चन्द समूहका नेता रिहालगत्तै पक्राउ
कालीकोट — नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यद्वय नवीन विश्वकर्मा र धिरेन्द्रा उपाध्यायलाई कालीकोट जिल्ला अदालतले साधारण तारेखमा छाडेको केही बेरमै प्रहरीले पुनः पक्राउ गरेको छ ।
विश्वकर्मा पूर्वस्थानीय विकास राज्यमन्त्री र उपाध्याय संविधानसभाकी पूर्वसांसद हुन् । विश्वकर्मा काठमाडौं उपत्यका इन्चार्ज र उपाध्याय ललितपुर जिल्ला सेक्रेटरीको जिम्मेवारीमा हुँदा यसअघि काठमाडौंबाट पक्राउ परेका थिए । दुवैलाई विस्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा लगाएर नख्खु कारागारबाट सुनसरीको धरान हुँदै कालीकोट अदालत ल्याइएको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले सोमबार पर्याप्त प्रमाण नभएको जनाउँदै साधारण तारेखमा छाड्न आदेश दिएको हो । आफन्त र अधिकारकर्मीको बीचबाट दुवैलाई दैलेख प्रहरीमा मुद्दा भएको भन्दै पक्राउ गरिएको हो । उनीहरूलाई दैलेख लगिने प्रहरीले जनाएको छ ।
प्रकाशित : फाल्गुन १२, २०७६ २१:५७