बिप्पेलेकमा पानी !

हरि गौतम

रुकुम पश्‍चिम — सानीभेरी गाउँपालिका–८, बिप्पेलेकका शशिराम ओलीले लामो समय खानेपानी अभावको समस्या भोगे । माथिल्लो आमडाँडाका चन्द्रबहादुर बुढाथोकीले पनि पानी अभावकै कारण पटकपटक बसाइसराइको सोच बनाए । तर, पुर्खाको लगानी र चिनारी जोडिएको थातथलो छोड्न सकेनन् । 

बिप्पेलेकमा पानी !

बिप्पेलेक, माथिल्लो आमडाँडा र खुमसल्ला गाउँभन्दा माथि पानीको मुहान नहुँदा तीन गाउँका स्थानीयले लामो समय खानेपानी समस्या भोगे । स्थानीयलाई जुगेपानी र बाँजापानीबाट पिठ्युँमा पानी बोकेर गुजारा चलाउनुपर्ने बाध्यता थियो । तीन गाउँका ९० घरधुरीमा धारा जडान गरिएपछि स्थानीयले ठूलो सास्तीबाट मुक्ति पाएका हुन् । मिटरसहितका धारा जडान गरिएपछि खानेपानी सुविधा मात्र पुगेको छैन, स्थानीयको दैनिकी सहज बनेको छ । सानीभेरी गाउँपालिकाले गौरवको योजना मानेको उक्त योजनामा स्थानीयले पनि १० लाख रुपैयाँ लगानी गरेका छन् । तीन गाउँका ९० घरधुरीले घरघरबाट संकलन गरेर १० लाख रुपैयाँ लगानी गरेका हुन् । गाउँपालिकाले २०७४ सालदेखि योजना निर्माण थालेको थियो । योजनामा सरकारी निकायले एक करोड ३५ लाख १४ हजार रुपैयाँ बजेट खर्चिएका छन् ।


गत वर्ष विद्युत्‌को सहायताले गाउँभन्दा एक हजार ९ सय ५० मिटर तलको जुगेपानीखोलाको पानीलाई गाउँ उकालिएको थियो । तर, त्यो धेरै दिन टिक्न सकेन ।


विद्युत्को पावर नपुग्दा पानीको समस्या फेरि दोहोरिएको थियो । योजना बनाउँदा पनि पानी नआएपछि निराश भएका बिप्पे लेकवासीको समस्या अब भने सदाका लागि समाधान भएको छ । सोलार प्रणालीमार्फत बिप्पेलेक पुर्‍याइएको पानी डेढ महिनादेखि निरन्तर चलिरहेको छ । ‘अब ढुक्क भएका छौं,’ ओलीले भने, ‘यसअघि केही दिन चलेको पानी बत्ती नपुग्दा ठप्प भएको थियो ।’ उनका अनुसार यसअघि पानीकै कारण महिला र बालबालिकाको धेरै काम प्रभावित बनेका थिए । पानीकै समस्याका कारण बालबालिकाको पढाइ र महिलाका घरायसी काम छुट्ने समस्या सधैंका लागि अन्त्य भएको उनको भनाइ छ ।


विद्युत्ले काम नगर्ने भएपछि सोलार प्रणाली जडान गरेर घरघरमा पानीको सुविधा पुर्‍याइएको बुढाथोकीले जनाए । उनका अनुसार अब आयोजना दिगो हुनेमा स्थानीयबासी ढुक्क छन् । घरघरमै पानी आउन थालेपछि पहिलेका दुःख बिर्सने अवस्था आएको उनले सुनाए । ‘पानीसँगै गाउँमा खुसी भित्रियो,’ उनले भने, ‘हामीले बल्ल विकासको अनुभूति गर्न पायौं ।’


अहिले तीनवटै गाउँमा जडान गरिएका धाराको पानी आवश्यकतामा मात्रै प्रयोग हुन्छ । मिटर जोडिएपछि जथाभाबी पानी खेर जान नदिन सबैले सावधानी अपनाउने गरेको स्थानीय मैसरा ओलीले बताइन् । ‘पानीको बिल पनि आउने भएकाले खानेपानी प्रयोगमा चनाखो भएका छौं,’ उनले भनिन्, ‘घरमै धारा जडान भएर नियमित पानी आउन थालेपछि स्थानीयले पानी बोक्ने समय अरु काममा लगाउन थालेका छौं ।’ उनले दैनिक दुई घण्टा पानी बोक्ने समय अन्य घरायसी काममा लगाइरहेको जानकारी दिइन् । उनका अनुसार पानीको सुविधा भएपछि प्रयोगविहीन शौचालय प्रयोगमा आउन थालेका छन् भने सरसफाइको काम प्रभावकारी बनेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?