दुर्घटनामा घाइते मेजरको मृत्यु

विप्लव महर्जन

सल्यान — गाडी दुर्घटनामा घाइते भएका सवुजगण सल्यानका मेजर ईश्वर सिलवालको उपचारका क्रममा मृत्यु भएको छ । ३५ वर्षीय सिलवालको काठमाण्डौको छाउनीस्थित सेनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सवुजगणले जानकारी दिएको छ । 

सल्यानको सिमखर्कस्थित सेनाको ब्यारेकको लु १ त १२३ नम्बरको ट्रक गत माघ २९ गते सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको थियो।


दर्घटनामा सवुजगण सिमखर्कमा कार्यरत जमदार यादब भडेलको घटनास्थलमै मृत्यु भएको थियो। सेनानी जयप्रकास बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशमलित मगर, बिपिन श्रेष्ठ घाइते भएका थिए। घाइते सबैको छाउनीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको छ। प्रकाशित : फाल्गुन ७, २०७६ १२:३०

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कला सम्पदाका अन्वेषक

देवेन्द्र भट्टराई

काठमाडौँ — ‘मानौं, उनी क्यानभासमा रङ फ्याँकिरहेका छन्— थ्याप्चो अनुहार, ठीकैको नाक, अनि आँखा पनि त्यही खालको, गहुँगोरो अनुहार, पुड्के खालको नेपाली स्तरको उचाइ, गालामा घाउको दाग आदि चि≈नांकित मंगोली टाइपको पुरुषको सामुन्ने मैले आफूलाई पाएँ ।’

साहित्यिक पत्रकार उत्तम कुँवरको ‘स्रष्टा र साहित्य’ (२०२३) कृतिमा उल्लेख भएको स्रष्टा लैनसिंह वाङदेलको यो परिचयात्मक पोट्रेटलाई धेरैले सम्झने गरेका छन्, त्यो व्याख्यात्मक हुलियालाई मैले पनि अझै उसैगरी सम्झिरहेकी छु । उमेरका आधारमा मभन्दा १५ वर्ष जेठो भए पनि काठमाडौंमा केही समय सँगैजसो काम गर्ने र संगत गर्ने अवसर पाएकाले लैनसिंहलाई म मेरा एक जना प्रेरणा–पात्रका रूपमा लिने गर्छु ।
मेरा फुपाजु नारायणप्रसाद बाँस्कोटाले काठमाडौंमा ‘प्रगति’ साहित्यिक पत्रिका निकाल्नुहुन्थ्यो । पेरिसमा बसेर कला सिक्दै गरेका लैनसिंहका आर्टिकल त्यहाँ छापिन्थे । म पनि बम्बईको जेजे स्कुल अफ आर्ट्समा पेन्टिङ सिकिरहेकी थिएँ । काठमाडौं आएका बेला फुपाजुले ‘यसमा कलाका बारे लैनसिंहले लेखेका आर्टिकल आउँछन्, पढ्ने गर’ भनेर मलाई प्रगति पत्रिका दिनुहुन्थ्यो । म त्यो पढ्थें, निकै ‘इन्स्पिरेसन’ मिल्थ्यो । बम्बईबाट पेरिस जाने मेरो सोच र सपना पनि त्यसैगरी हुर्किएको हो । फाइन आर्ट्स पढिरहेकी मलाई फ्रेन्च भाषा सिक्ने, फ्रान्सको सांस्कृतिक क्रान्ति बुझ्ने अवसर र पेरिसलाई संसारकै कलाको राजधानी किन भनिएको हो भन्ने जानकारी प्रत्यक्ष–परोक्ष रूपमा बम्बईमै मिलिसकेको थियो ।
२०१८ सालपछि काठमाडौं आउँदा उहाँको नाम र काम एक प्रकारले छाइसकेको रहेछ । ‘प्रगति’ मा त्यसबारे पनि चर्चा हुन्थ्यो । लैनसिंहले २५ वर्षे उमेरमै लेखेको ‘मुलुक बाहिर’ र त्यसपछि मैले पढेको ‘लंगडाको साथी’, ‘माइत घर’ जस्ता उपन्यासका कारण उनको कल्पना र सिर्जनाको धेरै पाटोबारे म जानकार बनें । पछि थाहा पाएँ— लैनसिंहकी हजुरआमाले बाल्यकालमा सुनाएको दार्जिलिङे चियाकमानको कथाका भरमा पो ‘मुलुक बाहिर’ लेखिएको रहेछ । लैनसिंहले कलकत्तामा विद्यार्थी भएर बसेकै बेला ‘लंगडाको साथी’, ‘माइत घर’ लेख्नुभएको रहेछ भन्ने थाहा पाउँदा झनै अचम्ममापरेकी थिएँ ।
म १० वर्षकी छँदै भारतको बडौदास्थित गान्धी आश्रममा पढाइको अवसर पाएर पुगेकी थिएँ । त्यसबेला १६ जना नेपाली छात्राहरू आश्रम पुगेका थियौं । आश्रममा बस्दा धेरै व्यावहारिक आदर्शका कुरा र संस्कार सिक्ने मौका पाएकी थिएँ । पछि काठमाडौं फिरेर लैनसिंहलाई भेट्ने अवसर पाएपछि पश्चिमा रहनसहन, आधुनिक चेतका बारे जानकारी पाएँ । वाग्मती पुल (कुपण्डोल) छेवैको डेरामा बस्नुहुन्थ्यो लैनसिंह । कोठामा यसो कतै अलिकति फोहोर देखियो भने सफा गरिहाल्ने, कतै रङ उप्केको देखियो भने रङ लगाइहाल्ने । सधैं सफा, सौम्य देखिने ।
‘तिमीले युरोप पढ्न जाने विचार गरेकी छ्यौ भने तिमीलाई डान्स पनि आउनु अनिवार्य छ नि,’ पहिलो भेट र कुराकानीमै भन्नुभयो । उहाँले फुपाजु नारायणप्रसादका छोरीलाई पनि डान्स सिक्न उत्प्रेरित गरिसक्नुभएको रहेछ । म गान्धी आश्रममा बसेर पढेकी हुनाले क्लासिकल डान्स त सिकेकै थिएँ, नाचगानमा खासै समस्या थिएन ।
अनि मैले भनें—‘जब जरुरी होला, तब थप सिक्नेछु । अहिले किन हतार गर्नु ?’
काठमाडौं आएपछि लैनसिंह आर्ट काउन्सिल खोल्ने ध्याउन्नमा लाग्नुभएको थियो । हुन त त्यो योजनामा अरू कलाकार, राजनीतिक व्यक्ति पनि जुटेका थिए । लैनसिंह भने पैसाको जोहो गर्ने काममा लाग्नुभएको रहेछ । स्वभावतः अलिअलि कलाकारिता भएका आधारमा मैले पनि सहयोग गर्नै पर्‍यो, त्यसमाथि लैनसिंहसँगको संगत थियो । कतैबाट थाहा भयो कि राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले कला–संस्कृति खुबै मन पराउँछन् । अनि लैनसिंह अंकलले ‘आइडिया’ दिनुभयो— लु उर्मिला, तिमी क्रिसमस कार्ड बनाऊ । केशरशमशेरकहाँ लगेर बेच्नुपर्छ, अनि फन्ड जम्मा हुन्छ ।
ल्यान्डस्केप, स्केच, ड्रइङ आदि गरेर मैले सयवटा क्रिसमस कार्ड बनाएँ । मलाई लैनसिंह अंकलले ५० रुपैयाँ गोटा मूल्य लिनू भन्नुभएको थियो । तर केशरशमशेरले गोटाको एक सय रुपैयाँ दिएर सबै कार्ड किनिदिनुभयो । यसरी कार्ड बिक्रीबाट आएको १० हजार रुपैयाँ लगेर मैले लैनसिंहअंकललाई दिएँ । आर्ट काउन्सिल स्थापनाका लागि कोष बनाउने काममा म पनि यसरी जोडिएकी छु ।
एकपटक दार्जिलिङ गएका बेला मैले सन्डे मार्केट घुम्ने मौका पाएकी थिएँ, त्यो स्थानीय हाटबजार जस्तो थियो । पहाडको फेदीमा बसेको मार्केटमा जिरा, धनिया, खोर्सानी र अरू सामान बेच्न आउनेको हूल थियो । त्यो लोभलाग्दो दृश्यलाई मैले स्केचमा उतारें । त्यसलाई पछि पेन्टिङमा उतारेकी थिएँ । मेरो पेन्टिङ हेरेर वाङदेल अंकलले भन्नुभयो— उर्मिला, दिल्लीमा एउटा ठूलो प्रदर्शनी हुँदै छ । म यही पेन्टिङ लैजान्छु, मलाई देऊ ।
दिल्लीमा त्यही पेन्टिङको चर्चा बढी भएछ । लैनसिंह अंकलले पछिसम्म सुनाउनुहुन्थ्यो ।

लैनसिंह वाङदेलका पेन्टिङ, कलाकृति बढीजसो फ्रेन्च कलाकार पाब्लो पिकासो, जर्ज ब्राक आदिको प्रभाव वरपर रहेको मूल्यांकन हुने गरेको छ । उहाँको आख्यान लेखाइमा भेटिने अति यथार्थवादको छनक चित्रकारितामा पनि रहने गरेको छ । तर एउटै व्यक्ति कलाकार–लेखक–अन्वेषक भइरहेको अवस्थामा सबैतिर सहजै बुझ्न र बुझाउन सक्ने सिर्जना पस्कन सक्नु एकदमै ठूलो खुबी हो ।

लैनसिंह जीवित छँदै र अहिलेसम्मै चर्चामा रहेको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) पुस्तकका आधारमा पनि उहाँको अन्वेषण र साधनाको मूल्यांकन गर्न सकिन्छ । कहिलेकाहीं मलाई के लाग्छ भने पेरिसमा गएर त्यत्रो कला जगतमा हलचल गराएको कलाकारले अरू नेपाली कलाकारका लागि पनि त्यस्तै सिकाइ र बुझाइको मार्ग प्रशस्त किन नगरेको होला ? हराएका मूर्ति र ढुंगा खोज्नुभन्दा त नेपाली आर्टिस्टलाई भरथेग पुग्ने काम गरिदिएको भए हुन्थ्यो नि !
यस्तो बेला यही किताबको निचोडमा लैनसिंहले लेखेको सम्झन्छु— ‘जब देवीदेवताका भक्तजन र जनसाधारणलेआफ्ना मठमन्दिरका देवीदेवता यहाँ नरहेको थाहा पाउलान्, तब उनीहरूको मुटुबाट रगत बग्नेछ । यसरी मूर्ति चोरिनु एउटा अक्षम्य अपराध हो । आशा गरौं, कुनै दिन यी मूर्तिहरू सम्बद्ध मठ–मन्दिरमा फिर्ता हुनेछन् ।’
लैनसिंहले चाहेको भए फ्रान्समा २–४ जना नेपाली विद्यार्थीलाई कला पढ्ने, सिक्ने अवसर मिलाउनुहुन्थ्यो होला । तर हाम्रो घरआँगनमा सदियौंदेखि रहँदैआएका र आँखै सामुन्नेबाट चोरिएर विदेशी भूमिमा पुगेका देवीदेवताका मूर्तिको अन्वेषण के एउटा व्यक्ति मात्रैले गर्न सक्ने काम थियो र ? उपत्यकामा रहेका तीन सयवटा महत्त्वपूर्ण कलासामग्री, मूर्ति र मन्दिरको ‘डकुमेन्टेसन’ नभइदिएको भए आज हामीले गर्ने सोधखोज र कला–सम्पदाको इतिहास कहाँ हुन्थ्यो होला ? यसबाहेक, ‘अर्ली स्क्लप्चर्स अफ नेपाल’ (१९८२), ‘ट्वाइन्टी फाइभ इयर्स अफ नेपाली आर्ट (१९८७)’, ‘इन्भेन्ट्री अफ स्टोन स्क्लप्चर्स अफ द काठमाडौं भ्याली’ (१९९५) जस्ता कृतिले गरेको ‘डकुमेन्टेसन’ सायद हाम्रो पुरातत्त्व विभाग, अभिलेखालय वा संस्कृति मन्त्रालयमा पनि नहोला कि ?
जोकोहीले आफ्नो चिनारी, रोजीरोटी वा साधनाका निम्ति रोजेको कुनै एक/दुई कर्म गर्नु स्वाभाविक हो । हामी सबैले यही गरेका छौं । तर सिंगो समाज र राष्ट्रको हित हुने गरी लैनसिंह वाङदेलले जस्तो आफ्नै विधाको अन्वेषणकारी काम गर्न सक्ने साधक कति होलान् ? अस्तिको महिना मात्रै एउटा समाचार पढेकी थिएँ— सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट चोरिएको वासुदेव कमलाजाको मूर्ति यतिखेर अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा लिलामीमा राखिएको छ ।
अनि फेरि लैनसिंह वाङदेलको चर्चा सुरु भयो जसले ‘स्टोलन इमेजेज अफ नेपाल’ मा त्यस मूर्तिको चोरीबारे विस्तृत रिपोर्ट लेख्नुभएको छ । यो मूर्ति नेपालमा र पहिलेकै मन्दिरमा फिर्ता ल्याउन के–कस्तो कदम चालिएको छ, त्यो मलाई थाहा छैन । हामीले हामीसँग भएको कला–सम्पदाको संस्थागत रूपमा राम्ररी ‘डकुमेन्टेसन’ गर्न नसके पनि लैनसिंह जस्ता कला साधकले देखाएको अनुकरणीय सोधखोजको अलिकति छेउटुप्पो त समाउन सक्नुपर्ने हो । हरेक पटक मूर्ति र कला–सम्पदा हराएपछि मात्रै यस्ता साधकको सत्कर्म सम्झने सनातनी कामले मात्रै इतिहासमा के–कति अर्थ राख्ला र ?
(भारत, बडौदास्थित गान्धी आश्रमकी विद्यार्थी उर्मिला उपाध्यायले ललितपुरमा नेपाल सिर्जनात्मक कलागुठी सञ्चालन गर्दै आएकी छन् । नेपालमा प्रिन्ट–मेकिङ र इचिङ प्रारम्भ गर्ने ८२ वर्षीया कलाकार उपाध्यायसँग गरिएको कुराकानीका आधारमा ।)
-उर्मिला उपाध्यायगर्ग’

प्रकाशित : फाल्गुन ७, २०७६ १२:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×