कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहिलेका विद्यार्थी अहिले सहकर्मी

हरि गौतम

रुकुम पश्‍चिम — पृथ्वीबहादुर नाथले बलबहादुर नाथ र उनको ब्याचलाई पढाए । पछि पृथ्वीबहादुर र बलबहादुर एउटै विद्यालयका सहकर्मी बने । केही समयअघि अनिवार्य अवकाशमा गएका पृथ्वीबहादुर र अहिलेसम्म पनि पठनपाठन गराइरहेका बलबहादुर लामो समय एउटै विद्यालयमा सहकर्मी थिए ।

पहिलेका विद्यार्थी अहिले सहकर्मी

बलबहादुर नाथले गोकर्ण केसी र उनको ब्याचलाई पनि पढाएका हुन् । अहिले दुवैजना एउटै विद्यालयमा पढाउँछन् । बलबहादुर प्राथमिक तह (१–५) पढाउँछन् भने गोकर्ण आधारभूत तह (६–८) पढाउँछन् । कल्पना दाहाल, खलबहादुर केसी, विश्व गौतम, विष्णु नाथ, ध्रुव पौडेल गोकर्णका फरकफरक व्याचका विद्यार्थी हुन् । सबै अहिले गोकर्णका ‘स्टाफ’ छन् ।


बाँफिकोट गाउँपालिका–२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा पुरानादेखि नयाँ शिक्षक एउटै विद्यालयमा पढेका हुन् । विद्यालयका २४ शिक्षकमध्ये अधिकांश शिक्षक पूर्वशिक्षक सत्यबहादुर खत्री, पृथ्वीबहादुर नाथ, गोपीप्रसाद नेपाली, चन्द्रबहादुर केसी र बलबहादुरले पढाएका विद्यार्थी हुन् । ‘मैले पढाएका विभिन्न ब्याचका विद्यार्थी अहिले मेरै स्टाफ छन्,’ बलबहादुरले भने, ‘आफैले कखरा सिकाएका विद्यार्थी आफ्नै स्टाफ बनेको देख्दा खुसी लाग्छ ।’ उनले तत्कालीन प्राथमिक विद्यालयमा २०४२ सालदेखि पढाउन थालेका हुन् । पछिल्लो ब्याचका केही विद्यार्थी सहकर्मी बनेपछि आफूलाई ऊर्जा प्राप्त भएको उनले सुनाए ।


आफ्नै पूर्वशिक्षकसँग सहकर्मीका रूपमा काम गर्न पाउँदा सही पेसा रोजेको अनुभव भएको गौतमले बताए । यसले गर्दा मार्गदर्शन पनि हुने गरेको उनको भनाइ छ । केसीले शिक्षकबीच केही पुस्ताको अन्तर रहे पनि शैक्षिक गुणस्तर कायम गर्न सबैको प्रयास जारी रहेको बताए । ‘हामी उहिल्यै सरहरूलाई सोध्दै पढेका हौं,’ उनले भने, ‘अहिले पनि आवश्यक परेको र कन्फ्युज भएका ठाउँमा उहाँहरूसँग सल्लाह गरेर पढाउँछौं ।’

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?