कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसद् छोडेर विदेश सयर

३ विधेयक दर्ता, १२ दर्ताको प्रक्रियामा
सभामुख भने १५ दिन बैठक स्थगित गरेर भ्रमणमा
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको हिउँदे (पाँचौं) अधिवेशनको दोस्रो बैठक फागुन ३ गते बसेर १५ दिनका लागि स्थगित भयो । ‘बिजनेस’ नपाएरभन्दा पनि सभामुखको विदेश भ्रमणको कारण संसद् बैठक लामो समय स्थगित भएको स्रोतको भनाइ छ ।

संसद् छोडेर विदेश सयर

सभामुख राजबहादुर शाही अहिले जापान र मलेसिया भ्रमणको क्रममा देशबाहिर छन् । उनीसँगै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा पनि भ्रमण गएका छन् । दुबैजना फागुन ६ गते व्यक्तिगत भ्रमणको सिलसिलामा जापान गएका हुन् ।


कर्णाली प्रदेशसभाले आवश्यक कानुन निर्माण गर्न नसकेको र संसद्मा दर्ता भएका विधेयकमाथि पर्याप्त छलफल गराउन नसकेको आरोप खेप्दै आएको छ । पाँचौं अधिवेशनमा महत्त्वपूर्ण कानुन निर्माण हुने अपेक्षा गरिएको छ । तर, सभामुख नै आधा महिनाको लागि बैठक स्थगित गरेर विदेशतिर गएपछि संसदीय गतिविधि सुनसान भएका सांसदहरू बताउँछन् । ‘विदेश जानु अस्वाभाविक होइन, यो उहाँको अधिकार पनि हो,’ प्रदेशसभाका एक सांसदले भने, ‘तर बिनाकारण लामो सयमसम्म संसद् स्थगित गरेर आफैं विदेश जानु राम्रो होइन ।’ संसद् अधिवेशन चलिरहेको बेला त झन् सभामुखजस्तो प्रमुख पदाधिकारी बाहिर जानु गलत रहेको उनले बताए ।


प्रदेश सरकारले चालु अधिवेशनमा १२ वटा विधेयक पेस गर्ने गरी तयारी गरेको छ । यसका साथै मन्त्रिपरिषद् बैठकले थप ३० वटा विधेयक मस्यौदा तयार गर्न मन्त्रालयहरूलाई स्वीकृति प्रदान गरेको छ । आगामी बर्खे (छैटौं) अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा बढी केन्द्रित हुने भएकोले चालु अधिवेशन कानुन निर्माणको दृष्टिले महत्त्वपूर्ण मानिएको छ । तर, माघ २४ गते सुरु भएको पाँचौं अधिवेशनमा दुईवटा बैठकमात्र बसेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठले सभामुखको व्यक्तिगत भ्रमणबारे टिप्पणी गर्नु उपयुक्त नभए पनि सोही कारण अधिवेशन नै प्रभावित हुनु गलत रहेको बताए । ‘हामीले बैठक नियमित बस्नुपर्छ भनेर पटक–पटक संसद्को ध्यानाकर्षण गराउने गरेका छौं,’ उनले भने, ‘तर कहिले बिजनेस नभएर त कहिले अन्य कारणले संसद् रोकिने गर्छ ।’


संसद् सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार अहिले तीनवटा विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् । प्रदेशमा घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयक, कर्णाली पूर्वाधार विकास प्राधिकरण र प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् । कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तीन गतेको संसद् बैठकमा पेस भएको छ ।


उनीहरूले आफ्नो भ्रमणबारे सम्बन्धित निकायमा औपचारिक जानकारी पनि गराएका छैनन् । सचिव बुढाथोकीले व्यक्तिगत भ्रमणको बारेमा जानकारी गराउन आवश्यक नरहेको बताए । ‘कार्यालयकै तर्फबाट प्रतिनिधित्व गरेर जानु परे मात्रै जानकारी गराउन आवश्यक पर्छ,’ उनले भने, ‘सभामुखज्यू आफ्नो व्यक्तिगत भ्रमणका लागि जानुभएको हो, त्यसैले जानकारी गराइराख्नु पर्दैन ।’ मन्त्री बुढा विदेश भ्रमणमा गएकोबारे त मन्त्रालयकै सचिवलाई समेत जानकारी छैन । सचिव कृष्णप्रसाद आचार्यले ‘मन्त्री कहाँ हुनुहुन्छ भन्नेबारे थाहा नभएको’ बताए ।


प्रदेश सरकार र संसद्का पदाधिकारी वैदेशिक निम्तोमा बाहिर जानुपरेको खण्डमा प्रदेश मन्त्रिपरिषद्को बैठकबाट भ्रमण कार्यक्रम निर्णय गराई केन्द्र सरकारबाट स्वीकृत लिएर जानुपर्ने कानुनी प्रावधान छ । प्रमुख सचिव केबलप्रसाद भण्डारीले मन्त्री र सभामुखको भ्रमणबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा औपचारिक जानकारी नभएको बताए । ‘व्यक्तिगत भ्रमणमा जाँदा पनि मन्त्रीले मुख्यमन्त्रीलाई जानकारी गराउनुपर्छ,’ उनले भने, ‘मन्त्रीज्यूले मौखिक रुपमा मुख्यमन्त्रीज्यूलाई जानकारी गराए/नगराएको कार्यालयलाई थाहा भएन ।’


सभामुख शाही र मन्त्री बुढाले भ्रमणमा गएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छैनन् । भ्रमणमा सामेल दैलेखका व्यवसायी बखत भण्डारीले पोस्ट गरेको एउटा फोटोमा भने मन्त्री बुढा देखिएका छन् । कान्तिपुरसँगको फेसबुक कुराकानीमा सभामुख शाहीले फागुन १६ गते नेपाल फर्कने जानकारी गराए ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?