कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रारामा छैन रौनक

राजबहादुर शाही

मुगु — अधिक हिमपात र चिसोको प्रभाव राराको पर्यटनमा पनि परेको छ । चैत लाग्दासमेत अपेक्षाकृत चहलपहल बढ्न सकेको छैन । यस वर्ष रारा क्षेत्रमा १२ पटक हिमपात भयो । यसले गर्दा अहिले पनि चिसो घटेको छैन ।

रारामा छैन रौनक

रारा वरपरको जंगल क्षेत्रमा अझै पनि बाक्लो हिउँ जमेको छ । ‘पोहोर–परार त फागुनमै पर्यटक आउन सुरु गरिहाल्थे, यतिबेला राराको रौनक अर्कै हुन्थ्यो,’ भिलेज हेरिटेज रिसोर्ट प्रालिका प्रबन्धक दीपक रावतले भने, ‘अहिले फाटफुट रुपमा मात्र आउने गरेका छन्, आएका पर्यटक पनि खुलेर रमाउन सकिरहेका छैनन् ।’


मुर्माटप जाने बाटोमा हिउँ नपग्लिएको कारण पर्यटकले त्यहाँ पुगेर दृश्यावलोकन गर्न सकेका छैनन् । भैरहवाबाट आएकी लक्ष्मी केसीले हिउँ खेल्न पाइए पनि सास्ती भने निकै भएको बताइन् । यद्यपि मुर्माटप जाने योजना अधूरै रहेको उनको भनाइ छ । रारा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार हिजोआज राराको तापक्रम रातिको समयमा माइनसमा झर्ने गरेको छ । चिसोको कारण टेन्ट ल्याएर आएका पर्यटक राति होटलका कोठाभित्र खाँदिएर सुत्ने गरेका छन् । धाराको पानीमा पनि बरफ जम्ने गरेको भण्डारीले बताए ।


यो वर्ष रारामा पर्यटक आउन थालेको करिब एक सातामात्र भयो । हवाइ मार्गबाट दैनिक करिब २५–३० जना पर्यटक आउने गरेका छन् । यद्यपि फुसदेखि सुनसान बनेका होटलमा अभैसम्म चहलपहल बढ्न सकेको छैन । भिलेज हेरिटेज रिसोर्ट प्रालिका प्रबन्धक रावतका अनुसार गत वर्ष यतिबेला रारामा दैनिक करिब एक सयजना पर्यटक आउँथे ।


स्थलमार्गमा हिउँ राम्ररी नपग्लेको कारण मोटरसाइकल र गाडीमा पर्यटक आउने सकेका छैनन् । ‘जहाजमा आउने पर्यटकको संख्या निकै कम हुन्छ,’ उनले भने, ‘यसले गर्दा पनि रारामा पर्यटकको आगमन सोचेअनुसार हुन सकेको छैन ।’ छायाँनाथरारा नगरपालिका–९ का बिर्खबहादुर रोकाया जलवायू परिवर्तनको मारमा रारा पनि परेको बताउँछन् । उनका अनुसार यतिबेला आगन्तुकको आगमनले मात्र होइन, लालीगुराँस, चुली, आरुलगायत बनस्पति फुल्दा वातावरण निकै मनमोहक हुन्थ्यो । ‘अहिले त चैतसम्मै हिउँ पग्लिएको छैन, बोटबृक्षमा फूल र कोपिला पनि पलाएका छैनन्,’ उनले भने, ‘मौसमको गडबडीले समय नै बदलिएको जस्तो लाग्छ ।’


रारा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत भण्डारी जलवायू परिवर्तनकै कारण रारातालका असला माछा पनि मरेका बताउँछन् । उनका अनुसार यस वर्ष अत्यधिक चिसो भएपछि ठूलो संख्यामा असला माछा मरेका अध्ययनपछि पुष्टि भएको छ ।

पर्यटकलाई प्याकेज


रारामा पर्यटक भित्र्याउन व्यवसायीले विभिन्न आकर्षक प्याकेज ल्याएका छन् । भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले तीनवटा प्याकेज लागु गरेको छ । ट्राभल्सका अनुसार ६ दिनको ‘कम्बो–टुर’ प्याकेजको शुल्क ४० हजार राखिएको छ । यो प्याकेजमा आन्तरिक पर्यटकले ६ दिनको खानबस्न र यातायात सुविधा रहेको छ । त्यस्तै, ३० हजार रुपैयाँमा ‘फ्यामिली–टुर’ रहेको छ । यो प्याकेज ३ दिनको रहेको ट्राभलका प्रवन्ध निर्देशक राजु कार्कीले बताए ।


उनका अनुसार तेस्रो प्याकेजको रुपमा ‘क्याम्प प्याकेज’ रहेको छ । यो प्याकेज विद्यार्थीलाई लक्षित गरी ल्याइएको हो । प्रतिव्यक्ति १८ हजार ५ सयमा रारा घुम्ने गरी प्याकेज ल्याइएको कार्कीको भनाइ छ । यसका साथै भिलेज हेरिटेज रिसोर्ट प्रालिले रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई कर्णालीको कोसेलीबापत प्रतिव्यक्ति एक/एक केजी मार्सी चामल र सिमी निःशुल्क दिने व्यवस्था गरेको प्रवन्धक रावतले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?