कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषादी प्रयोगशाला बन्दै

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले हर्रेमा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न लागेको छ । तत्काल जग्गा नभेटिएपछि हर्रे नजिकै छिन्चुमा घर भाडामा लिएर प्रयोगशाला स्थापना गर्ने गृहकार्य सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेसँगै प्रदेश सरकारले गत आर्थिक वर्षमा हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला केन्द्र बनाउन १ करोड बजेट विनियोजन गरेको थियो । हर्रेमा जग्गा नभेटिएपछि बजेट फ्रिज भएको थियो । कपुरकोटमा भने करिब ३९ लाख रुपैयाँमा भवन बनिसकेको मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले जानकारी दिए । ‘हर्रेमा जग्गा खरिद गरेर भवन नबन्दासम्म छिन्चुमा भाडाको घरमा प्रयोगशाला चलाउने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘यही आर्थिक वर्षबाट दुबै ठाउँबाट विषादी परीक्षणको काम सुरु हुनेछ ।’


मन्त्रालयले प्रयोगशालाका लागि आवश्यक मेसिन खरिद गर्न करिब ३५ लाख रुपैयाँमा टेण्डर गरिसकेको छ । मेसिन खरिद भएपछि करारमै भए पनि कर्मचारी नियुक्त गरेर प्रयोगशाला सञ्चालनमा ल्याइने पण्डितले बताए । हाल वीरेन्द्रनगरमा मन्त्रालयमातहत एकीकृत कृषि प्रयोगशाला छ । प्रयोगशालामा माटो, मल, बीउ–बिजन तथा बालीको परीक्षण हुने गर्छ । प्रयोगशालामा १८ जना कर्मचारीको दरबन्दी छ । परीक्षणका लागि आवश्यक उपकरण नहुँदा प्रभावकारी रुपमा काम हुन सकेको छैन ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?