झोलुंगेबाटै सवारी

विप्लव मर्हजन

सल्यान — बाग्चौर–कोटमौला सडकअन्तर्गतको शारदाखोलामा पक्की पुल नहुँदा सवारीसाधन झोलुंगे पुलबाटै तार्नुपर्ने बाध्यता छ । यहाँबाट दैनिक ५० बढी मोटरसाइल वारपार हुन्छन् । 

झोलुंगेबाटै सवारी

झोलुंगे पुलबाटै मोटरसाइकल लैजाँदा जोखिम बढ्नुका साथै पुलसमेत जीर्ण बन्न थालेको छ । ‘पक्की पुल भए गाउँसम्म सडक सुविधा भएको अनुभूति हुन्थ्यो,’ स्थानीय कमल केसीले भने, ‘पुल नबन्दा जोखिम मोलेरै झोलुंगे पुलबाट वारपार गराउनुपर्ने बाध्यता छ ।’ कोटमौलाका थलबहादुर डाँगीले सरकारी निकायको बेवास्ताका कारण सडक पुगे पनि बाह्रै महिना गाडी सञ्चालन गर्न समस्या भएको जनाए । ‘अहिले पनि पानी घुँडासम्म आउँछ, खोलाबाट लैजाँदा बगाउने र ढुंगाका कारण बाइक पल्टने समस्या हुन्छ,’ उनले भने ।


उनले पुल निर्माणमा स्थानीय सरकारले पनि बेवास्ता गरेको आरोप लगाए । स्थानीय भूपेन्द्र देवकोटाका अनुसार पुलमा जडान गरिएका फलामका पाताले मोटरसाइकलको टायर पञ्चर हुने जोखिम उत्तिकै छ । ‘पुलको बार पनि गतिलो छैन,’ उनले भने, ‘मोटरसाइकल पल्टेमा सिधै खोलामा खस्ने डर हुन्छ ।’ आफ्नो यात्राको सहजताका लागि स्थानीयले वर्षौदेखि जोखिम उठाइरहेको उनको भनाइ छ ।


स्थानीयले राजनीतिक पहुँच नहुँदा पुल निर्माणमा ढिलाइ भएको गुनासो गरेका छन् । पुल निर्माण नहुँदा सडकमा हिउँदमा मात्रै यातायातका साधन सञ्चालन हुन्छन् । पुल निर्माण नहुँदा वर्षायाममा घण्टौं हिड्नुपर्ने बाध्यता छ,’ स्थानीय गोविन्द केसीले भने, ‘सडक भन्नु मात्रै छ, पुल नबनेसम्म हाम्रा सुखका दिन आउँदैनन् ।’ उनले पुलकै समस्याका कारण वर्षायाममा कृषिजन्य उत्पादनले बजार पाउन नसकेको गुनासो गरे ।


बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले पुल निर्माणका लागि केही समयअघि सर्भे गरिएको जानकारी पाएको बताए । उनका अनुसार पुल निर्माणको लागि खोला आसपासका क्षेत्रको माटो परीक्षणसमेत भइसकेको छ । ‘स्थानीय सरकारसँग पक्की पुल निर्माण गर्न पर्याप्त बजेट छैन,’ उनले भने, ‘सडक डिभिजन कार्यालयमार्फत पुलका लागि टेन्डर आव्हानको तयारी भइरहेको जानकारी पाएको छु ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?