१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्णाली प्रदेशले विश्‍वद्यालय विधेयक ल्याउँदै

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय बनाउन प्रक्रिया सुरु गरेको छ । यसका लागि सामाजिक विकास मन्त्रालयलाई विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिइएको छ ।

सरकारकी प्रवक्ता विमला केसीले सोमबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक बनाउने प्रक्रिया सुरु भएको जानकारी दिइन् । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमै प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्ने तयारीस्वरूप बजेट छुट्याएको थियो । सामाजिक विकासमन्त्री दल रावलले चालु अधिवेशनमै विधेयक पारित गरी निर्माणको प्रक्रिया सुरु गर्ने जनाएका छन् ।


प्रवक्ता केसीका अनुसार मन्त्रिपरिषद्ले प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पार्न पनि स्वीकृति प्रदान गरेको छ । बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रसारण नियमावली–२०७६ लाई पनि बैठकले स्वीकृत प्रदान गरेको उनले जानकारी दिइन् ।


बैठकले कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति (गठन) आदेश, २०७५ को (प्रथम संशोधन) गर्ने पनि निर्णय गरेको छ । साथै व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि निर्माण गर्न पनि स्वीकृत प्रदान गरिएको केसीको भनाइ छ । बैठकले अत्यावश्यक सेवा र सहरी सौन्दर्यका संरचना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकालाई दमकल, पानी ट्यांकर, डिपबोरिङ र ट्राफिक लाइट व्यवस्थापनको लागि सहयोग गर्ने निर्णयसमेत पारित गरेको छ ।


त्यस्तै, प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण गरिने योजना तथा कार्यक्रमको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डस्’ अन्तर्गत ‘च्याम्पियन अफ ह्युमन एचिभमेन्ट मेमोरी’ मा ‘रेकर्ड’ कायम गर्ने कालीकोटको महावै गाउँपालिका–५ का विजय शाहीलाई २ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरिएको प्रवक्ता केसीले बताइन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?