रित्तिए गोठ, बढ्यो परनिर्भरता

किसानले पशुपालन गर्न छाडेपछि दुग्धजन्य पदार्थ र मासुको मूल्य पनि अकासिएको छ
भीमबहादुर सिंह

(जाजरकोट) — १० वर्षअघि कुशे गाउँपालिका–८, जिन्तालाका ग्वामु सिंहको गोठमा १२ भैंसी र करिब डेढ सय भेडाबाख्रा थिए । उनका छिमेकी प्रेमबहादुर शाहीसँग पनि १० वटा भैंसी थिए । अहिले दुवैका गोठ रित्ता छन् ।

विगतमा भैंसीपालनबाट मनग्गे आम्दानी गरेका उनीहरू अहिले छिमेकीको घरबाट दूध र दुग्धजन्य सामग्री खरिद गर्छन् । युवापुस्ता विदेश पलायन हुँदा ज्येष्ठ नागरिकलाई पशुचौपायाको स्याहार गर्न समस्या हुनु, वनक्षेत्र मासिनु, चरन क्षेत्र घट्नुलगायत कारण पशुपालन गर्ने किसानको संख्या घटेको हो । ‘पहिले जीवन धान्न पशुचौपाया नपाली सुखै थिएन, अहिले अरू व्यवसाय पनि अँगाल्न सकिने अवस्था आयो,’ सिंहले भने, ‘दु:ख धेरै भए पनि बजारको समस्या हुँदा पशु नपाल्ने निर्णय गरेको हुँ ।’ चरन क्षेत्र मासिएकै कारण जिल्लाभर पशुपालन व्यवसाय संकटमा परेको उनले बताए ।


किसानले पशुपालन गर्न छाडेपछि दुग्धजन्य पदार्थ र मासुको मूल्य पनि अकासिएको छ । शाही कुनै समय महिनामा १५ धार्नीसम्म घ्यु उत्पादन गर्थे । अहिले उल्टै किनेर खानुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार अहिले गाउँमा घ्यु प्रतिधार्नी २ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । खलंगा बजारमा दूध प्रतिलिटर ६० रुपैयाँमा बिक्री हुन्छ । पशुपालन घटे पनि स्थानीय बजारमा दुग्धजन्य पदार्थको माग बढ्दै गएको पशु प्राविधिकको भनाइ छ । सदरमुकाम खलंगामा मात्र दैनिक करिब २ हजार लिटर दूध र १ हजार लिटर दही खपत हुने गरेको भेरी नगरपालिकाको पशुपन्छी शाखाका प्राविधिक तुलबहादुर ओलीले बताए । पशुपालन घटेपछि दूध, दही, घ्यु, मासु र गोठेमलको अभाव हुन थालेको उनको भनाइ छ । ‘गोठमा पर्याप्त प्रांगारिक मल हुने हुँदा अन्नको उत्पादन राम्रो थियो,’ उनले भने, ‘अहिले पशुपालन घट्दाको असर अन्न उत्पादनमा पनि परिरहेको छ ।’ अन्य व्यवसायभन्दा पशुपालनमा बढी मिहिनेत पर्ने भएकाले किसानको आकर्षण घटेको उनले बताए ।


अहिले भेरी नगरपालिका–२, ३ र ४ मा पशुपालन गर्ने किसानको संख्या निकै न्यून छ । दूध उपभोग गर्ने जनसंख्या बढ्दै गए पनि किसानले पशु पाल्न छोडेका अगुवा कृषक भवानीप्रसाद शर्माले बताए । ‘दूधको अभाव हुँदा सदरमुकामकै माग धान्न मुस्किल छ,’ उनले भने, ‘माग बढ्दै गएपछि दहीसमेत खोसाखोस हुने गरेको छ ।’ पशुपालन ढिलो आम्दानी दिने व्यवसाय भएकाले पनि किसानको आकर्षण घटेको हो । विगतमा दुई दर्जनसम्म भैंसी पालेका किसानका गोठ अहिले रित्तै रहेको बारेकोट गाउँपालिकाको पशुपन्छी शाखा प्रमुख गोविन्दबहादुर सिंहले बताए । उनका अनुसार भैंसी तस्करी बढेपछि गाउँमा पनि दुग्धजन्य पदार्थको अभाव चुलिएको छ । जाजरकोटबाट मासुका लागि भैंसी बाहिर निकासी हुन्छ । एउटा भैंसी २० देखि ३० हजार रुपैयाँमा खरिद गर्न व्यवसायी गोठमै पुग्छन् । मासुका लागि भैंसी बाहिर जाँदा पनि पशुपालन संकटमा परेको उनले बताए ।


स्थानीय तहले दुग्धजन्य बस्तुको मुख्य स्रोत भैंसी पालनलाई संरक्षण गर्नुको साटो निकासी सिफारिस गर्दा समस्या भएको शर्माले बताए । उनका अनुसार वर्षमा करिब एक हजार भैंसी मासुका लागि बाहिर जाने गरेका छन् । वन विनाश र अतिक्रमणले भेडाबाख्रा पालन पनि संकटमा परेको उनी बताउँछन् ।

‘भेडा चराउने ठाउँमा मानिसका बस्ती बस्न थाले, कतिले जंगल फडानी गरेर खेती गर्न थालेका छन्,’ उनले भने, ‘यस्तै अवस्था रहे एक दशकमै अधिकांश गाउँ पशुविहीन बन्ने जोखिम छ ।’ भेडा र बाख्रा पाल्नेको संख्या घटेपछि मासुमा परनिर्भरता बढेको छ । स्थानीय बजारमा खसीको मासु ८ देखि ९ सय रुपैयाँमा बिक्री हुन्छ । खलंगा बजारमा दैनिक करिब २ सय किलो मासु खपत हुने भेरी नगरपालिकाको तथ्यांक छ ।

प्रकाशित : चैत्र २, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?