सानीभेरीमा गाउँपालिका अस्पताल

गाउँपालिकाले संवैधानिक व्यवस्था कार्यान्वयन गर्दै छोटेबगरस्थित स्वास्थ्यचौकीलाई १५ शरयाको अस्पतालमा रुपान्तरित गरेको हो
हरि गौतम

रुकुम पश्‍चिम — सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पतालबाट उपचार सुरु गरेको छ । ७ नम्बर वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो । 

अस्पतालमा डा. कविन बस्नेत नेतृत्वमा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार थालेका छन् । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले करारमा केही स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति नियुक्त गरेका छ । गत आर्थिक वर्षबाट थालिएको पूर्वाधार निर्माणको काम सकिएपछि गत शुक्रबार प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अस्पतालको उद्घाटन गरे ।


‘नेपालको संविधानमा हरेक गाउँपालिकामा १५ र नगरपालिकामा २५ शय्याको अस्पताल हुने व्यवस्था गरिएको छ,’ गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने, ‘अस्पताल सञ्चालनका विधि प्रक्रियाबारे स्थानीय सरकार सञ्चालन ऐनमा प्रष्ट छ । सोही ऐनका आधारमा अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।’ उनका अनुसार अस्पताल सञ्चालन कार्यविधि लागू गरी अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दी संख्या पनि एकीन गरिएको छ ।


गाउँपालिकाका स्वास्थ्य संयोजक छवीलाल केसीले १५ शय्याको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक/एक जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने ३ जना एमबीबीएस डाक्टरको दरबन्दी कायम गरिएको छ । कार्यविधिअनुसार स्वास्थ्यकर्मीबाहेक प्रशासक, कार्यालय सहयोगी र पालेसमेत गरी ३२ जनाको दरबन्दी स्वीकृत गरिएको उनको भनाइ छ । ‘अस्पताल भर्खरै सञ्चालनमा आएकाले सबै दरबन्दीमा स्वास्थ्यकर्मी भर्ना गर्न सकिएन,’ संयोजक केसीले भने, ‘पहिलो चरणमा एमबीबीएसको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरी उपचार सुरु गरिएको हो ।’ उनले गुणस्तरीय उपचार प्रवाह गर्नका लागि छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको जनाए ।


अस्पतालमा एक चिकित्सकसहित एक/एक स्टाफ नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा प्रवाह थालेका हुन् । अस्पतालबाट बहिरंग, अन्तरंग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्सरे र सामान्य सल्यक्रिया सेवा सुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष पुनले प्रतिकारात्मक, प्रवर्द्धनात्मक, परिवार नियोजन, क्षय–कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको जानकारी दिए । उनका अनुसार सुलभ शुल्कमा गुणस्तरीय उपचार प्रवाह हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । वडा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि अस्पतालबाट उपचार सुरु गरिएको उनको भनाइ छ । ‘स्वास्थ्य जनताको आधारभूत आवश्यक्ता हो र संविधानबाट प्रदत्त अधिकार पनि,’ उनले भने, ‘त्यसैलाई मूर्तरुप दिन अस्पताल निर्माणको प्रयास थालेका थियौं, सफल पनि भइयो ।’ उनले सीमित स्रोत साधनबाट अस्पतालको सेवा सुरु गरेको भन्दै क्रमशः सुविधा थपिने जानकारी दिए । गाउँमै अस्पताल स्थापना भएपछि कुनै रोग वा चोटपटक लागेमा जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमल केसीले बताए । ‘सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ, वडा वडामा सामुदायिक स्वास्थ्य इकाई छन्,’ उनले भने, ‘अस्पताल पनि सुरु भएपछि स्थानीय सरकारको अनुभूति भएको छ ।’ जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल सुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो । यसअघि आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।


जिल्ला अस्पताल प्रदेशमा रूपान्तरित

वीरेन्द्रनगर– कुनै समय मुस्किलले एक जनामात्र डाक्टर हुने सुर्खेत जिल्ला अस्पताल अहिले कर्णाली प्रदेश अस्पतालमा रुपान्तरित भएको छ । खरले छाएको दुईतले भवन (स्वास्थ्य तालिम केन्द्र भएको स्थान) मा स्वास्थ्यकर्मी र औषधि नहुँदा बिरामीलाई उपचारका लागि नेपालगन्ज, काठमाडौं र भारतको लखनउसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । प्रदेश अस्पतालमा अहिले १६ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् भने डाक्टरको संख्या २२ छ ।


२०२९ सालदेखि ६२ सालसम्म १५ शय्याको जिल्ला अस्पतालले पूर्वाधार, उपकरण र औषधिको अभाव झेलिरह्यो । ०६२ फागुन ७ गते ५० शय्याको बनेपछि सोही अस्पतालले क्षेत्रीय अस्पतालको मान्यता पायो । क्षेत्रीय अस्पताल भएलगत्तै सरकारले अस्पतालमा स्वीकृत गरेका २४ जना चिकित्सकको दरबन्दीले कहिल्यै पूर्णता पाएन । आव ०६२/६३ देखि ०७१/७२ सम्म ११ जना चिकित्सक मात्रै सरकारले तथ्यांक अस्पतालसँग छ । ‘बिरामीलाई सहज सेवा दिन नसकेको गुनासो सधैं सुनिन्थ्यो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले भने, ‘अस्पतालले उपचारमा लापरवाही गरेको भन्ने आरोप पनि पटकपटक लाग्यो ।’ विभिन्न आरोहअवरोह पार गर्दै अस्पताल केही सन्तोषजनक अवस्थामा पुगेको उनी बताउँछन् ।


गत कात्तिक १३ गतेदेखि क्षेत्रीय अस्पताल प्रदेश अस्पतालको रुपमा सञ्चालित छ । करिब चार वर्षयता अस्पतालले गुणात्मक र भौतिक रूपमै सेवा सुधार्दै लगेको छ । डा. खड्काले दक्ष जनशक्ति तथा अत्याधुनिक उपकरणको व्यवस्थापन तथा प्रभावकारी सेवाले अस्पतालप्रति विश्वास बढेको बताए । उनका अनुसार कुनै समय विशेषज्ञ चिकित्सकै नबस्ने अस्पतालमा अहिले स्वास्थ्यकर्मी अभाव छैन । १६ जना विशेषज्ञ चिकित्सक छन् । तीमध्ये १२ जना कर्णालीवासी भएकाले दक्ष चिकित्सकको अभाव नभएको उनले जनाए । अस्पताल प्रशासनका अनुसार अहिले २२ एमबीबीएस र एमडी डाक्टरले बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार प्रदेश सरकारले सेवाविस्तार गर्ने योजना बनाएपछि थप राहत मिलेको हो  ।


प्रदेश मातहत गएपछि सरकारले अहिले एक सय २५ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । त्यसमध्ये चिकित्सकको दरबन्दी ७७ जना छ । अस्पतालका अनुसार अहिले सरकार र आन्तरिक स्रोतबाट एक सय १५ शय्यामा बिरामीको उपचार भइरहेको छ । भौतिक पूर्वाधारमा पनि अस्पतालले फड्को मारेको डा. खड्काको भनाइ छ । उनका अनुसार करिब ५५ करोड रुपैयाँ लागतमा तीन सय शय्या क्षमताको भवन निर्माण भएको छ । उक्त भवनमा वैशाखदेखि तीन सय शय्याको सेवा दिनेगरी तयारी भइरहेको उनले जानकारी दिए । प्रकाशित : फाल्गुन ९, २०७६ ०९:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

झोलुंगेबाटै सवारी

विप्लव मर्हजन

सल्यान — बाग्चौर–कोटमौला सडकअन्तर्गतको शारदाखोलामा पक्की पुल नहुँदा सवारीसाधन झोलुंगे पुलबाटै तार्नुपर्ने बाध्यता छ । यहाँबाट दैनिक ५० बढी मोटरसाइल वारपार हुन्छन् । 

झोलुंगे पुलबाटै मोटरसाइकल लैजाँदा जोखिम बढ्नुका साथै पुलसमेत जीर्ण बन्न थालेको छ । ‘पक्की पुल भए गाउँसम्म सडक सुविधा भएको अनुभूति हुन्थ्यो,’ स्थानीय कमल केसीले भने, ‘पुल नबन्दा जोखिम मोलेरै झोलुंगे पुलबाट वारपार गराउनुपर्ने बाध्यता छ ।’ कोटमौलाका थलबहादुर डाँगीले सरकारी निकायको बेवास्ताका कारण सडक पुगे पनि बाह्रै महिना गाडी सञ्चालन गर्न समस्या भएको जनाए । ‘अहिले पनि पानी घुँडासम्म आउँछ, खोलाबाट लैजाँदा बगाउने र ढुंगाका कारण बाइक पल्टने समस्या हुन्छ,’ उनले भने ।

उनले पुल निर्माणमा स्थानीय सरकारले पनि बेवास्ता गरेको आरोप लगाए । स्थानीय भूपेन्द्र देवकोटाका अनुसार पुलमा जडान गरिएका फलामका पाताले मोटरसाइकलको टायर पञ्चर हुने जोखिम उत्तिकै छ । ‘पुलको बार पनि गतिलो छैन,’ उनले भने, ‘मोटरसाइकल पल्टेमा सिधै खोलामा खस्ने डर हुन्छ ।’ आफ्नो यात्राको सहजताका लागि स्थानीयले वर्षौदेखि जोखिम उठाइरहेको उनको भनाइ छ ।

स्थानीयले राजनीतिक पहुँच नहुँदा पुल निर्माणमा ढिलाइ भएको गुनासो गरेका छन् । पुल निर्माण नहुँदा सडकमा हिउँदमा मात्रै यातायातका साधन सञ्चालन हुन्छन् । पुल निर्माण नहुँदा वर्षायाममा घण्टौं हिड्नुपर्ने बाध्यता छ,’ स्थानीय गोविन्द केसीले भने, ‘सडक भन्नु मात्रै छ, पुल नबनेसम्म हाम्रा सुखका दिन आउँदैनन् ।’ उनले पुलकै समस्याका कारण वर्षायाममा कृषिजन्य उत्पादनले बजार पाउन नसकेको गुनासो गरे ।

बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले पुल निर्माणका लागि केही समयअघि सर्भे गरिएको जानकारी पाएको बताए । उनका अनुसार पुल निर्माणको लागि खोला आसपासका क्षेत्रको माटो परीक्षणसमेत भइसकेको छ । ‘स्थानीय सरकारसँग पक्की पुल निर्माण गर्न पर्याप्त बजेट छैन,’ उनले भने, ‘सडक डिभिजन कार्यालयमार्फत पुलका लागि टेन्डर आव्हानको तयारी भइरहेको जानकारी पाएको छु ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×