कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

 कोभिड–१९ जोखिम  : सक्रिय बन्दै स्थानीय सरकार

स्थानीय तहले प्रतिकार्य योजना बनाएर सचेतना फैलाउनेदेखि स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन प्रबन्ध मिलाएका छन्
विप्लव महर्जन

सल्यान, रुकुम पश्‍चिम — कोरोना भाइरसको जोखिमबाट बच्न सल्यानका १० वटै स्थानीय तहले प्रतिकार्य योजना निर्माण गरी सचेतना अभियान सुरु गरेका छन् । प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीमार्फत घरदैलो, टोलभेला, विद्यालय शिक्षालगायतलाई तीव्रता दिइएको छ । 

 कोभिड–१९ जोखिम  : सक्रिय बन्दै स्थानीय सरकार

सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र धेरै मानिसको जमघट हुने कार्यक्रम सञ्चालनमा रोक लगाएका छन् । केही स्वास्थ्यचौकीमा कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षण देखिएका बिरामी राख्न छुट्टै वार्डको व्यवस्था गरिएको छ । कोरना संक्रमणविरुद्ध स्थानीयलाई सचेत बनाउन सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार १५ वटै वडामा घरदैलो अभियानलाई तीव्र बनाइएको छ । ‘विश्वभर फैलिएको महामारी जिल्लामा भित्रन नदिन सबै स्वास्थ्य संस्थालाई अलर्ट राखिएको छ,’ उनले भने, ‘जिल्ला अस्पतालमा संक्रमितको उपचारका लागि छुट्टै शय्या स्थापनाको तयारी थालेका छौं ।’


कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले विभिन्न सचेतनामूलक सामग्रीसहित स्वास्थ्यकर्मीलाई गाउँमा परिचालन गरिएको बताए । ‘सबै स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था गरिएको छ, स्वास्थ्यकर्मीलाई बिदामा बस्न रोक लगाएका छौं,’ उनले भने, ‘कपुरकोटमा हेल्थ डेस्कको स्थापना गरी यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ ।’


बागचौर नगरपालिकाका सबै विद्यालयमा एक हजार लिटरका ड्रम, साबुनलगायत सामग्री वितरण गर्न थालिएको छ । नगर प्रमुख लोकमान बुढाथोकीले विद्यार्थीलाई सुरक्षित तरिकाले हात धुने बानी सिकाउन स्वास्थ्यकर्मीलाई विद्यालयमा परिचालन गरिएको बताए । उनका अनुसार सबै सामुदायिक विद्यालयमा बिदा हुनुअघि कोरोना संक्रमणका लक्षण र बच्ने उपायबारे प्रशिक्षण चलाइएको थियो । बनगाडकुपिण्डे नगरपालिकाले स्टिकर अभियान सुरु गरेको जनाएको छ ।


९ हजार ७ सयको स्वास्थ्य परीक्षण

सल्यानको प्रवेशद्वार मानिने कपुरकोटमा सरकारले हेल्थ डेस्क सञ्चालनमा ल्याएपछि एक सातामै ९ हजार ७ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कर्णाली प्रदेश सरकारले चैत १ गतेदेखि डेस्क सञ्चालनमा ल्याएको थियो ।


डेस्कमा विभिन्न जिल्लाबाट भित्रिने र बाहिरिने यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ । यो अवधिमा जिल्लामा भित्रिएका र बाहिरिएका १ हजार ७ सय ५२ यातायातका साधनमा सवार यात्रुको स्वास्थ्य परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख देवेन्द्रकुमार सेनले बताए । ‘स्वास्थ्य परीक्षण गरिएका यात्रुमा अहिलेसम्म संक्रमण देखिएको छैन,’ उनले भने, ‘परीक्षण गरिएका यात्रुलाई कोरोना संक्रमणको लक्षण र बच्ने उपायबारे जानकारी दिँदै सतर्क रहन आग्रह गरिएको छ ।’


डेस्कमा बिहान ६ बजेदेखि राति १० बजेसम्म चेकजाँच भइरहेको छ । अब चौबीसै घण्टा चेकजाँचको व्यवस्था मिलाउन आवश्यक तयारी सुरु गरिएको सेनले बताए । भारतलगायत विभिन्न देशबाट फर्किएका नेपाली कपुरकोट नाका भएर रुकुम पश्चिम र पूर्व, रोल्पा, जाजरकोटलगायत जिल्लामा जान्छन् । कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले गाउँपालिकाका स्वास्थ्यकर्मीलाई परिचालन गरेर चौबीसै घण्टा हेल्थ डेस्कबाट चेकजाँचको व्यवस्था गर्न थालिएको बताए । ‘स्थानीय सरकारका तर्फबाट कोरोनाको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, आमा समूहलगात सरोकारवालालाई परिचालन गरी सचेतना अभिवृद्धिमा जोड दिएका छौं ।’

घट्दै सेवाग्राही

कोरोना संक्रमणको त्रासका कारण सदरमुकाम खलंगाका सरकारी कार्यालय सुनसान बन्न थालेका छन् । ग्रामीण क्षेत्रबाट सेवा लिन आउने सेवाग्राहीको संख्या घटेपछि कार्यालय सुनसान बनेका हुन् । सदरमुकाम खलंगामा समेत चहलपहल घटेको छ । सधैं भरिभराउ हुने प्रशासन, मालपोत, नापीलगायत कार्यालय र बैंकमा सेवाग्राहीको संख्या घटिरहेको छ । बाहिरका मानिस नआउँदा होटेल र पसलको कारोबार घट्दै गएको व्यवसायी ललित केसीले बताए ।

स्वास्थ्यकर्मीलाई ‘हाइ अलर्ट’

मुसीकोट नगरपालिकाले एक सातायता कर्मचारीको बिदा स्वीकृत गर्न छाडेको छ । आठबीसकोट र चौरजहारी नगरपालिकाले पनि स्वास्थ्यकर्मीलाई ‘हाइ अलर्ट’ मा बस्न दुई साताअघि निर्देशन दिएका थिए । रुकुम पश्चिमका ६ वटै स्थानीय तहले कोरोना भाइरसको संक्रमण भित्रन नदिने केही समययता सक्रियता देखाएका छन् । बाँफिकोट गाउँपालिकाले ज्वरो परीक्षणका लागि आवश्यक सरसामग्री खरिद गर्दै छ । स्वास्थ्यचौकीमा ज्वरो नाप्ने तथा अरु आवश्यक सामग्री वितरण गर्ने तयारी गाउँपालिकाको छ । स्थानीय सरकारले कार्यालयमा सबै सेवाग्राहीको ज्वरो नाप्ने, कार्यालयमा पस्दा हात धुने, त्यसका लागि साबुन वा स्यानिटाइजर तथा पानीको व्यवस्था गरेका छन् ।


सुरुमा खासै वास्ता नगरेका स्थानीय तह केही दिनदेखि चनाखो बनेका हुन् । विश्वभर फैलिरहेको कोरोना फैलन नदिन आवश्यक सतर्कता अपनाइएको मुसीकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । उनले यसअघि पनि केही मास्क, एप्रोनलगायतका सामग्री कर्मचारी र सेवाग्राहीलाई वितरण गरिएको जनाए । ‘हामीले सतर्कताका लागि सकेसम्मको प्रयास गरिरहेका छौं,’ उनले भने, ‘नगर र मातहतका कार्यालय, शाखा तथा कार्यक्रमलाई पनि कोरोनाबाट सतर्क हुने गरी केन्द्रीत गरिएको छ ।’ नगरपालिका तथा अलि बढी चहलपहल हुने शाखा तथा कार्यालयका लागि ज्वरो नाप्ने ‘गन’ थर्मोमिटर प्रयोगको तयारी गरिएको उनले जानकारी दिए ।


चौरजहारी नगरपालिकाले नगरभित्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा वडामा रहेका सामुदायिक स्वास्थ्यचौकीमा हेल्पडेस्क स्थापनाको तयारी गरेको छ । सबै वडामा साबुन र पानी राखेर हात धुने व्यवस्था मिलाउनका लागि परिपत्र गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार गौतमले बताए । उनका अनुसार स्वास्थ्यकर्मीलाई बिदा नबस्न तथा कार्यालय नछाड्न निर्देशन दिइएको छ । आठबीसकोट नगरपालिकाले हेल्प डेस्क राख्नुका साथै भेला, सम्मेलनजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ । नगरपालिकाका कुनै पनि ठाउँमा जम्मा नहुन, अनिवार्य साबुन पानी हात धुन तथा सकेसम्म नियमित स्वास्थ्य गएर ज्वरो नाप्न स्थानीयलाई परिपत्र गरिएको हो ।

सामूहिक प्रतिबद्धता

रुकुम पश्चिमका सरोकारवालाले कोरोनाबा बच्न तथा बचाउनका लागि सामूहिक प्रतिबद्धता गरेका छन् । जिल्लामा संक्रमणको रोकथाम र नियन्त्रणको उच्च सतर्कता अपनाउन पाँचबुँदे प्रतिबद्धता गरिएको हो । जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी तथा गैरसकारी कार्यालय, नागरिक समाजलगायतले सकेसम्म सबै ठाउँमा पुग्ने गरी सचेतनामूलक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला अस्पतालमा आवश्यक आइसोलेसन वार्ड निर्माण गर्ने र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको विदा स्वीकृत नगर्ने, अभावको अवस्थामा हुनसक्ने कालोबजारी र अवैध धन्दा रोक्ने निर्णय गरिएको छ । त्यस्तै विश्वभर कोरोना नियन्त्रण नभएसम्म सामाजिक कार्य, भोज, उत्सव तथा मेलापात बन्द गर्ने र सहभागी नहुने निर्णय गरिएको हो ।


गेटमै साबुन–पानी

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश प्रहरी गणले सतर्कता अपनाउन प्रवेशद्वार (गेट)मा साबुन र पानीको व्यवस्था गरेको छ । प्रहरीसहित सेवाग्राही र बटुवाको सुविधाका लागि साबुन–पानीको व्यवस्था गरिएको हो । प्रवेशद्वारअघि निर्माण गरिएको धारा नजिकै प्रहरीले सुरक्षित तरिकाले हात धुन सिकाउने गरेका छन् ।


प्रहरी, सेवाग्राही र कार्यालयको बाटो भएर आउजाउ गर्ने बटुवाका लागि साबुन–पानीको व्यवस्था गरिएको गणपति सन्जीव शर्माले बताए । ‘यहाँ हात धुन आउने सबैलाई कोरोनाको लक्षण र बच्ने उपायबारे जानकारी दिन थालिएको छ,’ उनले भने, ‘हामीले पनि उच्च सतर्कता अपनाएका छौं, गणमा कार्यरत प्रहरीलाई बाहिर निस्कन बन्देज गरिएको छ ।’ गणमा तालिमका लागि आउने प्रहरीलाई एक सातादेखि ‘लक ईन’ गरिएको उनले जानकारी दिए । अहिले गणमा १ सय ९० प्रहरी प्रशिक्षणमा छन् ।


बाहिरबाट आउने र गणमा कार्यरत प्रहरीका लागि मास्क अनिवार्य गरिएको छ । ‘गेटमा हात नधोएर र माक्स नलगाइ आउने जो कोहीलाई पनि प्रवेश निषेध गरिएको छ,’ उनले भने, ‘सचेतनाका लागि केही प्रहरीलाई गेटबाहिर खटाइएको छ ।’

प्रकाशित : चैत्र ८, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?