म्याद गुज्रियो, पुल बनेनन्

ठेकेदारको लापरबाहीले सम्झौता अवधि सकिएको ६ महिनासम्म आधा काम पनि भएन
विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्न शारदा नदीमा निर्माण थालिएको पक्की पुल ठेकेदारको लापरवाहीले अलपत्र परेको छ । ६ महिनादेखि निर्माण सामग्रीसमेत निर्माणस्थलमै बेवारिस अवस्थामा छन् ।

२०७६ असार २० गतेसम्म निर्माण सक्ने गरी एसबीए/सूर्य जेभीले ठेक्का लिएको थियो । निर्माणको म्याद सकिएको ७ महिना बित्दासमेत ठेकेदार सम्पर्कविहीन भएपछि स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । पुल निर्माणका लागि कम्पनीले ६ करोड ८० लाख ७२ हजार रुपैयाँमा सम्झौता गरेको थियो ।


पुल निर्माणको काम नहुँदा मोटरसाइकललगायत साना सवारीसाधन वारपारमा समस्या भएको स्थानीय रमेश रेग्मीले बताए । पुल निर्माणको आधा कामसमेत नभएको उनको भनाइ छ । ‘तीनवटा पिलरको काममात्र भएको देखिन्छ, बर्खामा झन् ठूलो सास्ती भोग्नुपर्ने भयो,’ उनले भने, ‘हिउँदमा जसोतसो ठूला गाडी गाउँसम्म जान्छन्, बर्खा लाग्यो भने त ठूलै समस्या हुनेवाला छ ।’


झिम्पेको लंकिनीखोलामा निर्माणाधीन पुल पनि लामो समयदेखि अलपत्र छ । सडक डिभिजन कार्यालय, दाङका अनुसार थाम्पात्य/सेर्पा निर्माण सेवाले खोलामा २५ मिटर लामो पुल निर्माणका लागि २०७५ असार ३१ गते सम्झौता गरेको थियो । २०७६ असार २० गते निर्माण सक्ने गरी जिम्मा लिएको कम्पनीले अहिलेसम्म ६५ प्रतिशतमात्र काम पूरा गरेको डिभिजन कार्यालयले जनाएको छ । पुल अलपत्र परेपछि गाउँ अझैं सडक सञ्जालमा जोडिन नसकेको स्थानीय पूर्ण मगरले बताए । ‘पुल नबन्दासम्म गाउँसम्म सडक जोडिएको छ भन्नु पनि बेकार छ,’ उनले भने, ‘तीन महिनामात्र गाडी चल्दा हामीले अझैं विकासको अनुभूति गर्न सकेका छैंनौं ।’


पुल निर्माण नहुँदा वर्षायाममा खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो समस्या भएको स्थानीय कमल केसीले बताए । उनका अनुसार पुल नहुँदा बर्खाको समयमा सदरमुकाम आउन घण्टौं हिँड्नुपर्ने बाध्यता छ । ‘हिउँदमा ढुवानी गरिएको खाद्यान्न र भण्डारण गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पुल नबन्दा विद्यार्थीको पढाइसमेत बिथोलिने गरेको छ ।’ उनले ६ महिनासम्म गाडी बन्द हुँदा स्थानीय उत्पादन कुहिएर जाने गरेको गुनासो गरे ।


दारिमज्युला–खर्सुबास सडकको पुल पनि निर्माण हुन सकेको छैन । यसले गर्दा उक्त सडक राप्ती लोकमार्गको सञ्जालमा जोडिन सकेको छैन । सडक डिभिजन कार्यालयका इञ्जिनियर रिकेश महर्जनका अनुसार २०७४ असार २१ गते कम्पनीले ७० मिटर लम्बाइको पुल निर्माण गर्ने ठेक्का लिएको थियो । अहिलेसम्म ५० प्रतिशत कामसमेत पूरा नभएको उनले बताए ।


छत्रेश्वरी–६ का वडाध्यक्ष चुडामणि दसौदीले पुल निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । पुल निर्माणको क्रममा ठेकेदारले नदीजन्य सामग्रीको दोहनसमेत गरेको उनको आरोप छ । ‘ठेकेदार कम्पनी कालोसूचीमा परेको हल्ला छ,’ उनले भने, ‘पुल अलपत्र पर्दा सरकारी लगानी खेर गएको छ, स्थानीयले वर्षौंदेखि सास्ती भोगिरहेका छन् ।’ पुल निर्माणकै क्रममा ठेकेदार कम्पनीले दुईवटा सिँचाइ योजना अलपत्र पारेका छन् ।


पुलको पिलर निर्माण गर्ने क्रममा सिँचाइ योजना पुरिएका वडाध्यक्ष दसौदीले बताए । ‘गाउँका सबै खेत पाखोवारीमा परिणत भएका छन्,’ उनले भने, ‘सिँचाइ कुलो पुरिएपछि करिब ९० रोपनी खेतमा सिँचाइ गर्न समस्या भएको छ ।’ प्रकाशित : फाल्गुन १२, २०७६ १०:४७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सीपले बनायो आत्मनिर्भर

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका–३, कैनाकी ३८ वर्षीया प्रेमकला रानाले ६ वर्षदेखि सिलाइकटाइ व्यवसाय गरिरहेकी छिन् । रानाले कैनाबजारमा सञ्चालन गरेको टेलरिङ सेन्टरको आम्दानी मासिक ३५ हजार रुपैयाँ छ । सोही गाउँकी धर्मी पुन पनि तीन वर्षदेखि सिलाइकटाइ व्यवसायमै छिन् ।

व्यवसायबाट मासिक आम्दानी हुने २५ हजार रुपैयाँले उनको घरखर्च मात्र चल्दैन, नियमित बचत पनि बढिरहेको छ ।विगतमा खेतबारी, चुलो–चौको र मेलापातमै व्यस्त रहने प्रेमकला र धर्मीजस्ता महिला पछिल्लो समय सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । आम्दानी बढ्न थालेपछि घरखर्च चलाउन सजिलो भएको छ । आफ्नै कमाइबाट घरघडेरी जोड्ने क्रम बढिरहेको छ । विगतमा दलित समुदायले अपनाउँदै आएको सिलाइकटाइ व्यवसायमा सबै जातिका महिलाको आकर्षण बढिरहेको हो । घरेलुलगायत विभिन्न संघसंस्थाबाट तालिम पाएपछि दुर्गममा समेत सिलाइकटाइ फस्टाएको पुनले बताइन् ।

भेरी नगरपालिका–३, सिमलगैरीकी पानसरी नेपाली पनि सिलाइकटाइबाट राम्रो आम्दानी गर्ने व्यवसायी हुन् । उनको महिनाको न्यूनतम आम्दानी ३० हजार रुपैयाँ छ । पुर्ख्यौली व्यवसायलाई व्यावसायिक बनाउँदा आत्मनिर्भर बन्न धेरै सजिलो भएको उनी बताउँछिन् । १३ वर्षदेखि व्यवसायमा लागेकी उनी अन्य महिलालाई सिलाइकटाइ तालिमसमेत दिन्छिन् । ‘सिलाइकटाइको भाउ बढेपछि आम्दानी पनि बढेको छ,’ उनले भनिन्, ‘सानो बजारमा समेत टेलरिङ सेन्टर खुल्ने क्रम बढ्दैछ ।’ बिहान सबेरैदेखि साँझ अबेरसम्म लुगा सिलाउदै दिन बित्ने उनले सुनाइन् ।

रानाको टेलरिङ पसलमा अहिले १० महिलाले सिलाइ सीप सिकिरहेका छन् । व्यवसायले घरखर्च चलाउन र छोराछोरी पढाउन निकै सजिलो भएको उनको भनाइ छ । महिलाले आफ्नो खर्च आफैं जुटाएर नियमित बचत गर्न थालेका उनले बताइन् ।

सिलाइ कटाइबाहेक स्वीटर वुन्ने, अल्लोको धागो बनाउने, दुनाटपरी गाँस्नेलगायत सीप सिकेर महिला आत्मनिर्भर बन्ने क्रम बढिरहेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका उद्योग अधिकृत चन्द्रप्रकाश कँडेलले बर्सेनि महिलाहरू विभिन्न सीप सिकेर स्वरोजगार बन्ने क्रम बढिरहेको बताए । उनका अनुसार कार्यालयबाट वार्षिक करिब एक सय महिलाले विभिन्न तालिम लिने गरेका छन् । ‘उद्यमी महिलाको मागलाई ध्यानमा राखेर कार्यक्रम बन्छन्,’ उनले भने, ‘पछिल्लो समय सिलाइकटाइमा महिलाको आकर्षण बढी छ ।’ उनले जिल्लाभरि करिब ५० टेलरिङ सेन्टर महिलाले सञ्चालन गरिरहेका जानकारी दिए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×