संस्कृति जोगाउन गाउँगाउँमा समूह 

विप्लव महर्जन

(सल्यान) — त्रिबेणी गाउँपालिकाले स्थानीय संस्कृति संरक्षणका लागि गाउँगाउँमा विभिन्न समूह गठन गरेको छ । विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न लोपोन्मुख नाच, गीत, बाजालगायत प्रर्दशन गर्दै आइरहेका छन् । 

संस्कृति जोगाउन गाउँगाउँमा समूह 

त्रिबेणीका ६ वडामा गठन भएका १५ समूहले बुधबार लुहाममा स्थानीय संस्कृतिको प्रतिस्पर्धा गरे । प्रतिस्पर्धामा सहभागी समूहले सोरठी, लहरे, पैसरी, बन्गाडी टप्पालगायत नाच, गीत र बाजागाजा प्रस्तुत गरेका थिए । ४० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक सहभागी कार्यक्रमले युवापुस्तालाई समेत परम्परागत संस्कृति संरक्षणका लागि प्रेरणा प्रदान गरेको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । ‘प्रतिस्पर्धा गराएरै युवापुस्तालाई मौलिक संस्कृति संरक्षणमा आवद्ध गराउन खोजिएको हो,’ उनले भने, ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने हाम्रो योजना छ ।’ उनका अनुसार गाउँपालिकाले प्रतिस्पर्धा गराएको यो पहिलो अवसर होइन । स्थानीय सरकार गठन भएसँगै वर्सेनि यस्ता प्रतिस्पर्धा गराइरहेको उनले जानकारी दिए । कार्यक्रममा सहभागी समूहले दिनभर झाँकी, गीत, नाच तथा बाजागाजाको प्रर्दशन गरे ।


प्रतिस्पर्धाले विगतका दिन सम्झाएको ७५ वर्षीय लिलाधर ओलीले बताए । उनी पिमखोलामा गठन भएको सोरठी संरक्षण समूहका अगुवासमेत हुन् । ‘कृष्ण र गोपिनीको प्रेम सम्बन्धलाई आधार बनाएर नृत्य प्रस्तुत गरिने सोरठीकै कारण हाम्रा पुर्खा देशभर चिनिए,’ उनले भने, ‘पुराना लोकभाका, नाच र बाजागाजासँग हाम्रो अस्थित्व जोडिएको छ, गाउँपालिकाले यस्ता प्रतियोगिता महिनैपिच्छे आयोजना गर्न जरुरी छ ।’ उनले युवापुस्तालाई संस्कृति हस्तान्तरण गर्न जरुरी रहेको औल्याए । उनका अनुसार सोरठीनाचको उद्गम थलो नै पिमखोला हो ।


अघिल्ला पुस्ताले बसाइसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट त्रिवेणीमा सोरठी भित्र्याएको ६० वर्षीय चन्दबहादुर ओलीले बताए । उनका अनुसार पिमखोलाबाटै जिल्लाभरि सोरठी नाच फैलिएको हो । ‘सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, केतुकीको कपाल र चुरापोते लगाउँछन्,’ उनले भने, ‘पुरुषले दौरा–सुरुवाल, स्टकोट, कम्पनीमाला र शिरमा शेली लगाएर बाजाको तालमा नृत्य गर्छन् ।’


आधुनिक बाजा र संगीतका कारण पैसरी नाच लोप भएको स्थानीय अगुवा धनवीर ओलीले जनाए । उनका अनुसार मगरको मुख्य नाच मानिने पैसरी बाजाको तालमा गोलो घेरा बनाएर नाचिन्छ । नयाँ पुस्ताले सिक्न नचाहेका कारण समूह गठन गरी सार्वजजिक जमघटमा नाच देखाइन थालिएको उनको भनाइ छ । मौलिक संस्कृति संरक्षणका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरी वर्सेनि बजेट विनियोजन गरिरहेको गाउँपालिका अध्यक्ष डाँगीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?