२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एमसीसीबारे बुझेर मात्रै अघि बढ्छौं : दाहाल

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — नेकपा अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बुझेर मात्रै बाँकी प्रक्रिया अगाडि बढाइने बताएका छन् । अध्ययन गरेर मात्रै सम्झौता अनुमोदन गर्ने सबैतिरबाट सुझाव आएपछि आफूहरू पनि सोही निष्कर्षमा पुगेको उनको भनाइ छ । 

एमसीसीबारे बुझेर मात्रै अघि बढ्छौं : दाहाल

अमेरिकासँग कूटनीतिक सम्बन्ध सुमधुर रहिरहने गरी राष्ट्रको हितमा एमसीसी सम्झौता परिमार्जन गरिने दाहालले प्रस्ट पारे । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित नेकपाको कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमसीसीबारे केन्द्रीय समितिमा थप छलफल हुने जनाए ।


‘अमेरिकासँग सहयोग नलिने भन्ने हाम्रो नीति हुन सक्दैन,’ उनले भने, ‘दुई तिहाइको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई परिपक्व ढंगले नै लैजानुपर्छ तर हाम्रो राष्ट्रअनुकूल के छ, के छैन भन्नेबारे गहिरो अध्ययन भने गरिन्छ ।’ एमसीसीबारे बुझेर प्रतिवेदन तयार पार्न कार्यदललाई १० दिनको समय दिइएको उनले जनाए । प्रतिवेदन आएपछि अन्तर्राष्ट्रिय सम्बन्धलाई कायमै राखी राष्ट्रको हितमा एमसीसीको विषय टुंग्याइने भनाइ उनले राखे ।


प्रशिक्षणमा उनले जनतासँग घनिष्ट सम्बन्ध स्थापना गर्दै एकताबद्ध हुन कार्यकर्तालाई सुझाव दिए । ‘गुट–उपगुट बनाएर बसे सरकार जनमुखी हुन सक्दैन,’ उनले भने, ‘हाम्रो पार्टीको सरकार भएकाले हामी पनि ऐक्यबद्ध भएर जनअपेक्षाबमोजिम काम गर्नतर्फ लाग्न जरुरी छ ।’ सीमा विवादबारे बोल्दै उनले पार्टी मात्र नभई देश नै ऐक्यबद्ध हुनैपर्ने र भएको उल्लेख गरे । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा अब विवाद छैन,’ उनले भने, ‘अब नेपालले पनि आफ्नै नक्सा प्रकाशित गर्छ । अन्य स्थानमा पनि सीमा विवाद रहनेछैन ।’


नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका कमजोरी औंल्याएर जनअपेक्षाबमोजिम काम गर्न कार्यकर्तालाई सुझाव दिए । नेकपा महासचिव विष्णु पौडेलले कार्यकर्तालाई कमजोरी सच्याएर अघि बढ्न आग्रह गरे ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?