कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानवसेवामा ‘सिर्जना–सञ्‍जिता’

ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — हेटौंडाकी सिर्जना ओलीले व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । जागिरमा रुची नभएपछि उनले रोजिन्–समाजसेवा । उनको समाजसेवाको अभियानमा जोड्न पुगिन् –काभ्रेकी सञ्जिता गौतम । 

अहिले दुवैजनाको दैनिकी वीरेन्द्रनगरस्थित मानवसेवा आश्रममा बित्छ । सडकबाट उद्धार गरिरहेका व्यक्तिको सेवामा खटिरहेका उनीहरूलाई देख्दा आश्रममा पुग्ने जोकोही पनि दंग पर्छन । वीरेन्द्रनगर–१२, नेवारस्थित आश्रममा सडक पेटीमा बस्दै आएका ज्येष्ठ नागरिकलाई उद्धार गरी खोलिएको आश्रममा ४६ जना आश्रित छन् । २०७५ सालबाट विभिन्न सडक पेटीमा बस्ने व्यक्तिलाई उद्धार गरी सुरु गरेको उनीहरूकै अभियानकै कारण कर्णाली ‘सडक मानव’ विहीन बन्न सफल भएको छ । प्रदेश सरकारले माघ ४ गते कर्णालीलाई ‘सहयोगापेक्षी सडक मानवरहित’ प्रदेश घोषणा गरिसकेको छ । कर्णाली सहयोगापेक्षी सडक मानवरहित पहिलो प्रदेश हो ।


२५ वर्षीय सिर्जना र २२ वर्षिया सञ्चिताको लोभलाग्दो सेवामा खटिएको देख्दा आश्रममा पुग्ने जोकोहीले पनि उनीहरूलाई स्यावासी दिन्छन् । जागिर खाएर घर–परिवार सम्हालेर बस्नुपर्ने समयमा उनीहरू अहिले पूर्व ‘सडक मानव’सँगै रमाइरहेका छन् । ‘हाम्रो दैनिकी मुठ्ठीदान जुटाउँदै बित्छ, उहाँहरूको दिसा धुनुपर्छ,’ आश्रय लिइरहेको ज्येष्ठ नागरिकलाई देखाउँदै गौतमले भनिन्, ‘दुःख पाएका आमाबुवाको सेवा गर्न पाउँदा हामीलाई कुनै हिनताबोध छैन् ।’ सबैभन्दा ठूलो धर्म नै मानवसेवा भएको उनी बताउँछिन् । सुरुसुरुमा घरपरिवारबाटै साथ नपाएका उनीहरू अहिले सबैको स्यावासी पाउँदा खुसी छन् । उनीहरू आश्रममा मात्र हैन, मानवता प्रर्वद्धन अभियान लिएर कर्णालीका स्कुल, कलेज, टोल–टोलमा पुगिरहेका छन् । दुवैजना कहिले घरदैलोमा सहभागी हुन्छन् भने कहिले प्रशिक्षणमा । ‘भविष्यमा कर्सले पनि आफ्ना आमाबुबालाई सडक र आश्रममा ल्याएर नछाडुन् भनेर घरदैलो र प्रशिक्षण अभियान चलाइरहेका छौं,’ गौतम भन्छिन्, ‘हामीलाई आश्रममा देखेर दाताको सहयोग बढिरहेको छ ।’


ओलीले सानै उमेरदेखिको समाजसेवाको रुची पूरा गर्न कर्णाली आइपुगेकै बताइन् । हेटौंडा उपमहानगरपालिका–४ मा मुख्य कार्यालय रहेको आश्रमले मुलुकका विभिन्न सहरमा सडकपेटीमा पेशेवर मगन्ते, मनोरोगी, अपांगता भएका व्यक्तिलगायतलाई खोजी गरि उद्धारको अभियान सुरु गरेको हो । हेटौडाको भेटले दुवैलाई कर्णालीको सेवा गर्ने मौका जुराएको ओलीको भनाइ छ ।


समाजसेवाको अभियानलाई चितवन, काठमाडौं, भक्तपुर, पोखरा, गोरखा, बाग्लुङ र कैलाली हुँदै सुर्खेत पुर्‍याइएको ओलीले जनाइन् । प्रकाशित : फाल्गुन ८, २०७६ १०:०५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वर्षाले आकासियो इँटाको मूल्य

भवानी भट्ट

कञ्‍चनपुर — हिउँदे वर्षाका कारण कञ्चनपुरमा इँटाको अभावसँगै मूल्यसमेत अकासिएको छ । इँटाको अभावले पूर्वाधार निर्माणदेखि अन्य निर्माणका काम प्रभावित भएका छन् । स्थानीयले घर बनाउन सहजै इँटा पाउन सकेका छैनन् ।

‘जग हालेको एक महिना भयो, इँटा नपाएर काम रोकिएको छ,’ भीमदत्त नगरपालिका–५ का अनिल रानाले भने, ‘एक/दुई ठाउँमा अलिअलि पाइएको थियो, त्यो पनि महँगो भएर किन्न सकिएन ।’ रानाका अनुसार दुई महिना अघिसम्म प्रतिइँटाको मूल्य १३ रुपैयाँ थियो । अहिले १८ रुपैयाँ तिर्दा पनि सहजै पाउन सकिने अवस्था छैन । ‘घर निर्माणको खर्च सोचेभन्दा बढी लाग्ने भएको छ,’ रानाले भने, ‘मूल्य घट्ने आश गरेर काम रोकेको छु ।’

सार्वजनिक पूर्वाधार निर्माणकार्य पनि प्रभावित भएको व्यवसायीहरू बताउँछन् । कञ्चनपुरमा तीन दर्जनभन्दा बढी इँटा उद्योग सञ्चालनमा छन् । यस वर्ष कुनै पनि उद्योगले उत्पादन गर्न सकेका छैनन् । पुराना इँटाको मूल्य पनि बढेको छ । पुराना इँटा खरिद गरेर काम गर्दा धेरै घाटा हुने व्यवसायीहरू बताउँछन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका निर्माण व्यवसायी गणेशदत्त जोशीले भने, ‘फागुन अन्तिमसम्ममा इँटा उत्पादन सुचारु हुने देखिन्छ । त्यसपछि केही सहज हुन्छ कि ।’ उनले इँटा नपाएर दुई/तीन ठाउँमा काम रोकिएको बताए ।

सामान्यतया मंसिरमै उत्पादन सुरु हुने भए पनि यो वर्ष हालसम्म सुरु हुन नसकेको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुडाल बताउँछन् । उनका अनुसार मौसम खराब नभए फागुन अन्तिमसम्म इँटा उत्पादन भएर सहज रूपमा उपलब्ध हुनेछ । तर मौसम प्रतिकूल बने अझै एक/डेढ महिना लाग्ने उनको भनाइ छ । ‘वर्षाका कारण हरेक उद्योगले नोक्सान व्योहोर्नु परेको छ,’ बुडालले भने, ‘त्यसैकारण भएको इँटासमेत महँगो हुन गएको हो ।’ इँटा तथा टायल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्द अहिले कुनै पनि उद्योगमा इँटा स्टक नभएको बताउँछन् ।

यस वर्ष वर्षाका कारण अधिकांश उद्योगले नोक्सानी व्यहोरेको उनले बताए । चन्दका अनुसार काँचो इँटा गलेर एउटै उद्योगमा २०/३० लाखसम्मको नोक्सानी भएको छ । उत्पादन नहुँदा भारतीय कामदारसमेत फिर्ता भइसकेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×