सडकले किसानको मुहार उज्यालो

ज्योति कटुवाल

दैलेख — भैरवी गाउँपालिका–७, मान्मकी खगिसरा आचार्यले दुई भैंसी र दुई गाई पालिरहेकी छिन् । दैनिक ११ लिटर दूध बिक्री हुन थालेपछि उनलाई घरखर्च चलाउन समस्या छैन । उनका छिमेकी दीपप्रसाद पौडेलले दैनिक २० लिटर दूध बेचेर मासिक २७ हजार रुपैयाँ कमाइरहेका छन् ।

सडकले किसानको मुहार उज्यालो

मान्मका ५४ घरधुरीमा व्यावसायिक भैंसीपालन भइरहेको छ । गाउँसम्म सडक पुगेपछि दूधले सहज बजार पाएको छ । भाउसमेत बढेको छ । कुसापानीको माटिकोरेदेखि मान्म गाउँसम्मको ग्रामीण सडक निर्माण भएपछि किसान व्यावसायिक पशुपालनमा हौसिएका हुन् । स्थानीय मोहन पौडेलले गाउँमै डेरी खोलेर छुर्पी उत्पादन गरिरहेका छन् । ‘सडक बनेपछि दूधले मूल्य पायो,’ आचार्यले भनिन्, ‘अब न भाउको समस्या छ, न बजारकै ।’ कुनै समय दूध बेच्न तीन घण्टा हिँड्नुपर्ने बाध्यता सडकले हल गरेको उनले सुनाइन् ।


स्थानीय बजारमा दूध प्रतिलिटर ४५ रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि किसानलाई दूध बिक्री गर्न सास्ती थियो । चिप्लो बाटोका कारण वर्षायाममा दूध बाटैमा पोखिने समस्यासमेत किसानले भोग्दै आएका थिए । ‘दूधसँगै अन्य कृषि उत्पादन पनि बजार पुर्‍याउन सहज भएको छ,’ उनले भने, ‘सडक बनेपछि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको भाउ सस्तिएको छ ।’


डेरीमा सबै घरधुरीले न्यूनतम दैनिक ६ लिटर दूध बिक्री गर्छन् । उद्योगले ६ युवालाई नियमित रोजगारी दिइरहेको छ । डेरी सञ्चालक पौडेलले सडक कृषकका लागि ‘बरदान’ साबित भएको बताए । उनका अनुसार अहिले किसानको घरबाटै दूध संकलन हुन्छ । उत्पादित छुर्पी जिल्लाबाहिर जान थालेको छ । दूध बिक्रीबापत किसानले मासिक १५ हजारदेखि ३२ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनले जानकारी दिए । गत वर्ष डेरीले किसानलाई ३१ लाख रुपैयाँ वितरण गरेको थियो । यो वर्ष करिव ४० लाख रुपैयाँको दूध खपत हुने देखिएको पौडेल बताउँछन् ।


गत वर्ष प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई २० भैंसी र ३४ गाई अनुदानमा वितरण गरेको थियो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले दूधको बजारीकरणका लागि विभिन्न सामग्री वितरण गरेपछि किसानलाई व्यावसायिक पशुपालन गर्न सहज भएको छ । परियोजनाले ५० किसानलाई दूध बोक्न कित्ली, बाल्टी र दूध संकलन गर्ने क्यान व्यवस्था गरिदिएको जलस्रोत अधिकृत चक्र भण्डारीले बताए ।


दुग्ध उत्पादक किसानले उज्यालो साना किसान कृषि सहकारी सस्थामार्फत दूधको बजारीकरण गरिरहेका छन् । सहकारी स्थापना गरिएपछि नियमित बचत गर्न र कर्जा लिन सजिलो भएको आचार्यले बताइन् । ‘दूध बेचेर घरखर्च चलाउन धेरै सजिलो भएको छ,’ उनले भनिन्, ‘सहकारीमा नियमित बचत गर्दै आएकी छु ।’


भैरवीमा उत्पादित छुर्पी प्रतिकिलो एक हजारदेखि १२ सय रुपैयाँमा बिक्री भइरहेको छ । दूधमात्र होइन, घीउ र दही बिक्री गरेर किसानले आम्दानी गरिरहेको पौडेलले बताए । उनका अनुसार मान्ममा प्रतिकिलो एक हजार रुपैयाँमा घीउ बिक्री भइरहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?