१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

१०० रुपैयाँमै पढाइ 

राजबहादुर शाही

मुगु — जिल्लामा पहिलोपल्ट एक सय रुपैयाँ शुल्कमा निजी विद्यालय सञ्चालन भएपछि अभिभावकको आकर्षण बढेको छ । समता विद्यालयले दुई वर्षदेखि बालबालिकालाई मासिक एक सय रुपैयाँमै पठनपाठन गराइरहेको हो । 

संस्थागत विद्यालयमा यसअघि महँगो शुल्क तिरेर बालबालिकालाई पठनपाठन गराइरहेका अभिभावक न्यून शुल्कमा गुणस्तरीय पठनपाठन हुन थालेपछि आकर्षित भएका हुन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएपछि विपन्न परिवारका बालबालिकालाई संस्थागत विद्यालयमा पढाउनुपर्ने बाध्यता थियो । एक सय रुपैयाँमा पढाइ हुने थालेपछि विपन्न परिवारका अभिभावकले महँगो शुल्कबाट छुटकारा पाएको छायानाथरारा नगरपालिकास्थित च्याकाटीका हस्त नेपालीले बताए । ‘अधिकांश सरकारी विद्यालयमा पठपाठन गुणस्तरीय छैन, केही अभिभाबक ऋण लिएरै भए पनि बालबालिकालाई बोर्डिङमा पढाउन बाध्य थियौं,’ उनले भने, ‘दुर्गममा सस्तो शुल्कमा संस्थागत विद्यालय खुलेपछि धेरै अभिभावकलाई राहत भएको छ ।’


स्थापनाको दुई वर्षमै विद्यार्थीको चाप बढ्दै गएको विद्यालयले जनाएको छ । अन्य निजी विद्यालयमा छोराछोरी अध्ययन गराइरहेका अभिभावकले बालबालिकालाई समतामा भर्ना गर्न थालेको प्रधानाध्यापक सोबिना रावलले बताइन् । उनका अनुसार छायानाथरारा नगरपालिका, सोरु र मुगमकार्मारोङ गाउँपालिकाका अधिकांश अभिभावकको रोजाइ समता स्कुल बनेको छ । बालविकासदेखि कक्षा १ सम्म पठनपाठन भइरहेको विद्यालयमा विद्यार्थीको चाप क्रमशः बढिरहेको उनले जानकारी दिइन् । गत शैक्षिक सत्रमा विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत थिए । ‘भर्ना सुरु नहुँदै धेरै अभिभावकले बालबालिकालाई यही पढाउने रहर गर्नुभएको छ,’ उनले भनिन्, ‘वर्सेनि एक/एक कक्षा बढाएर विद्यालयलाई कलेज बनाउने हाम्रो लक्ष्य छ ।’


विद्यालयमा १० शिक्षक कार्यरत छन् । स्कुलको आफ्नै भवन नहुँदा पठनपाठनमा केही समस्या रहेको व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर रावलले गुनासो गरे । विद्यालयले गमगढी बजारमा घर भाडामा लिइ पठनपाठन सञ्चालन गरिरहेको छ । घरभाडा, फर्निचर, शैक्षिक सामग्री र शिक्षकको तलब व्यवस्थापन एक सय रुपैयाँ शुल्कबाटै गरिरहेको उनले बताए । ‘कक्षा थप गरी ५ सम्मको स्वीकृति प्रदान गर्न नगरपालिकामा निवेदन पेश गरेका छौं,’ उनले भने, ‘स्वीकृति आएपछि विद्यार्थी व्यवस्थापनमा केही सहज होला ।’

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?