कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

छुटेन ओखलको भर

तुलाराम पाण्डे

कालीकोट —  पाँच दशक नाघिसक्यो । १३ वर्षको उमेरमा पहिलोपटक ओखल समातेकी नरहरिनाथ–१ कोटवाडाकी ६३ वर्षीया मंगली विष्टले अझै पनि गाउँका दिदीबहिनीलाई धान कुट्न सघाउँछिन् । विवाहको मौसम भएकाले पनि जन्तीलाई भात खुवाउन धान कुटेर चामल निकाल्न स्थानीयलाई भ्याइनभ्याई छ । ‘हाम्मा (हाम्रो) त हात नै मिल हुन्,’ मंगलीले भनिन्, ‘धान कुट्दै, जाँतो पिस्दै जुनी बित्यो ।’

छुटेन ओखलको भर

विकासक्रममा गाउँगाउँमा सडक र बिजुली पुगे पनि ग्रामीण क्षेत्रमा महिलाका हातमा भने ‘हाते मिल’ मानिने ओखल र मुसल छुटेका छैनन् । स्थानीय गंगाबहादुर विष्टको घरमा विवाह उत्सवमा एक दिनमै दुई बोरा धान कुटेको मंगलीले सुनाइन् । कोटवाडाको लामापहरामा धान कुट्ने र तेल पेल्ने ठूल्ठूला दुईवटा ओखल छन् । दुईवटा ओखल भएकालाई ‘जौला ओखल’ भनिन्छ । गाउँमा विवाह, जन्म, मेलापर्व भए स्थानीय त्यहीँको ओखलमा धान कुट्न आउँछन् ।


जमुना विष्टले सामूहिक रूपमा साथीसँग धान कुट्दा रमाइलो हुने बताइन् । ‘घरको धान एक्लै कुट्दा अल्छी लाग्छ,’ उनले भनिन्, ‘समूहमा गाउँका धेरै दिदीबहिनीसँग काम गर्दा सुख–दुःखका बात मार्दै काम गर्दा रमाइलो पनि हुन्छ ।’


कालीकोटमा परम्परागत ओखलमा धान कुटेर भात खाने बाध्यता अझै टरेको छैन । यहाँका अधिकांश नागरिकले ओखलमा कुटेको चामल नै पकाएर खाने गरेको जिल्ला घरेलु तथा साना उद्योग समितिका सदस्य जनक शाहीले बताए । ठूलो ढुंगालाई फलामले खोपेर कडा काठ (सानन, साल, ठिन्के) को मुसल बनाएर धान कुट्ने गरिन्छ ।


खाँडाचक्रको ताडी, थिर्पु, रास्कोट, लालु, गेलाको कुनी, मेहेलमुडी, चिल्खायालगायत सीमित ठाउँमा धान कुट्ने मिल सञ्चालन भए पनि धेरै स्थानीय परम्परागत ओखलमा मुसलले धान कुट्छन् । मिल हुँदा महिलाको कार्यबोझ घट्ने भए पनि विपन्न महिला मिल नजाने गरेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढा बताउँछिन् । आयमूलक काममा जोड्न सीपमूलक तालिमसहित सुधारिएको घट्ट, कुटानीपिसानी मिल सञ्चालन गर्न गाउँपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरिरहेको उनको भनाइ छ ।


जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लाभर चार हजार परम्परागत घट्ट, प्रत्येक घरधुरीमा ओखल र मुसल तथा १२ ठाउँमा कुटानीपिसानी मिल सञ्चालनमा छन् । विद्युत्को पहुँच नभएको ठाउँमा डिजेलबाट मिल चलाउनुपरेकाले कुटानीपिसानी महँगो पर्ने गरेको खाँडाचक्र नगरपालिका–३, ताडीका मिल सञ्चालक खड चौलागाईंले बताए । उनले मकै पिसेको र धान कुटेको प्रतिकिलो ५ रुपैयाँ लिने गरेका छन् ।


प्रकाशित : फाल्गुन १२, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?