बनाएको भए पनि जग्गा अभावले काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
गतवर्ष अर्को वर्षको बजेटबाट बजार व्यवस्थापन गर्ने बताएका मेयर साहले यस वर्ष बजार व्यवस्थापनमा कुनै ध्यान नदिएको स्थानीयले बताए । बजारका ठेकेदार रामफल साहले बजारबाट प्रतितरकारी पसल २०रुपैयाँ, प्रतिकपडा पसल ३०, प्रतिसटर १०, एक खसी काटेको ५० रुपैयाँ उठाउँदै आएका छन् । दुई सयभन्दा बढी व्यापारीहरूले पसल राख्ने बजारमा महोत्तरीका विभिन्न ठाउँबाट ग्राहकहरू पुग्ने गरेका छन् ।

प्रकाशित : चैत्र १०, २०७६ १०:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×