ड्रोनबाट खानेपानी सर्भे

ज्योति कटुवाल

वीरेन्द्रनगर — सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ड्रोनमार्फत खानेपानी योजनाको सर्भे गरेको छ । काम छिटो र सहज बनाउन ड्रोनको सहायता लिइएको हो । स्थलगत अध्ययन गर्दा तीन साता लाग्ने काम ड्रोनमार्फत चार दिनमै सकिएको छ ।

ड्रोनबाट खानेपानी सर्भे

१० वटा स्किममा सञ्चालनमा आएको योजनाको काम ९ नम्बर स्किमबाट सुरु गरिएको हो । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले ड्रोनबाट सर्भे गर्दा योजनाको काम छिटो, गुणस्तरीय र प्रभावकारी भएको बताए । उनका अनुसार ड्रोनको प्रयोगमार्फत स्थलगत तस्बिर लिने तथा ‘टोपोग्राफिक’ नक्सा तयार गर्ने काम सकिएको छ । ‘ड्रोनको प्रयोगले थोरै समयमा धेरै र विस्तृत तथ्यांक आएको छ,’ उनले भने, ‘९ नम्बर स्किमको स्थलगत काम सकिएको छ, प्राविधिक रिपोर्ट आएपछि अन्य स्किमको काम थालिनेछ ।’ उनले वीरेन्द्रनगरमा वितरण भएको पाइपलाइनको सर्भे भइरहको जानकारी दिए । २०३६, ०४२ र ०४६ सालमा निर्माण गरिएका पाइपलाइन पुराना र जीर्ण भएकाले नयाँ राख्न थालिएको उनको भनाइ छ ।


योजनाका लागि चालु आिर्थक वर्षमा प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सर्भेको जिम्मा लिएको अभियान कन्सल्टेन्सका इन्जिनियर विवेक गौतमले डिजाइन गर्न र पाइपलाइन राख्न सजिलो हुने भएपछि ड्रोनबाट सर्भे गरिएको बताए । ‘ड्रोनको प्रयोगले सर्भे गर्दा आउने फोटोग्राफीका कारण घरधुरी पनि नछुट्ने देखियो,’ उनले भने, ‘अहिले त्यसको प्राविधिक रिपोर्ट निर्माण गरिरहेका छौं ।’ उनका अनुसार वीरेन्द्रनगर नगरपालिका–५, ६, ७ र ८ मा सर्भेको काम सकिएको छ । ९ नम्बरबाहेकका अन्य स्किमको काम पनि ड्रोनबाटै हुने उनले जानकारी दिए ।


योजनाको डीपीआर सम्पन्न भएपछि चालु आर्थिक वर्षमा वितरण नेटवर्क सुधारको काम हुने संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । ‘सुर्खेत उपत्यकामा बढ्दो खानेपानीको संकट टार्न भेरी नदीको पानी ल्याउने तयारीसमेत भइरहेको छ,’ उनले भने, ‘प्रदेश राजधानी भएपछि जनसंख्या बढ्दा खानेपानी संकट चुलियो, भेरी नदीबाट पम्पिङ गरेर पानी ल्याउने प्रक्रियासमेत अघि बढाइएको छ ।’ अहिले उपत्यकामा करिब १८ हजार धारा जडान गरिएको संस्थाले जनाएको छ । अध्यक्ष देवकोटाले अझैं करिव १८ हजार धाराको माग भएको बताए । ‘पुरानो प्रविधिबाट पानीको सन्तुलित वितरण हुन नसकेपछि नयाँ प्रविधिबाट आपूर्ति गर्न थालेका छौं,’ उनले भने, ‘अधिकांश मुहानमा पानी सुक्दा भेरीको पानीलाई पम्पिङ गर्न थालिएको हो ।’ भेरीको पानी उपत्यकामा पुर्‍याउन अझैं तीन वर्ष लाग्ने उनको भनाइ छ । करिब २ अर्ब ५१ करोड रुपैयाँको लागतमा भेरीको पानी वीरेन्द्रनगर ल्याउन थालिएको हो ।

प्रकाशित : फाल्गुन १५, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?