१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

निराश हुँदै फर्किए परीक्षार्थी

‘होम सेन्टर’ नहुँदा ऋण काढेर परीक्षा दिन पठाएका अभिभावक चिन्तित

सुर्खेत — एक दिनको हिँडेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन कालीकोटको लालुबाट कोटबाडा पुगेकी जानकी विष्ट बिहीबार निरास भएर घर फर्किन् । उनले केन्द्रमा पुगेपछि मात्र परीक्षा स्थगित भएको खबर सुनिन् । बुधबार दिनभरिको झरीका कारण कोटबाडामा मोबाइल नेटवर्क थिएन ।

निराश हुँदै फर्किए परीक्षार्थी

उनी मात्र होइन, लालुस्थित जनप्रभात मावि र मंगलासैनी माविका २ सय ५ जना विद्यार्थी दुई दिनअघि सामान बोकेर छिमेकी गाउँ कोटवाडा पुगेका थिए । अधिकांशले एसईई सकिँदासम्मको लागि डेरा भाडामा लिएका थिए ।


‘सरकारले दुःख दियो,’ जानकीले भनिन्, ‘स्थगित गर्नैपर्ने भए एक हप्ताअघि गरेको भए अनावश्यक तनाब र दुःख हुने थिएन ।’नरहरिनाथ–१, कोटवाडाकी सरलाकुमारी विष्ट र अनिता विष्ट सोतरगाउँबाट बिहान ५ बजे उठेर एसईई दिन कुमालगाउँस्थित रमा माविमा बिहीबार बिहान ७ बजे पुगेका थिए ।


नन्दादेवी माविका यी छात्रा ‘होम सेन्टर’ परिवर्तन भएकाले अर्को गाउँको केन्द्रमा पुगेका हुन् । ‘गाउँमा हल्ला त हिजो बेलुकी नै सुनेको हो,’ अँध्यारैमा हिँड्नुपर्नेर् भएकाले बुवा दीपबहादुरसँगै परीक्षा केन्द्रमा पुगेकी उनले भनिन्, ‘दुःख मात्र पाइयो ।’ उनीहरूसहित कोटबाडाबाट एसईई दिने ५४ विद्यार्थी कुमालगाउँस्थित रमा मावि पुगेर घर फर्किए । नन्दादेवी मावि माल्कोट र शान्ति माविका विद्यार्थी बिहान घरबाट हिँडेर नपुगिने भएपछि बुधबारको असिनापानीमा भिज्दै कुमालगाउँ पुगेका थिए ।


विश्वकुना मावि, गोठीका विद्यार्थी तीन दिनअघि घरबाट सामल बोकेर रुप्सा पुगेको तीन दिन भयो । नरहरिनाथ–३ का मंगले सार्कीले दुई छोराछोरीलाई ५ हजार रुपैयाँ आफन्तसँग सापटी गरेर परीक्षा दिन पठाएको बताए ।


अन्तिम अवस्थामा परीक्षा स्थगित भएकोमा जनप्रतिनिधिको पनि चित्त बुझेको छैन । नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले केन्द्रीकृत मानसिकताले विकट बस्तीका बालबालिका र अभिभावकले दुःख पाएको बताए ।


यस वर्ष कालीकोटका ६२ विद्यालयका ३ हजार ९ सय ६५ परीक्षार्थीले एसईई परीक्षामा सहभागी हुँदैछन् । २० परीक्षा केन्द्रमा पठाइएका प्रश्नपत्र र उत्तर पुस्तिका शुक्रबार सुरक्षाकर्मीमार्फत सदरमुकाम फिर्ता गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेशदत्त देवकोटाले बताए ।


अभिभावकलाई आर्थिक बोझ


ऋणजोहो गरेर छोराछोरीको लागि डेरा बनाउँदै परीक्षा केन्द्रमा पुगेका अभिभावक थप चिन्तित भएका छन् । जिल्लाभरिका परीक्षार्थी र अभिभावक डेरा खोज्दाखोज्दै र परीक्षाको वातावरण बुझ्न नपाउँदै बिहीबार घर फर्कन बाध्य भए । यस वर्ष जिल्लामा एसईईका ३ हजार परीक्षार्थी छन् । ‘होम सेन्टर’मा जाँच दिन नपाउँदा तनाब खेपेका परीक्षार्थी एक्कासि परीक्षा स्थगित हुँदा निरास भएर घर फर्केका छन् । ‘उच्च आत्मबलका साथ केन्द्रमा पुगेको अवस्थामा परीक्षा स्थगित भयो,’ परीक्षार्थी शव्य शर्माले भने, ‘बेकारमा आउन–जान र डेरा खोज्न झन्झट भयो ।’


खलंगाका गणेश थापाले छोरी करिश्मालाई दल्ली केन्द्रमा पुर्‍याउन जाँदा र आउँदामात्र १० हजार रुपैयाँ खर्च भएको बताए । ‘दुई दिनसम्म पैदल हिँडेरै दल्ली पुगियो,’ उनले भने, ‘छोरीलाई कोठाको व्यवस्था गरेर घर फर्किएको थिए, अब फेरि छोरी लिन जानुपर्ने भयो ।’ उनले पाँच वर्षयता भौगोलिक विकटता भएको जिल्लामा ‘होम सेन्टर’ हटाउँदा परीक्षार्थी र अभिभावकले अनावश्यक झण्झट व्यहोर्नुपरेको बताए ।


विपन्न अभिभावकले ऋण लिएरै छोराछोरीलाई आवजावत, खाना र बासखर्च जुटाएको उनको भनाइ छ । स्थगितको निर्णय भएपछि परीक्षा सञ्चालनका लागि खटिएका केन्द्राध्यक्ष, सुरक्षाकर्मीलगायत जनशक्ति पनि प्रश्नपत्र बोकेर फिर्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार यस वर्ष जाजरकोटमा ६४ विद्यालयका करिब ४ हजार परीक्षार्थी छन् ।

फर्कनै सकस


एक्कासि परीक्षा रोकिएको कारण सल्यानका विद्यार्थीलाई घर फर्किन निकै सकस भयो । कतिपय गाडी खोज्नमै ब्यस्त छन् भने गाडी नजाने ठाउँका हिँडेर घर फर्किन थालेका छन् । परीक्षाको लागि बिहान ४ बजे उठेर कालीमाटी गाउँपालिकाको रामपुरबाट नेरामावि काभ्रा गएका पदम खत्रीले बिहीबरा बिहानमात्र परीक्षा रोकिएको थाहा पाएको बताए । ‘अब कसरी घर जाने, कुम्लो कुटिरो कहाँ राख्ने भन्ने समस्या भएको छ,’ उनले भने ।


शिक्षा इकाई प्रमुख लालबहादुर घर्तीका अनुसार यस वर्ष सल्यानबाट ४ हजार ९ सय विद्यार्थीले एसईई दिँदै छन् । यसको लागि २३ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । परीक्षाको अघिल्लो दिनमात्र एसईई भएपछि डेरा लिएर बसेका विद्यार्थी समस्यामा परेका उनले बताए ।


तुलाराम पाण्डे (कालीकोट), भीमबहादुर सिंह (जाजरकोट) र विप्लव महर्जन (सल्यान)

प्रकाशित : चैत्र ७, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?