पाठ्यपुस्तकबिनै शैक्षिक सत्र सुरु

हिमपात र अत्यधिक जाडोका कारण डोल्पालगायत हिमाली जिल्लामा फागुन १ गतेबाट शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक नपाउँदा भर्ना भएका विद्यार्थी रित्तो हात घर फर्कन बाध्य
हरि गौतम

रुकुम पश्‍चिम — डोल्पाका ८ वटै स्थानीय तहका सामुदायिक विद्यालयमा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी भर्ना हुने क्रम जारी छ । तर, विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउन सकेका छैनन् । 

पाठ्यपुस्तकबिनै शैक्षिक सत्र सुरु

हिमाली जिल्लामा जाडोका कारण हरेक वर्ष फागुनमा शैक्षिक सत्र सुरु भएर मंसिरअगावै सकिन्छ । जाडो महिनामा भारी हिमपात हुने र अधिकांश बासिन्दा अन्यत्र बसाइ सर्ने गरेकाले झण्डै ३ महिना विद्यालय बन्द रहन्छन् । एक साताभित्रै भर्ना अभियान सकेर पठनपाठन सुरु गर्ने तयारी भइरहेको ठूलीभेरी नगरपालिका–६, काँडातालीस्थित देवी आधारभूत विद्यालयका शिक्षक तेजेन्द्र खत्रीले बताए । पाठ्यपुस्तकको अत्तोपत्तो नहुँदा अधिकांश विद्यार्थी भर्नाका लागि नआएको उनको गुनासो छ । ‘विद्यार्थी आउँदै भर्ना हुँदै फर्कने गरेका छन्,’ उनले भने, ‘अबको केही दिनसम्म भर्ना अभियान सञ्चालन गर्ने र त्यसपछि पढाइ सुरु गर्ने योजना थियो, पाठ्यपुस्तक नआएपछि केही ढिला हुने देखिएको छ ।’


डोल्पामा न्यानो मौसम सुरु भएपछि शैक्षिक सत्र सुरु गर्ने र जाडो समापन गर्ने गरिन्छ । पाठ्यपुस्तक ल्याउने जिम्मा पाएका व्यसायीलाई ताकेता गरिरहेको भए पनि बेवास्ता भइरहेको स्थानीय शिक्षक लक्ष्यबहादुर सुनारले बताए । ‘भर्ना भएकै दिन पाठ्यपुस्तक दिन पाएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘पुराना भए पनि आफन्त र साथीसँग मागेर केही समय काम चलाउनु भनेर विद्यार्थीलाई भनेका छौं ।’ उनले माथिल्लो डोल्पाका ३ स्थानीय तहमा भने अत्यधिक हिउँ परेकाले भर्ना अभियान प्रभावित भएको जानकारी दिए ।


ठूलीभेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डीलप्रसाद रोकायले सबै सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु भइसकेको बताए । व्यवसायीको बेवास्ताका कारण पाठ्यपुस्तकबिनै भर्ना अभियान चलिरहेको उनको भनाइ छ । ‘हामीले जिम्मा लिएका पुस्तक विक्रेतालाई भर्ना अभियान सकिँदासम्म पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था मिलाउन ताकेता गरिरहेका छौं,’ उनले भने, ‘अधिकांश व्यवसायीले पुस्तक ढुवानी सुरु भइसकेको जानकारी दिएका छन् ।’ संघीय सरकारले नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने भएकाले हिमाली जिल्लामा पुस्तक व्यवस्थापनको समस्या लामो समयदेखि रहेको उनले गुनासो गरे । उनका अनुसार सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्ने काम पनि वैशाखलाई लक्षित गरि हुँदा समस्या भएको हो ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?